Logo
Logo

आचरसंहिता उल्लङ्घन गर्ने दुई अनलाइन कालोसूचीमा


1.4k
Shares

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै थप दुई सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको छ ।

पत्रकारिताको आवरणमा गलत काम गर्दै आएको, धम्क्याएको, सञ्चारमाध्यमको आधारभूत चरित्र र धर्म समेत पालना नगरेको उल्लेख गर्दै कालोसूचीमा राखी थप कारवाही गर्ने निर्णय काउन्सिलले गरेको हो । यसरी कालोसूचीमा थपिएको दुई अनलाइन सञ्चारमाध्यममा दियोपोष्ट डट कम र हेर्दाहेर्दै डट कम रहेको काउन्सिसलले वेवसाइटमार्फत सार्वजनिक गरेको छ ।

दियोपोष्टले हुँदै नभएको विषय लेखि व्यक्तिको चरित्र हत्या गरेको, समाचारका नाममा धम्कीपूर्ण व्यवहार गरेको, बार्गेनिङ गरेको भन्दै काउन्सिलले विशेष अनुगमनमा राखेको थियो । उक्त अनलाइनविरुद्ध पछिल्ला चार महिना यता आठ वटा लिखित उजुरी परेको र त्यसमाथि काउन्सिलले पटक पटक आचारसंहिता अनुकुल काम गर्न निर्देशन दिएको थियो । त्यसलाई अटेर गरेपछि कालोसूचीमा राखेर थप कारवाही गर्ने निर्णय भएको थियो ।

साथै हेर्दाहेर्दै डट कमले स्थानीय तहको चुनावको मौन अवधिका बेला भ्रमपूर्ण समाचारलाई ब्यानर बनाएको र हटाउनका लागि पटक–पटक निर्देशन दिँदा पनि अटेर गरेको थियो । दसैँ यता मात्र काउन्सिलले यी दुईसहित विभिन्न नौ सञ्चारमाध्यमलाई आचारसंहिता उल्लंघन भएकोे ठहर गर्दै कालोसूचीमा राखेको हो ।

आगामी दिनमा गल्ती नदोहोर्याउने, आचारसंहिताको पालना गर्ने भन्दै लिखित निवेदन परेपछि तीमध्ये एक सञ्चारमाध्यमको कारवाही फुकुवा समेत भएको काउन्सिलले जनाएको छ । आचारसंहिताको पूर्ण पालना गराई स्वस्थ, मर्यादित र विश्वसनीय पत्रकारिता विकास गर्न यसअघि सर्वोच्च अदालत, उच्च अदालतसहितबाट भएका फैसला, नजिरसमेतका आधारमा काउन्सिलले मापदण्ड र कार्यविधि बनाई काम गर्दै आएको छ ।

केही अनलाइन र युट्युव च्यानलले गरेका गलत काम र वेथिति रोक्न अभिमुखिकरण गराउनेदेखि आचारसंहिताको प्रावधान अनुसार कारवाही गर्न अदालतबाट आदेश जारी भएको थियो । सोही नजिरका आधारमा काउन्सिलले कार्यविधि बनाई पछिल्लो समय सक्रियता देखाइरहेको सद्भाव भड्काउने, अर्यादित र अश्लील सामग्री सम्प्रेषण नगर्न काउन्सिलले विज्ञप्तिमार्फत पटक-पटक आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्