मंसिरे चिसो, न्यानो ओछ्यान अनि मस्त निन्द्रा । दुईतिर घडीमा अर्लाम बजेपछि झसङ्ग ब्यूँझिएँ । म दंग परेँ । नानूले भनिन्– ‘मामु हजुरले बिर्सिनुहुन्छ भनेर मैले पनि अलार्म राखेको थिएँ ।’
‘ओहो, कति जिम्मेवार हुँदा रहेछन् केटाकेटी, अब त मेरा अभिभावक पो भएछन् भन्ने भान भयो’ मलाई । नानूले पानी तताइन् अनि बिरे नून राखेर ठूलो मगमा दिँदै भनिन्, ‘मामू यो सक्नु है ।’ अनि सातू बनाइन् । एउटा स्याउ काटेर टेबलमा राख्दै भनिन् ‘यो पनि खानु है नआत्तिकन’ अनि झोला चेक गरिन्, केही त छुटेन ? भन्दै ।
‘औषधि बेलामै खानुहोला’ नानुले भनिन् । बाहिर हरन बज्यो, ‘हेर त नानी ठाकुर सर आउनु्भो क्यारे’ मैले भने । म पानी खाएर शौचालय गएँ । हात–मुख धोएर ब्रस गरेर तयार भएँ । न्यानो ऊनी कुर्ता लगाएँ, स्वेटर लगाएँ । घुँडासम्म आउने ज्याकेट लगाएँ अनि ऊनी न्यानो टोपी लगाएँ, ऊनी पछ्यौराले आफूलाई न्यानो हुने गरि बेरेँ । ‘मामु, अब नआत्तिकन खानुहोस्, हजुरलाई कल आइ््हाल्छ नि’ भन्दै नानुले स्याउ र तीन दिनलाई पुग्ने सातू राखी दिइन् । र, भनिन्– ‘केही खानु होला नि, खानपिनमा याद गर्नुहोस् ।’
६ बजे हिँड्ने कुरा थियो । तर, ६ः१५ भइसक्यो । सर आउनुभएन, अबचाहिँ फोन सम्पर्क गर्नुपर्छ भनेर फोन गरेँ । र, मैले भनेँ, ‘सर नमस्कार। हजुर कता ? अबेर भएन, फेरि आज कक्षा पनि संचालन गर्नुछ ।’ ‘म हजुरकै अगाडि छु, हेर्नुहोस् त’ भन्नूभयो । ओहो, ‘हो त रैछ है ।’ नानीले ब्याग मिलाएर राख्नु सहयोग गरिन् ।
२०८१ मंसिर २१ गते, बिहानै ६ः३० मा काठमाडौंको कागेश्वरी मनोहरा वडा–८ तेज विनायक चोकबाट हाम्रो यात्रा शुरु भयो । मेरो सहयात्री सिन्धुभ्याली क्याम्पस, मेलम्चीको क्याम्पस प्रमुख ठाकुरराम चौलागाईं सर हुनुहुन्थ्यो ।
हामी चाबहिल, धुम्बाराही हुँदै टोखाबाट उकालो लाग्यौं र झोरको उकालोमा पुगेर मैले फर्केर काठमाडौं हेरेँ । भर्खरै सुर्य उदाउँदै थियो । समय बिहानीको ७ः१० भएको थियो । बादलले ढाकेको धुम्म आकाश, सुर्य मधुरो किरणले काठमाडौंलाई चियाउँन खोज्दै थियो । म खुशी यति थिएँ कि, नुवाकोट काठमाडौं नजिकैको जिल्ला भएपनि खासै सबै पालिका पुगेको थिइनँ । परारको साल ककनी गाउँपालिकाचाहिँ पुगेकी थिएँ । तर, त्यहाँ र यहाँको बाटो एकदम भिन्न थियो ।
यसपालि धार्मिकस्थलको नाममा प्रचलित दुप्चेश्वर महादेव र त्यही महादेवको नाममा राखिएको पालिका दुप्चेश्वर गाउँपालिकाको निमन्त्रणा स्वीकार्दै हामी आएका थियौँ । एककाम, दुईपन्थ भनेजस्तै म चाहिँ धेरै खुशी थिएँ । सर यहाँभन्दा अघिल्लो वर्षपनि आइसक्नुभएको थियो । तर, मेरो लागि सबै नयाँ । त्यो बाटो, उकाली, ओराली अनि मौसम र त्यहाँको हरेक चिजले मलाई तान्दै थियो ।
मेरो साथमा हुनुहुन्थ्यो, क्याम्पस प्रमुख, उहाँलाई ज्ञान छ कि ताराम्याम प्रकृतिको सामिप्यता रुचाउने व्यक्ती हो । उहाँले सुनाउनुभयो, ‘पहराको बीचमा दुप्चेश्वर महादेवको मन्दिर छ, हजुर त्यहाँ पुगेपछि आभाष गर्नुहुन्छ ‘एक आलौकिक शक्ति जो अहिलेसम्म देख्नुभएको छैन होला, म अरु केही भन्न सक्दिनँ हजुर पुगेपछि आफैँ देख्नु हुनेछ ।’
