काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले वर्तमान सरकारलाई नीतिगत नेतृत्व कांग्रेसले नै दिनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ को दोस्रो भेलामा बोल्दै सिटौलाले अहिले सरकारको नेतृत्व केपी ओलीले गरे पनि पहिलो पार्टी र विभिन्न परिवर्तनमा खेलेको भूमिकाका आधारमा कांग्रेसले नै सरकारलाई नीतिगत नेतृत्व दिनुपर्ने बताएका हुन् । कांग्रेसकै नेतृत्वमा तीनै तहका सरकारलाई जनताप्रति अधिकतम काम गर्ने अवस्था सिर्जना गर्न सक्नुपर्ने उनले बताए ।
सिटौलाले पार्टी र सरकारबीच समझदारी नहुँदा मुलुकमा धेरै दुर्घटना भएकाले अव पार्टी र सरकारबीचमा राम्रो समझदारी हुनुपर्छ भन्नेमा पार्टी स्पष्ट रहेको धारणा राखे ।
उनले संविधान कार्यान्वयनको गहन ढङ्गले समीक्षा गरेर मात्रै संशोधनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए । उनले आगामी निर्वाचनमा सबै वडादेखि तहसम्मको निर्वाचनमा जित हासिल गर्ने गरी अहिलेदेखि नै तयारी गर्न निर्देशन दिए ।