Logo
Logo

तुहियो विप्लव-प्रचण्ड एकता


शरद् रिजाल

11.8k
Shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको सन्निकट पुगेको एकता प्रक्रिया एकाएक टरेको छ । भर्खरै सम्पन्न विप्लवको केन्द्रीय समितिको बैठकले माओवादी केन्द्र एकताका लागि उदासिन देखिएको बताउँदै तत्काल एकता नगर्ने निर्णय गरेको छ ।

यद्यपि माओवादीले भने विप्लव लगायत अन्य पूर्वमाओवादी घटकसँग एकताका लागि यही पुस २१ गते बस्ने केन्द्रीय समिति बैठकले औपचारिक निर्णय गर्ने बताएको छ । विप्लवसँग एकता र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीमा भित्र्याएर आफू थप नेतृत्वमा सुरक्षित हुने प्रचण्डको रणनीतिले माओवादीको आन्तरिक राजनीति केही समय यता निकै पेचिलो बन्दै आएको छ ।

तर, एकता प्रक्रियामा लामो समयदेखिको विलम्ब र माओवादी पार्टीभित्रको अन्तर्द्वन्द्वले विप्लव बिच्किएका छन् । उनी एकताका लागि हतारिए पनि प्रचण्डलाई पार्टीभित्र दुई उपमहासचिवको किचलोले व्याप्त संकट बुझेपछि विप्लव बाहिरिएको माओवादी स्रोत बताउँछ ।

माओवादी शान्ति प्रक्रियामा आएको केही समय पछि टाढिएका विप्लव करिब १२ वर्षपछि प्रचण्डको पार्टीमा फर्कन आतुर थिए । तर प्रचण्डको आफ्नै पार्टीभित्रको किचलोले विप्लवको पुनरागमन तत्काल रोकिएको छ ।

माओवादी केन्द्रमा प्रचण्ड पछिका दुई प्रतिस्पर्धी उपमहासचिव जनार्दन शर्मा र वर्षमान पुनको आन्तरिक टकराब र उनीहरूको अरुचिले तत्काल एकता प्रक्रिया टरेको बताइन्छ । यसअघि पनि पार्टीमा यी दुई नेताले महासचिवमा दाबी गरेपछि प्रचण्डले तेस्रो व्यक्ति देव गुरुङलाई महासचिव बनाएका थिए । पछिल्लो समय उपमहासचिव शर्माले त झन् पार्टीमा ३६ वर्षे प्रचण्डको नेतृत्वमाथि प्रश्न उठाउँदै नेतृत्व परिवर्तनका लागि तीन विकल्प समेत प्रस्तुत गर्दै चुनौती दिएका छन् ।
शर्माको चुनौतीले तर्सिएका प्रचण्ड त्यसयता यी दुईको सम्बन्धमा समेत कटुता उत्पन्न भएको छ । यही पेरिफेरिमा प्रचण्डले विप्लव भित्र्याउने जमर्को गरेका थिए । उनले विप्लवलाई माओवादीमा भित्र्याएर पार्टीको महासचिव बनाउनेसम्मको तयारीमा जुटेपछि उपमहासचिवद्वय तर्सिएका हुन् ।

माओवादीको यी दुई नेताको टकराब र बादेदारीले अत्तालिएका प्रचण्डले विप्लवलाई अघि बढाएर आफ्ना संकट टार्न चाहेका थिए । प्रचण्डको यो रणनीति बुझेका उपमहासचिवद्वय उनको खिलापमा एकै ठाउँमा उभिएपछि विप्लव भित्र्याएर दुबैलाई तह लगाउने प्रचण्डको योजना तुहिएको छ ।

विप्लवलाई ल्याएर जनार्दनको चुनौती रोक्ने र पूर्वउपराष्ट्रपति पुन भित्र्याएर वर्षमानलाई साइजमा राख्ने प्रयत्न गरेका थिए । आफ्ना विरोधीलाई एक अर्काविरुद्ध भिडाएर आफू शक्तिमा रहने उनको विगतदेखिकै रणनीति हो । तर, प्रचण्डको यही दाउ बुझेपछि दुई उपमहासचिव एक भएर त्यसलाई रोक्न सफल भएका छन् ।

विप्लव पार्टीमा आएपछि प्रचण्डले उनैलाई महत्त्व दिने र आफूहरू उपेक्षामा परी नेतृत्वबाट विमुख हुने भयले दुई उपमहासचिव उनको आगमनमा अनुदार बनेर एकै ठाउँ उभिएका थिए । माओवादीका उपमहासचिव पुन र र शर्मा पार्टीको आगामी नेतृत्वका आकांक्षी हुन् । पार्टीभित्र पनि तीव्र प्रतिस्पर्धी रहेका यी नेताद्वयको व्यवस्थापन गर्न प्रचण्डलाई निकै सकस उत्पन्न भएको छ ।

एकअर्काका विरुद्ध उपयोग गर्दै आएका प्रचण्डले यी दुबैलाई ठेगान लगाउन केही समयदेखि विप्लवको प्रशंसामा समय खर्चिन थालेका थिए । उनले आफूलाई पछिल्लो समय संकटमा परेको बेलामा आफ्नै पार्टीका नेताहरूले बेवास्ता गरेको बताउँदै बरु विप्लवले प्रतिरक्षा गरेको सार्वजनिक रूपमा बताउँदै आएका छन् ।

विप्लवलक्षित प्रशंसाजन्य अभिव्यक्ति दिँदै प्रचण्डले आफू र विप्लवबिच विगतको कटुता मत्थर पार्दै फेरि सहकार्यको वातावरण बनाउन निकै पहल गरिरहेका थिए । उनले केही समय अघि विप्लवसँग भेट गरी पार्टीको आन्तरिक समस्या र त्यसको समाधान गर्न नेतृत्वमा अघि सार्ने आश्वासन दिएको सुइँको यी दुई उपमहासचिवले पाएपछि एकता टरेको माओवादी स्रोतले बतायो ।

