Logo
Logo

नेपाली क्रिकेटको नयाँ उचाइ


378
Shares

नेपाली क्रिकेटको घरेलु महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण सम्पन्न भएको छ । योसँगै नेपाल क्रिकेट संघ (क्यान)को ड्रिम प्रोजेक्टले सार्थकता पाएको छ । एनपीएल नेपाली क्रिकेटको इतिहासमा एउटा महत्त्वपूर्ण मोड बनेको छ । यसले अन्तर्राष्ट्रियमा राष्ट्रको गौरव बढाएको छ । खेलाडीसँगै क्रिकेट प्रेमीमा आशा जगाएको छ । नेपाली क्रिकेट थप व्यावसायिक भएको छ ।

दर्शकले तीन साता यस प्रतियोगितालाई एउटा उत्सवका रूपमा व्यतीत गरे । जाडोको याममा दर्शक बिहान बिहानै कीर्तिपुरस्थित टीयू मैदान पुगे । चौरमा बसेर क्रिकेट हेर्न पैसा तिर्न कञ्जुस्याइँ गरेनन् । टिकट नपाउँदा मैदानमै गएर क्रिकेट हेर्ने धेरैको धोको अधुरै रह्यो । जुन दुःखको कुरा हो । तर, यसले क्रिकेटप्रति नेपालीको माया कति छ भन्ने प्रस्ट हुन्छ ।

एनपीएलले पहिलो सिजनमै विश्वको ध्यान आकर्षित गर्न सफल भयो । यसको ‘क्रेज’ले विश्व क्रिकेट प्रेमीहरू पनि चकित बने । २१ दिनसम्म चलेको एनपीएलमा क्यानले टिकटबाटै पाँच करोडभन्दा बढी कमायो । मैदानमा हरेक खेल हेर्नका लागि उपस्थित भएर मात्रै होइन, टीभी तथा युट्युबमार्फत हेर्ने दर्शकले समेत यसको महत्त्व बढाउन भूमिका खेले ।

नेपाली खेलाडीहरूले एउटै प्रतियोगिता खेलेबापत २० लाख रूपैयाँसम्म पारिश्रमिक पाउने हैसियत बनाए । अवसर नपाएका खेलाडीहरूले क्षमता देखाउन पाए । नाम चलेका विदेशी खेलाडीहरूसँग खेल्न पाए । केही सिक्ने मौका पाए  । यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकाहरूले विश्वका अन्य प्रतियोगितामा पनि अवसर पाउने अपेक्षा गर्न सकिन्छ ।

एसोसिएट राष्ट्रले आयोजना गरेको पहिलो फ्रेन्चाइज लिगमा १६ देशका ३२ विदेशी खेलाडी नेपाल आए । विदेशी खेलाडी र प्रशिक्षकको आगमनले नेपाली क्रिकेटको लोकप्रियता मात्रै बढाएन, देशको सांस्कृतिक र खेलकुद पर्यटनमा पनि नयाँ आयाम थपियो । यसले नेपाली क्रिकेटलाई दीर्घकालीन विकास, आर्थिक प्रगति र खेलप्रतिको जनचासोको दृष्टिले नयाँ उचाइमा पु¥याएको छ ।

एनपीएलको एउटा पूर्ण स्वरूप सफलतापूर्वक सम्पन्न भएको छ । यो विश्वकै खेल क्षेत्रको ठूलो ब्रान्ड बन्ने विश्वास छ । तर, यसलाई अझ स्तरीय बनाउँदै निरन्तरता दिइनुपर्छ । आगामी दिनमा खेलाडीहरूको अझ उत्कृष्ट प्रदर्शनका लागि लगानीकर्ताहरूलाई पनि उत्साहित बनाउन जोड दिनुपर्छ ।

अन्तर्राष्ट्रिय क्रिकेट कमेन्ट्रेटर एन्ड्रु लियोनार्ड (तल्कुल दाइ)ले पुरस्कार वितरणका बेला नेपाली पोसाक लगाएर उद्घोषण गरेका थिए । उनले यसअघि पनि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली पोसाकमै कमेन्ट्री गरिसकेका छन् । उनले विश्व चर्चित क्रिकेट स्टार ब्रायन लारालाई प्रत्यक्ष प्रसारणकै बेला नेपालको ढाका टोपी उपहार दिँदै ‘दाइ’ भन्दै सम्बोधन समेत गरे । उनी नेपालका शुभचिन्तक मानिन्छन् । उनले नेपाललाई ‘दोस्रो घर’ भन्ने गरेका छन् ।

एनपीएलको ब्रान्डभ्यालु पनि बढेको छ । यसको भ्यालु वैज्ञानिक अध्ययन भइसकेको त छैन, तर ब्रान्ड भ्यालुलाई आवश्यक पर्ने वस्तु जस्तै कारोबार, प्रायोजकको सहयोग तथा प्रशंसकको साथ र राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा भएको चर्चालाई हेर्दा एनपीएलको ब्रान्ड भ्यालु १० अर्ब हाराहारी पुगेको जानकारको बुझाइ छ ।

एनपीएलको एउटा पूर्ण स्वरूप सफलतापूर्वक सम्पन्न भएको छ । यो विश्वकै खेल क्षेत्रको ठूलो ब्रान्ड बन्ने विश्वास छ । यसका लागि आयोजक क्यान बधाईको पात्र भएको छ । आगामी संस्करण अझ परिष्कृत र भव्यतापूर्वक आयोजना हुन सकुन् भन्ने शुभकामनाको हकदार भएको छ ।

