काठमाडौं । चलचित्र ‘सेक्मुरी’ निर्माण हुने भएको छ । लिम्बू भाषामा निर्माण हुने ‘सेक्मुरी’को ललितपुरकाे हात्तीवनस्थित माङहिममा एक कार्यक्रमबीच शुभमुर्हत गर्दै निर्माण घोषणा गरिएको हो ।
लिम्बुनी फिल्म्सको ब्यानरमा निर्माण हुने यस चलचित्रमा लेखन तथा निर्देशन सुर्यप्रकाश चेम्जोङको रहेको छ । यस चलचित्रका लागि कलाकारहरुले १५ दिनको वर्कशप गरेका छन् । वर्कशपमा सहभागी कलाकारलाई शुभमुर्हत कार्यक्रममै प्रमाणपत्र दिइएको थियो ।
कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ का अध्यक्ष योतिराज राई, नेपाल आदिवासी जनजाति चलचित्र महासंघका निवर्तमान संघीय अध्यक्ष अमृत सुनुवार, किरात याक्थुङ चुम्लुङका संघीय सचिव यासेली योङहाङ लगायतका कलाकारको उपस्थिति रहेको थियो ।
यही पुस २३ गतेबाट चलचित्रको छायाँकन सुरु हुने निर्देशक चेम्जोङले जानकारी दिए । उनका अनुसार ‘सेक्मुरी’को छायाँकन पाँचथर, इलाम, काठमाडौं र हङकङमा हुनेछ । रविनकुमार नाल्बो, चन्द्रकला नेम्बाङ, पूर्ण सेलिङ, घनेन्द्रराज फियाक, माया तामाङ र सुनाहाङ जबेगु निर्माण रहने ‘सेक्मुरी’को लागत ७५ लाख रहने निर्माणपक्षले जनाएको छ ।
‘मरेको मान्छेले सम्मान पाउनुपर्छ र प्रेमले जीवित या मृत आत्म उत्तिकै सम्बन्ध राख्छ’ भन्ने चलचित्र ‘सेक्मुरी’को मुख्य अवधारणा रहेको छ । यस चलचित्रमा प्रेम सुब्बा, सागर केरुङ, बबिता फोम्बो, नरेश वनेम, पबी तेम्बे, पूर्ण सेलिङ, याम नेयोङ, इन्दु तुम्सा, डिआर हाङसरुम्बा, अल्का चोङबाङ, जानुका लिम्बु लगायतको अभिनय रहने भएको छ ।
युवराज राईको छायांकन, यासेली योङहाङको गीत, अशोक मुकारुङको संगीत, साहिल खानको सम्पादन, दिनेश माङमु र महेश्वर सम्बाहाम्फेको सह–निर्देशन रहने ‘सेक्मुरी’को प्राविधिक निर्देशकका रुपमा रवी शेर्मा रहने भएका छन् । यस चलचित्रलाई आगामी २०८२ मा प्रदर्शनमा ल्याइने निर्देशक चेम्जोङले बताए ।