वीरगन्ज । आम जनता पार्टी (आजपा)ले वीरगन्जलाई देशको आर्थिक राजधानी घोषणा गर्न सरकारसँग माग गरेको छ । वीरगन्जलाई देशको आर्थिक राजधानी घोषणाका लागि आजपाले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
आजपाले वीरगन्जलाई देशको आर्थिक राजधानी घोषणाका लागि २७ पुसमा वीरगन्जमा प्रदर्शन एवं विशालसभा गर्ने निर्णय गरेको छ । आजपा पर्सा जिल्ला कमिटीको पदाधिकारी बैठकले वीरगन्जमा प्रदर्शनका साथै सभा गर्ने निर्णय गरेको हो ।
आजपाका वरिष्ठ उपाध्यक्ष एवं मधेस प्रदेशका इन्चार्ज उपेन्द्र साहको विशेष सहभागितामा बसेको पदाधिकारी बैठकले वीरगन्जलाई आर्थिक राजधानी घोषणा गराउँनका लागि दबाब मूलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।
‘वीरगन्ज मुलुकको आर्थिक राजधानी हो । यहाँ सबैभन्दा बढी राजस्व उठ्छ । उद्योग, व्यापार, यही बारा, पर्सा क्षेत्रमा रहेको छ । तर सरकारले आर्थिक राजधानी घोषणा गर्न चाहेको छैन,’ आजपा वरिष्ठ उपाध्यक्ष साहले भने, ‘हामीले वीरगन्जलाई देशकै आर्थिक राजधानी घोषणा गरेर सोही अनुसार सरकारले यहाँ लगानी गर्नुपर्ने जोडदार माग गर्दछौँ । विकास निर्माणदेखी यहाँका हरेक क्षेत्रको विकासमा राज्यले लगानी गर्नुपर्छ । यहाँको औद्योगिक क्षेत्र घोषणा गरी सोही अनुसार सरकारले यहाँ लगानी गर्नुपर्छ ।’
सरकारले मनोमानी कर आतङ्क मच्चाउँदा यहाँको उद्योग, व्यापार धराशायी बन्दै गइरहेको बताउँदै उनले मनोमानी कर आतङ्क बन्द गर्नुपर्ने, उद्योगी व्यापारीलाई विशेष सेवा र सुविधा दिनुपर्ने, यस क्षेत्रका विभिन्न समस्या समाधान गर्नुपर्ने लगायतका माग उनले गरेका छन् ।
यसअघि आजपाले २० पुसमा प्रदर्शन गर्ने निर्णय गरेको थियो । तर विशेष करणले २० पुसमा गर्ने कार्यक्रम २७ पुसमा गर्न लागिएको आजपाले जनाएको छ । यस्तै आजपाको दोश्रो स्थापना दिवसको अवसरमा दलाल दलतन्त्रको विरुद्ध तेस्रो जनआन्दोलनको सङ्कल्प सहित पौष १४ गते भव्यताका साथ प्रज्वलन गर्ने निर्णय समेत बैठकले गरेको छ ।
हालै आजपाको जिल्ला कमिटी पुनर्गठन गरिएको छ । विश्वराज पटेलको अध्यक्षतामा पुनर्गठन गरिएको कमिटीको उपाध्यक्षमा वसिष्ठ कुशवाहा, राजकुमार साह, ईद्रिस हुसैन, सन्ध्या पासवान सचिवमा अम्बिका चौहान, सहसचिवमा ईस्तखार महम्द, शिवनाथ रौनियार र कोषाध्यक्षमा चनरमा देवी रहेका छन् ।