काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीकाे लामाे समयदेखि आलोचना गर्दै आएका डा. भीम रावललाई एमालेले पार्टीबाट निष्कासन गरेको छ । एमालेको अनुशासनको डण्डा नेता रावलमाथि मात्रै होइन, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथि पनि बज्रियो ।
एमालेले पाण्डे र तिम्सिना दुवैलाई ६ महिना निलम्बन गरेको छ । भीम रावल, बिन्दा पाण्डे र उषाकिरण तिम्सिनामाथि गरेको कारबाहीको विषयले एमालेभित्र हलचल मच्चाएको छ ।
तीन जनाको कारबाहीमा एमाले पङ्क्ति तीनतिर विभाजित छ । एउटा पक्षले कारबाहीलाई ठिक भनिरहेको छ भने अर्को पक्ष कारबाही गलत भएको ठह¥याएको छ । एउटा हिस्साले भने फरक मत राखेको छ ।
शुक्रबारको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र सचिव रघुबीर महासेठ कारबाहीको पक्षमा उभिएका थिए । आफ्नो कुरा राखेकै कारण निष्कासनकै कारबाही गरिन नहुने अडान राख्ने नेताहरू पनि ठुलै सङ्ख्यामा थिए । उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे भने निष्कासनको निर्णयमा पक्षमा थिए ।
बैठकमा उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ, सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराईले पनि कारबाहीको प्रस्तावमा फरक मत राखेका थिए । तर कारबाही गर्ने वा नगर्ने भन्नेमा प्रस्ट कुरा थिएन ।
असन्तुष्टिका बाबजुद अध्यक्ष ओलीले पेलेरै भीम रावललाई निष्कासन गर्ने र विन्दा पाण्डे र उषाकिरण तिमल्सिनालाई निलम्बनको निर्णय बैठकबाट गराए ।
अहिले ओलीले भीम रावलमाथि किन कारबाहीको डण्डा चलाए भन्ने चासोको विषय बनेको छ । रावलले पार्टीको चर्को आलोचना गरेर अध्यक्ष ओलीप्रति विषवमन नै गरेका थिए । त्यसले ओलीमा आक्रोश पलाउनु अस्वाभाविक होइन । तर, पार्टीबाट निष्कासन नै गर्नु चाहिँ अस्वाभाविक भएको धेरैको ठहर छ ।
ओलीले उक्त तीरले दुईवटा सिकार गर्न खोजेको देखिन्छ । एक, आउँदो महाधिवेशनमा अध्यक्षको दाबीमा देखिएका नेताहरूलाई दबाबमा राख्ने । अर्को, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउनबाट रोक्ने प्रयास ।
ओलीले पार्टीभित्र विमति राख्ने तर समाधान नगर्ने प्रवृत्ति देखिएको बारम्बार बताउँदै आएका छन् । त्यसैले आउने दिनमा पार्टी अध्यक्षविरुद्ध नबोल्नहरुमाथि निर्मम हुने ओलीले संकेत गरेका छन् । ओलीको प्रवृत्तिबाट वाक्क भएका धेरै नेता कार्यकर्ताहरूले एमालेमा पूर्व उपाध्यक्ष समेत रहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको खोज्दै आएका छन् ।
एमालेभित्रै ओलीको गुटबन्दीले पार्टी ओरालो यात्रामा लागेकाले जोगाउनका लागि भएपनि भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउनुपर्ने मत बढ्दो छ । ओलीको चाहना विपरीत एमालेकै एउटा समूहले पूर्व राष्ट्रपति भण्डारीलाई सक्रिय बनाइरहेको छ । तर, ओली भण्डारीलाई तत्काल एमालेमा आउनबाट रोक्न चाहन्छन् ।
अहिले एमालेमा आगामी महाधिवेशनमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल अध्यक्षको दाबेदार गर्ने चर्चा एमालेमा छ । पौडेल पूर्व राष्ट्रपति भण्डारीसँग निकट भएको बताइन्छ । पूर्वराष्ट्रपति भण्डारी एमालेको नेतृत्व गर्ने गरी सक्रिय राजनीतिमा फर्किने चर्चाका बीच पौडेलको निकटताले ओलीसँग सम्बन्ध चिसिएको चर्चा पनि हुँदै आएको छ ।
आगामी महाधिवेशनबाट अध्यक्ष बन्ने चाहना राखेका महासचिव पोखरेल पनि आफ्नो समूह बलियो लागिपरेका छन् । उनले आफू निकटलाई जिम्मेवारी दिने र कार्य विभाजनमा नेताहरू लाखापाखा लगाउन थालेका छन् । त्यसले एमालेभित्र असन्तुष्टि बढाइरहेको छ ।
कतिपय जिल्ला र जनवर्गीय संगठनमा एमालेभित्र धार निर्माण हुन थालेको थियो । यसको एउटा उदाहरण अखिलको काभ्रे जिल्ला अधिवेशनमा समानान्तर समूह बन्नु हो ।
पार्टीभित्रको बढ्दो असन्तुष्टिको ओली र विद्यसम्मै पुग्ने गरेको छ । त्यसकारण भीम रावल, बिन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई कारबाही गरेर ओलीले पार्टीभित्र नेताहरूलाई सन्देश दिन खोजेको देखिन्छ ।
पार्टीभित्र विचार समूह बनाउने प्रतिबन्ध लाग्ने मात्रै होइन, जसले ओलीको विकल्प सोचिरहेका छन् उनीहरूलाई मनोवैज्ञानिक रूपमा दबाबमा राख्न चाहेको देखिन्छ ।