काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन् । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले समाजिक सञ्जालमार्फत सिंहको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
विगतमा सिंहसँगै बसेको तस्बिर सेयर गर्दै उनले भनेका छन्, ‘मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरु सम्झिरहेको छु । दिवंगत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु !’
९२ वर्षीय सिंहको उपचारका क्रममा दिल्लीस्थित एम्स अस्पतालमा बिहीबार राति निधन भएको थियो । सिंहको राजकीय सम्मानका साथ अन्त्यष्ठि गरिँदैछ । अन्त्येष्टिका दिन शनिबार विदेशस्थित भारतीय दूतावास र उच्चायोगमा पनि राष्ट्रिय झण्डा झुकाउने निर्णय भारत सरकारले गरेको छ ।