Logo
Logo

अन्तर्वार्ताले कोट्याइदिएको स्मृति


2.1k
Shares

चीनमा बसेको चार वर्ष पूरा हुँदैगर्दा लेखनकर्मको फल पनि विस्तारै प्राप्त हुनथाल्यो । एकदिन चीनको ‘मोडर्न फेमिली’ नामको पत्रिकाका एक पत्रकारले सम्पर्क राखेर मसँग अन्तर्वार्ता लिन आइपुगे ।

भर्खरै जस्तो ‘वैल हाइ–च्च्’ (बच्चाका निम्ति) भन्ने पत्रिकामा बच्चाहरुकै निम्ति एउटा लेख चिनियाँ भाषामा प्रकाशित भएको थियो । त्यो पत्रिका मेरो लेख पनि बोकेर बच्चाका स्कुलहरुमा पुगेको थियो । त्यसैले पनि ती पत्रकारको आँखामा परेछु क्यारे । मसँग विशेष कुराकानी गर्न भनी आएका ती लेखकको नाम त अहिले बिर्सि पनि सकेँ । यो सन् १९९० जुन तिरको कुरा हो ।

“जीवनमा घटेका अनगिन्ती घटनाहरुमा तपाईँलाई सबभन्दा प्रभाव पारेको घटना के हो ? भन्ने प्रश्नले मलाई फेरि एकपल्ट किशोरावस्थामा पु¥याएको थियो । आफ्नो पन्ध्रदेखि एक्काइस वर्षको त्यो उत्तरकिशोरावस्थामा पुगेँ ।

महाकविका ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ बाट प्रभावित भएर असलकर्ममा जीवन समर्पण गर्न सकुँ भन्ने भावनाले झक्झक्याएको समय थियो त्यो । स्कुलको पढाई सकिनासाथ नै उबेला ज्यादै पिछडिएको बस्तीका ‘दलित’ सफाइ मजदुरहरुको बस्तीमा गएर चार वर्ष काम गरेको समयको स्मृति फेरि बिउँझियो ।

जीवनमा धेरै काम गरेँ, तर त्यो अवधिमा त्यो ठाउँमा पढाउँदाको समयलाई बिर्सन सकिने कुरा भएन । त्यही कुरा सुनाएकी थिएँ । पत्रकारले अचम्म मान्दै सुनेका थिए । अझै पनि ‘अछूत’को अवधारणा समाजमा रहेको कुरा उनले पत्याउन मात्रै होइन, बुझ्न पनि सकेका थिएनन् । चीनमा त त्यति बेलासम्ममा मानिस–मानिसबीचको बीचका धेरै किसिमका भेदभाव मेटिइसकेको थियो ।

देशमा विद्यमान आर्थिक, सामाजिक, लैङ्गिक, अनेक थरिका असमानताहरुलाई निर्मूल पार्ने सपना देख्नु भनेको एकजना सानी फुच्ची केटीको निम्ति उमेर, अनुभव, योग्यता हरेक किसिमले ठूलो सपना थियो । जहाँजहाँ अँध्यारो छ, शिक्षाको उज्यालो पु¥याउँछु भन्ने सोचले निर्देशित भएर आफैँले खोज्दै पुगेको ठाउँ थियो त्यो दलित बस्ती ।

अब त समयको दूरी पनि धेरै लामो भइसकेको छ । त्यो उमेरको जोश–जाँगरबाट पनि निकै टाढिएको महसुस हुन्छ अहिले त । र पनि यसरी लेख्न थाल्दा भने सम्झना फेरि ताजै बनेर आउँछ । पुराना डायरीका टिपोटहरुले पनि सहयोग गर्छन् मलाई । त्यो बेलाको जोश, उत्साह र शक्तिले मलाई असम्भव ठानिएका ठाउँहरुमा पनि डो¥याएर लगेका थिए ।

अनेक चुनौतीहरुसँग सामना गर्न सिकाएका थिए । पछि लाग्नलाई निम्ति न कुनै उदाहरण थियो, न पालना गर्न कुनै दिशानिर्देश । आफ्नै स्वविवेकले त्यस्तो दुःख भोगिरहेको ठाउँहरुसम्म पु¥याएको थियो । अप्रत्यक्ष रुपमा केही असल व्यक्तिहरुको साथ भने पाएकी थिएँ । तर मैदानमा त एक्लो योद्धा नै थिएँ त्यो बेला ।

उदेश्य सही भए, कोसिसमा इमान्दारी भए, जस्तै कठिन काम पनि सम्भव हुँदो रहेछ । अहिले त्यहाँ धेरै ठुलो परिवर्तन आइसकेको छ । त्यो बेलाका मेरा विद्यार्थी अहिले चेतनका दीप बनेका छन् । कतिले उच्च शिक्षा लिएर ‘चन्द्र छुने’ सपना देखिसकेका छन् ।

