काठमाडौं । नक्कली डाक्टर बनेर डा. आलोक भन्ने जितेन्द्र मण्डलले ३ लाख नगद र सुन–चाँदीका गरगहना चोरेका छन् ।
प्रहरीका अनुसार महोत्तरी जिल्लाको जलेश्वर-२ मा घर भएका मण्डललाई नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ आरुखर्कबाट प्रहरीले पक्राउ गरेको छ । उनले पिडितलाई फेसबुकमा साथी बनाएर आफूलाई डाक्टरको रुपमा चिनाएका थिए । सुगरको उपचार गर्ने भन्दै उनी पिडितको घरमा गएका थिए ।
परिवारका सदस्यलाई औषधि खुवाएर बेहोस बनाएपछि उनले सिक्री, औंठी, मंगलसूत्र, टप, झुम्का लगायत सुनका गहनाका साथै ३ लाख नगद चोरी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले मण्डलबाट एप्पल कम्पनीको मोबाइल, भिभो कम्पनीको मोबाइल, सामसङ कम्पनीका मोबाइल र नगद ५९ हजार ३६० रुपैयाँ बरामद गरेको छ ।
घटनास्थलको सीसीटीभी फुटेजका आधारमा अनुसन्धान गर्दा अभियुक्त फेला परेका हुन् ।