तर, सरकारको खेलकुद क्षेत्रलाई अहिलेसम्म चासो नदिएको यथार्थ हो । एनपीएल हेर्न कीर्तिपुर रङ्गशालामा हजारौँ मानिसको भिड लागेता पनि त्यहाँको भौतिक अवस्था सन्तोषजनक बनाउन सकिएको छैन । खेलाडी र दर्शकले त्रिक्रेटलाई माया गरे पनि सरकार र यसको विकासका लागि बनाइएका संस्थाहरूले खासै प्राथमिकता दिन सकेका छैनन् ।

एनपीएलको नाममा क्यानले तत्काल गर्न सक्ने जति गरेको छ । कतिपय व्यवस्थापकीय कमजोरीलाई आगामी दिनमा सुधार गर्दै लैजाने पर्ने देखिएको छ । यस प्रतियोगितालाई हेरेर सबै तहको सरकारले पनि क्रिकेटसँग सम्बन्धित भौतिक पूर्वाधार निर्माण गर्ने कामलाई प्राथमिकता दिन आवश्यक छ । प्रतिभाको पहिचान गरेर उसलाई खारिनका लागि आवश्यक अवसर उपलब्ध गराउने नीति तय गर्न र कार्यान्वयन गर्न आवश्यक छ ।

सरकारले त्रिवि मैदानलाई थप स्तरोन्नति तत्कालन गर्न जरुरी छ । यस पटकको प्रतियोगिता चल्दै गर्दा धेरैले ‘फ्लड लाइट’ का साथमा साँझमा खेल हुन सकेको भए गज्जब हुने थियो । यसबारे प्रधानमन्त्रीकै तहबाट भएका प्रतिबद्धताहरू पूरा नहुँदा दर्शकका सकारात्मक चाहना पूरा हुनेछन् ।

सरकारले मात्रै होइन, नेपाली क्रिकेटसँग जोडिने गरी निजी क्षेत्रले लगानी गरे पनि प्रतिफल प्राप्त हुने सुनिश्चित भएको यसप्रति बढ्दो चासोले पुष्टि गर्छ । तर, यसलाई अझ स्तरीय बनाउँदै निरन्तरता दिइनुपर्छ । त्यसका लागि अझ स्तरीय खेलाडीहरूलाई टिममा भित्र्याउन टिमहरूले विशेष ध्यान दिनुपर्छ ।

ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरको क्रिकेट रङ्गशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेको थियो । तर एनपीएलका बेला यो सम्भव हुन सकेन । क्रिकेट प्रेमीहरूको उत्साहलाई निरन्तरता दिन र नेपाली क्रिकेटको विकासका लागि क्यानले अझ धेरै काम गर्न बाँकी छ ।

आगामी दिनमा खेलाडीहरूको अझ उत्कृष्ट प्रदर्शनका लागि लगानीकर्ताहरूलाई पनि उत्साहित बनाउन क्यानले बढी जोड दिनुपर्छ । यस्ता प्रतियोगितालाई काठमाडौंमा मात्र केन्द्रित नगरी अन्य जिल्लामा पनि सञ्चालनका लागि सम्बन्धित सबैले सक्रियता जनाउनुपर्ने आवश्यकता महसुस गरिएको छ ।

राज्यले अब मैदानसहितका पूर्वाधारमा लगानी बढाउने र प्रदेशहरूमा पनि छुट्टै क्रिकेट मैदान निर्माण भए होम एन्ड अवेका आधारमा दर्शकले एनपीएल हेर्न पाउने थिए । जसले क्रिकेटको लोकप्रियतालाई त अझै बढाउँछ ।

अहिले पनि नेपालको खेलकुद विकासमा भौतिक पूर्वाधारको ठूलो अभाव छ । नेपाली खेलकुदमा पूर्वाधारको ठूलो समस्या छ । पर्याप्त बजेट अभावमा गतिला मैदान निर्माण हुन सकेका छैनन् । भएका पूर्वाधार मर्मत अभावमा जीर्ण बन्दै गएका छन् ।

कतिसम्म भने पदक जित्दा सरकारले घोषणा गरेको पुरस्कार समेत खेलाडीले पाउन सकेका छैनन् । देशमा भविष्य नदेखेर धेरै खेलाडी विदेश पलायन भइसके । अरू, थुप्रै बिदेसिने लाइनमा छन् । यो तीतो यथार्थ हो । यसको एक मात्र कारण राज्यको आँखा खेलकुदमा नपर्नु नै हो । त्यसैले नेपालको खेल क्षेत्रले अहिलेसम्म व्यावसायिक फड्को मार्न सकेको छैन ।

सरकारले खेलकुद क्षेत्रमा लागेका खेलाडीलाई कुनै प्रोत्साहनको कार्यक्रम दिन सकेको छैन । क्षमता पहिचान भएका खेलाडीको संरक्षण र ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयार पार्नुपर्ने भूमिकामा राज्यका संरचनाहरूले प्रभावकारी काम गर्न सकेको छैन । यसो हुनुमा मुख्य कारण चाहिँ खेलकुदमा चरम राजनीति र नेतृत्वमा पुग्नेहरूमा ज्ञानको अभाव नै हो ।

वास्तवमा लगानी हुनुपर्ने ग्रास रुटबाट खेलकुद विकास गरी खेलाडीको पहिचान र संरक्षणमा हो । सरकारका कार्यक्रमहरू ‘कुनै खेलाडीले पदक जिते नगद पुरस्कार दिने’ भन्दा माथि उठ्न सकेका छैनन् । जसले गर्दा नेपालको खेल क्षेत्र दयनीय बनेको छ । यसप्रति सरकार र सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्