राजनीतिक हैसियत पनि राम्रै बनाइसकेका छन् । यो त अहिलेको कुरा भयो । चीनका ती पत्रकारलाई अन्तर्वार्ता दिइरहेको बेला भने म आशावादी मात्र थिएँ । कति पुरान विद्यार्थीलाई त्यहीँ पनि म सम्झिरहन्थेँ । सपनामा पनि देख्थेँ– उनीहरु चुलीमा पुगेको ।

त्यो बस्तीमा मैले बिताएका चार वर्षको समयमा म युनिभर्सिटीसम्म पुग्न सक्थेँ । तर आफूले औपचारिक पढाई छोडेर त्यहाँ पढाएको परिणाम आशा गरे जत्तिकै नभए पनि केही त अवश्य भयो ।

मैले आफ्नो नोटबुकमा लेखेकी रहेछु– “बेलाबेलामा उनीहरु पनि मेरो सम्झना गर्दा होलान् । पछि पनि गर्लान् ।” कामको ‘ज्याला’ खोजेको होइन, भावनामा बगेको बेला त्यहाँको त्यो अवस्था सम्झेको बेला स्वस्फूर्त रूपमा मनमा आउने कुरा हो । घरमा आमालाई समेत थाहा नदिई त्यो ठाउँमा काम गरेको कुरा सम्झँदा लेखेको कुरा हो ।

अब त समयले धेरै फड्को मारिसकेको छ । त्यो किशोरावस्था, राजनीतिक सामाजिक आन्दोलनमा खटिँदाको युवावस्था, चीनमा रहँदाको पूर्वप्रौढावस्था हुँदै अहिले जीवनको उत्तराद्र्धमा पुग्दा पहिले असम्भव लाग्ने धेरै कुराहरु सम्भव भएको देख्न पाएकी छु । थरिथरिका मान्छेका स्वभाव र तिनका अनेक आयामलाई पनि देख्न पाएँ । मान्छेको संस्कार फेरिन धेरै समय लाग्ने रहेछ । अझै पनि ‘दलित’ भनिएकै कारण अनावश्यक दुःख पीडा झेल्नुपरेको कुरा सुनिन्छ । लैङ्गिक हिंसाका घटना सुनिन्छ । सामाजिक न्याय अझै स्थापित नसकेकोमा मनमा दुःख लाग्नु मात्र होइन, रिस पनि उठ्छ । अझ नमज्जा लाग्ने त आफूसँगै समाजको रूपान्तरणका निम्ति हिँडेका राजनीतिककर्मीहरु संकीर्ण स्वार्थको दलदलमा भास्सिएको देख्दा हो ।

सबै कुरा परिवर्तनशील छन् । हामी त्यो बेला बसेको भोगेको चीन र अहिलेको चीनमा पनि आकाश जमिन फरक भइसकेको छ । विकासको गतिले चीनलाई कहाँबाट कहाँ पु¥याइसकेको छ । हाम्रै देश पनि जहाँको त्यहीँ छ भन्न त मिल्दैन । तर गति भने साह्रै धिमा भएको देख्दा छटपटी हुन्छ ।

लोकतान्त्रिक अभ्यास हुँदै नभएको त होइन– अभिव्यक्ति स्वतन्त्रता भनेको पाएका बेला मतलब नहुने तर नपाएका बेला भने बल्ल त्यो अभाव थाहा हुने कुरा हो । बोल्ने, लेख्ने स्वतन्त्रता पाउनुमात्रै पनि चानचुने कुरा होइन । यसको निम्ति धेरै शहीदहरुको रगत बगेको छ । तर सामाजिक न्यायसहितको समृद्धि पनि छैन भने लोकतन्त्र अमूर्त हुनेरहेछ ।

चीनमा पुग्नु नै पनि मेरो निम्ति आफ्नो संसार केही फराकिलो हुनुसरह थियो । मेरो लेखनले पखेटा फिँजाउन पायो । त्यसले आफ्नो संसार अझै फराकिलो बनाइदियो । यो संस्मरण लेखिरहँदा त्यो बेला देखेको चीनलाई नै सम्झेर लेखिरहेकी छु । त्यो बेला मेरो भावनाका पत्रहरु उप्काइदिने युवा पत्रकार पनि अब त बुढा भइसके होलान् मजस्तै ।

अहिले भेटेको भए के सोध्थे होलान् ? म कस्तो जवाफ दिन्थेँ हुँला ? आफँैतिर फर्केर हेर्दा जीवनलाई राम्रो उद्देश्यको निम्ति समर्पित गरेको कुरा सम्झिन्छ । देश, जनता, समाज भनेर सकेजति गरेकै जस्तो पनि लाग्छ । अरुले के भन्छन्, के देख्छन् भन्ने कुरा पनि अब उमेरसँगै गौण बन्दै जाँदोरहेछ । सोध्ने त आफैँसँग हो । गरेका कामहरुले जीवनमा सन्तोष नै दिँदोरहेछ । कुनै ग्लानी छैन । यो ठेगान नभएको जीवन त अझै केही बाँकी नै होला । यो अमूल्य जीवनको उमेर, स्वास्थ्य, समय, परिस्थितिअनुसार अझै केही गर्न सकियोस् !

प्रतिक्रिया दिनुहोस्