काठमाडौं । सर्वोच्च अदालतले सांसद अमरेशकुमार सिंहले एनसेलको सेयर बिक्रीविरुद्ध दायर गरेको रिट खारेज गरिदिएको छ।
बिहीबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले सिंहको रिट खारेजको फैसला गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले रिट खारेज भएको बताउँदै निर्देशनात्मक आदेश जारी भएको बताए ।
उनका अनुसार एनसेललाई पारदर्शी र विधिसम्मत तरिकाले सेवा सञ्चालन गर्न सर्वोच्चले भनेको छ । त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि प्रभावकारी नियमन गर्नू गराउनू भनी निर्देशनात्मक आदेश भएको छ ।
सांसद सिंहले गत वर्ष मंसिर २२ गते एनसेलको ८० प्रतिशत सेयर बिक्री रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा सेयर खरिद–बिक्री भएको उनले रिटमा दाबी गरेका थिए । साथै उक्त कारोबारलाई मान्यता नदिन उनले सर्वोच्चसँग माग गरेका थिए ।
पटक पटक हेर्न नभ्याइने सूचीमा परेको रिटमा गत वर्ष पुस ९ मा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाउ आदेश जारी गरी अन्तरिम आदेशका लागि छलफलमा बोलाएको थियो ।
त्यसपछि गत भदौ २८ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले पूर्ण सुनुवाइका लागि पेस गर्ने अग्राधिकार दिएको थियो। गत असोज १३ मा तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासले मिसिल झिकाउने आदेश गरेको थियो ।
त्यसपछि आज रिट खारेजको फैसला भएको हो।