काठमाडौँ, ३२ जेठ । कालापानी लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्शा नेपालको संविधानमा संशोधन भई पारित भएको खुशियालीमा हिजो शनिबार देशभर दीप प्रज्वलन गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकले दुई तिहाइभन्दा बढी मतले सोसम्बन्धी प्रस्ताव पारित गरेको थियो ।
नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित भएको खुशियालीमा शनिबार तनहुँको दमौलीमा दीप प्रज्वलन गरिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यास नगर कमिटीले दुई तिहाइभन्दा बढी मतले संविधान संशोधन विधेयक पारित भएको खुशियालीमा दीप प्रज्वलन गरेको हो ।
भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको विधेयक पारित भएसँगै नेपाल कम्युनिष्ट पार्टीले दमौलीस्थित मुख्यचोकमा दीप प्रज्वलन गरेको हो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले संविधान संशोधन विधेयक पारित भएका दिन नेपाली जनताका लागि गर्वको दिन रहेको बताउँदै भारतले कब्जा गरेको भूमि फिर्ता ल्याउन नेपाली जनता एकजुट हुनुपर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एकबहादुर रानाले भारतसँग कूटनीतिक वार्ता गरेर गुमेको भूमि फिर्ता गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यास नगर कमिटीका अध्यक्ष श्रीराम कार्कीले राष्ट्रियताका सवालमा सबै दलबीच अभूतपूर्व एकता कायम भएकाले अतिक्रमित भूमि फिर्ता ल्याउन पनि सबै दल एकजुट हुनुको विकल्प नरहेको बताउनुभयो । राष्ट्रिय जनमोर्चा तनहुँका सचिव पुष्पलाल श्रेष्ठले राष्ट्रिय स्वाधीनताका लागि लड्न सबै नेपाली तयार हुनुपर्ने बताउनुभयो ।
नेकपाका जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपानेले संविधान संशोधन विधेयक पारित भएको खुशियालीमा जिल्लाका दशवटै स्थानीय तहमा दीप प्रज्वलन गरिएको जानकारी दिनुभयो ।
त्यसैगरी कालापानी लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूभाग समेटर जारी गरिएको नेपालको नयाँ नक्शा र निशान छापको अद्यावधिकका लागि गरिएको नेपालको संविधानको दोस्रो संसोधन विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको खुशियालीमा स्याङ्जामा दिपावली गरिएको छ ।
जिल्ला सदरमुकामस्थित शहदि चोकमा दिपावली गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष सूर्यप्रसाद गैह्रे पारले जानकारी दिनुभयो । यसैगर िवालिङ उद्योग वाणिज्य सङ्घले पनि दिपावली गरेको छ ।
जिल्लाका सर्वसाधारण एवं विभिन्न सङ्घसंस्थाले समेत आज प्रतिनिधिसभाबाट सर्वसम्मतरुपमा नेपालको संविधानको दोस्रो संशोधन पारित भएर भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्शाका साथै निशान छाप संविधानमा समेट्नका लागि गरिएको संविधान संशोधनको प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको खुशियालीमा जिल्लामा दिपावली गरेका हुन् ।
त्यसैगरी प्रतिनिधिसभाको शनिबारको बैठकबाट नेपालको संविधान (दोस्रो) संशोधनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपालको नक्शा अङ्कित निशान छाप दुई तिहाइ बहुमतबाट पास भएको खुशियालीमा विराटनगरको जनआन्दोलन चोकमा आज साँझ दीप प्रज्वलन गरिएको छ ।
राष्ट्रिय युवा सङ्घ र अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन मोरङद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गुरु बराल, महेश रेग्मी, प्रदेशसभा सदस्य सावित्रा रेग्मी, मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेतीलगायत नेता कार्यकर्ताले नेपालको नक्शामा मैनबत्ती बाली दीप प्रज्वलन गर्नुभएको थियो ।
सो अवसरमा सर्वसाधारणले पनि दीप प्रज्वलन गरेका थिए । यसैगरी जिल्ला प्रशासन कार्यालय मोरङ आगाडि, वरागाछीसमेतमा नक्शा अङ्कित निशान छाप पारित भएको खुशीमा दीप प्रज्वलन गरिएको छ । खुशियाली मनाउन सर्वसाधारण नागरिकले आफ्नो घरमा दीप प्रज्वलन गरेका छन् ।
नेपालको नयाँ राजनीतिक नक्शालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको खुशीयालीमा नेकपा बाजुराले पनि मार्तडीमा दीप प्रज्वलन गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेतासहित युवाहरुले नेपालका लिपुलेक, लिम्पियाधुरा र कालापानी नक्शामा समावेश भएको विधेययक प्रतिनिधिसभाबाट पारित भएपछि बेलुकी जिल्ला सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरेको नेकपा प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिनुभयो ।
त्यस्तै राष्ट्रिय युवासंघ नेपाल र अनेरास्ववियू काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको राजनीतिक एवं प्रशासनिक नक्शा संसद्बाट पारित भएको खुशीयालीमा काभ्रेपलाञ्चोकको बनेपामा दीप प्रज्वलन गरिएको छ ।
दुवै कमिटीले बनेपा चारदोबाटोमा बेलुका दीप प्रज्वलन कार्यक्रम गरी खुशीयाली मनाएका हुन् । कार्यक्रममा सहभागीले राष्ट्रय झण्डा फहराएर लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई तत्काल फिर्ता गर्न भारत सरकारसँग माग पनि गरेका छन् । देशका अन्य जिल्लामा पनि दीप प्रज्वलन गरी खुशीयाली मनाइएको छ ।