काठमाडौं । पछिल्लो समय नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीमा जागिर छाड्नेको सङ्ख्या बढ्दो छ । ५ वर्षको अवधिमा तीन सुरक्षा निकायमा गरी १० हजार २ सय १५ जनाले बिचैमा राजीनामा दिएका हुन् ।
यसरी जागिर छाड्नेमा तल्लो तहका प्रहरी, सशस्त्र र सैनिक कर्मचारी बढी छन् । बढ्दो महँगीका बिच प्राप्त हुने कम तलब÷भत्ता, अवकाशपछिको आर्थिक–सामाजिक असुरक्षाको चिन्ताजस्ता कारणले उनीहरू जागिर छाड्न बाध्य हुन्छन् ।
कतिपय भने माथिल्लो तहका अधिकारीबाट हेपाइ सहनुपर्ने, चाहेका बेला सहजै बिदा नपाउने जस्ता कारणले विकल्पमा जान्छन् । ओभर टाइम ड्युटी र कार्यसम्पादन मूल्याङ्कनमा असन्तुष्टिका कारण राजीनामा दिएर हिँड्नेहरू पनि छन् ।
यसरी सेना, प्रहरी र सशस्त्रको तल्लो तहबाट जागिर छाड्नेहरू प्रायः वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ । यद्यपी यसको सरकारी तथ्याङ्क भने छैन । माथिल्लो तहमा भने प्रायः ‘प्रतिष्ठा’ का कारण राजीनामा दिनेको सङ्ख्या बढी देखिन्छ ।
पाँच वर्षमा ४ हजार ७०३ प्रहरीले जागिर छाडे
नेपाल प्रहरीमा पछिल्लो पाँच वर्षमा जागिर छाड्नेको सङ्ख्या धेरै छ । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷०७७ देखि २०८०÷२०८१ सम्म ४ हजार ७ सय ३ जनाले जागिर छाडेका छन् ।
यस अवधिमा अनिवार्य अवकाश हुनेको सङ्ख्या २ हजार ४ सय ६७ छ । चालु आर्थिक वर्षमा कात्तिकसम्म ५ सय ९ जनाले नेपाल प्रहरीको जागिर छाडेका छन् भने २ सय ४८ जना अनिवार्य अवकाशमा गएका छन् । प्रहरीमा सबैभन्दा बढी राजीनामा दिनेमा हवलदार छन् । पाँच वर्षमा १ हजार ९ सय ६४ हवलदारले राजीनामा दिएका छन् । सहायक निरीक्षकबाट राजीनामा दिनेको सङ्ख्या ९ सय ८ छ ।
राजीनामा दिने अन्यमा प्रहरी जवान ६ सय ९८, नायब निरीक्षक ३ सय १९, वरिष्ठ हवलदार २ सय ७७, सहायक हवलदार २ सय २२, कार्यालय सहयोगी २ सय ९, निरीक्षक ४३ र वरिष्ठ नायब निरीक्षक ३६ जना छन् । यस्तै, प्रहरी नायब उपरीक्षक १५, प्रहरी वरिष्ठ उपरीक्षक ६, प्रहरी उपरीक्षक ४ र प्रहरी नायब महानिरीक्षक २ जनाले पनि यही बिचमा राजीनामा दिएका छन् ।
२ हजार ८१५ जनाले सशस्त्र प्रहरी छाडे
सशस्त्र प्रहरी बलमा राजीनामा दिने र अनिवार्य अवकाश रोज्नेको अन्तर ५ वर्षमा झन्डै ११ गुणा देखिन्छ । आर्थिक वर्ष २०७६/७७ देखि २०८०/२०८१ सम्म २ हजार ८ सय १५ जनाले जागिर छाड्दा अनिवार्य अवकाश हुनेको सङ्ख्या २ सय २६ जना थियो ।
चालु आर्थिक वर्ष सुरु भएपछि हालसम्म ४ सय ४९ जनाले राजीनामा दिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी कुमार न्यौपानेले जानकारी दिए । उनका अनुसार यस अवधिमा २५ जनाले अनिवार्य अवकाश लिएका छन् ।
सशस्त्र प्रहरी बलतर्फ सबैभन्दा धेरै १ हजार ३ सय ६५ वरिष्ठ हवलदारले जागिर बिचैमा छाडेका छन् । त्यस्तै ४ सय ९० जवान र २ सय ३६ प्रहरी नायब निरीक्षकले पछिल्लो ५ वर्षमा राजीनामा दिएका छन् । राजीनामा दिने अन्यमा २ सय ६ सहायक हवलदार, १ सय ५४ हवलदार, १ सय ४३ प्रहरी परिचर, २७ निरीक्षक, १३ नायब उपरीक्षक, ११ वरिष्ठ नायब निरीक्षक र ६ प्रहरी उपरीक्षकले राजीनामा दिएका छन् ।
२ हजार ६९७ जनाले छाडे नेपाली सेना
नेपाली सेनामा २०७६ देखि २०८० सम्ममा २ हजार ६ सय ९७ जनाले राजीनामा दिएका छन् । अनिवार्य अवकाशसहित अन्य कारणले सेनाको जागिर छाड्नेको सङ्ख्या भने २ हजार ५ सय ६३ छ । ११ वर्षमा ७ हजार ९ सय ४२ जनाले निवृत्तिभरण नपाउने गरी सेनाको जागिरबाट राजीनामा दिएको तथ्याङ्क छ । त्यही समयमा अनिवार्य अवकाशसहित विविध कारणले नेपाली सेना छाड्ने सङ्ख्या भने ६ हजार ५ सय ९७ छ ।