प्रचण्डको विप्लव भित्र्याएर आफूहरूलाई ठेगान लगाउने रणनीतिले सशङ्कित बनेका यी नेताद्वय उनको आगमन रोक्ने हरसम्भव प्रयत्न जारी राखेका थिए । माओवादी विभाजनको श्रृंखला चल्दै गर्दा सधैं साथ दिँदै आएका नेताद्वय पुन र शर्माले आफूहरूलाई भन्दा पार्टी विभाजनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका विप्लवलाई प्राथमिकता दिएको भन्दै प्रचण्डसँग असन्तुष्टि पोखेका थिए ।

विप्लवको आगमनमा उनीहरू दुवै रुष्ट भएर एकता प्रक्रिया टार्न उद्यत बनेपछि बाध्य भएर विप्लव आफैँ एकता नगर्ने निर्णयमा पुगेका छन् । पार्टीका हरेक प्रतिकूल अवस्थामा साथ दिँदै आएका नेताद्वय पुन र शर्माले पार्टी परित्याग गरेर कमजोर बनाएका विप्लवलाई अध्यक्ष प्रचण्डले प्रश्रय दिन नहुने पक्षमा रहेका थिए । उनीहरूले अध्यक्ष प्रचण्डको विप्लवलाई भित्र्याउन लचक बनेपछि विगतमा विप्लवले प्रचण्डविरुद्ध गरेको क्रियाकलापको स्मरण गराउँदै कटुतालाई पुनर्जीवित तुल्याउन खोजेर एकता भाँडेको माओवादी नेताहरू बताउँछन् ।

विगतमा आफूविरुद्ध हिंसात्मक आक्रमण गर्न तम्सिएका विप्लवलाई प्रचण्डले पार्टीमा मुख्य भूमिका महासचिव बनाउन खोजेको चाल पाएपछि पुन र शर्माको मोर्चाबन्दी भएको माओवादी स्रोत बताउँछ ।

उनीहरूले विप्लवलाई पार्टीमा ल्याएर महासचिव बनाउने प्रचण्डको मनशाय बुझेरै बरु एकीकृत समाजवादीका माधवकुमार नेपालसँग एकता गर्न प्रचण्डलाई सझाउँदै विप्लवको आगमन कुनै हालतमा रोक्नुपर्ने अडानमा रहेका थिए ।

विगतमा प्रचण्डविरुद्ध गरिएको क्रियाकलाप्रति विप्लवले आत्मालोचना गर्दै माफी माग्नुपर्ने अडानमा नेताद्वय पुन र शर्मा रहेपछि विप्लव तर्सिए । त्यसपछि विप्लव आफैँ एकता प्रक्रियाबाट बाहिरिए पनि पूर्वउपराष्ट्रपति पुन भने माओवादीको सक्रिय राजनीतिमा फर्कन आतुर छन् । उनले पार्टीका पदाधिकारी बैठकमा आमन्त्रित सदस्यको रूपमा समेत सहभागिता जनाइसकेका छन् ।

प्रचण्डले विप्लवलाई ल्याएर जनार्दनको चुनौती रोक्ने र पूर्वउपराष्ट्रपति पुन भित्र्याएर वर्षमानलाई साइजमा राख्ने प्रयत्न गरेका थिए । आफ्ना विरोधीलाई एक अर्काविरुद्ध भिडाएर आफू शक्तिमा रहने उनको विगतदेखिकै रणनीति हो । तर, प्रचण्डको यही दाउ बुझेपछि दुई उपमहासचिव एक भएर त्यसलाई रोक्न सफल भएका छन् । पूर्वउपराष्ट्रपति पुन भने सक्रिय राजनीतिमा फर्किने निश्चित भइसकेको छ । उनको बारेमा आगामी केन्द्रीय समितिको बैठकले औपचारिक निर्णय गर्ने बताइएको छ ।

प्रचण्डले पार्टीमा आफूलाई चुनौती दिने सम्भावित पात्रको विरुद्धमा जहिल्यै पनि अन्यलाई विकल्पको रूपमा खडा गरी संकट टार्दै आइरहेका छन् । पार्टी विभाजित हुनुपूर्व पनि उनले पार्टीमा आवश्यकता अनुसार दुई फरक विचार समूहका रूपमा रहेका मोहन वैद्य र बाबुराम भट्टराईलाई एक अर्काको विरुद्धमा प्रयोग गर्दै आफू सुरक्षित रहँदै आएका थिए ।

अहिले फेरि पार्टीमा अलग विचार समूह नभए पनि पार्टीभित्र विभिन्न स्वार्थप्रेरित गुटउपगुटहरु सक्रिय नै छन् । तिनै गुटको व्यवस्थापन गर्न प्रचण्डलाई पहिलेभन्दा निकै कठिन र चुनौतीपूर्ण रहेको छ ।
यिनै आन्तरिक गुटको व्यवस्थापन गर्न प्रचण्ड असमर्थ हुँदा एकताका लागि हतारिएर पूर्वमाओवादीकै एक घटक बाबुराम भट्टराईको दलबाट विभाजित भएको महिन्द्रराय यादव समूहसँगको एकता पनि अलपत्र परेको छ ।

प्रचण्डले विभाजित माओवादी घटकलाई एकताको आह्वान गरे पनि आफ्नै पार्टीभित्रको आन्तरिक समस्या व्यवस्थापन गर्न नसक्दा एकता प्रक्रियाले मूर्तरुप लिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्