आँखा वरिपरि चित्रहरु घुम्न थाले । कतै केदारनाथ वा बद्रीनाथ जस्तै भनेर मनमनै सोचेँ । प्रकृतिको काखमा भिर, पहाराको बीचमा अवस्थित छ, कस्तो होला ? देख्न आतुर थिएँ । साहै्र कौतुहल भयो, कतिबेला पुगेर मेरा यी आँखाले देख्न पाउँछु भनेर । मनमनै गदगद् थिएँ । सहयात्री सर भने चुपचाप हुनुहुन्छ । म सुनाउनु अरु भन्छु, हजुर आफैँले देख्नुहुन्छ । ‘अब हामी १० बजे पुग्छौँ’ भन्नुभयो ।
त्यसपछि नागबेली जस्तै घुमाउरो र फराकिला घुम्तीहरु छिचोल्दै थियाैँ । चिसो हावाले छोएको महसुस हुन थाल्यो । मीठो, चिसो सिरेटो, कतिवटा हिमाल पार गर्दै आएको चिसो हिउँसँगै आएजस्तै आभाष भयो । गुर्जे भञ्ज्याङ्स्थित भगवती दल गणलाई पार गरिरहँदा आँखा एक्कासी रोकियो, राउचुली हिमाल नुवाकोट र गणेश हिमाल रसुवा हिमश्रृँखलामा । मलाई एकनास हेरिरहेको र आफ्नो आलिंगनमा बेर्न खोजेको अनुभुति भयो ।
मैले सरलाई भने, ‘सर फर्किँदा एकैछिन मलाई यहाँ बस्न दिनुहोस् है । हिमशृँखलाहरुलाई म यहीबाट नियाल्न चाहन्छु ।’ सरले भन्नुभयो, ‘अवश्य ।’ हामी त्यहाँबाट ओरालो लाग्यौं । फेरि सुरु भयो, घुम्ती पारी देखिने नागबेली सडकहरु । सरले देखाउँदै भन्नुभयो, ‘त्यो पारीको सडक सबै पार गर्नुपर्छ हामीले ।’
सुन्दर पहेँलो प्याउलीको फूलको सुन्दरताले पाखाहरु ओर्लेर यी फूलहरुसँगै मुस्काउँजस्तै भयो मलाई । एकछिन गुनगुनाए पनि ‘डाँडा पाखा छहराले तिम्रै गीत गाउँछ’ । त्यसपछि नागबेलीझैँ गुरुङ गाउँको माझमा पुग्यौँ र सेतो रहर लाग्दा मूला र रायोको लोकल साग काँचै खाउजस्तै हरियो, लहलह परेका पातहरु देखेर मन लोभियो । सरलाई भने, ‘आहा साग लानुपर्छ है सर । ‘हस हुन्छ म्याम’ उहाँले भन्नुभयो ।
सिस्नुचाहिँ पाइन्छ कि पाइन्न होला है सर ? पाए लानुपर्छ है भने । सरले ‘सिस्नुको सम्भावनाचाहिँ छैन होला, मिलेसम्म बरु समुद्र फिनी नामको चामल पाइन्छ, त्योचाहिँ दुप्चेश्वरको शिखर फाँटमा मात्रै उत्पादन हुने चामल हो । त्योचाहिँ ल्याउनपर्छ’ भन्नुभयो ।
हामी थाना भञ्ज्याङ्नजिकै थियौँ । शीतका थोपाहरु अझै फूलको पत्रदलमा स्नेहपूर्ण बेरिएका थिए । बाटोहरु अग्ला–अग्ला पहाडले छेलिएको थियो । घाम त उदाएको थियो, तर त्यहाँ आइपुग्न समय लाग्ने रहेछ ।
थापागाउँ, छहरे बजार हुँदै ढिकुरे पुगेसी एकछिन आराम गर्ने कुरा भयो । हामीले चिया खाने निधो गर्यौ । र, मैले कहाँ खाने चिया भनेर सरलाई सोधे । उहाँले ‘यहाँ छ नि पसल’ भन्दै एउटा चिया पसल अगाडि हामी रोकियौँ, जहाँ एक महिला चिया पकाउँदै हुनुहुँदो रहेछ ।
सायद, उमेरकै हिसाबले म भन्दा कान्छी, हँसिली, मीठो बोली, नम्र स्वभाव मेरो आँखामै बसिन् । चियापछि फेरि निरन्तर यात्रा थियो । लिखु खोलाको पुल तर्दै हामी चौघराको फाँटतिर प्रस्थान गर्दै आफ्नो यात्रा तय गर्दै थियौँ ।
देखिन थाल्यो रहर लाग्दा बेसीका फाँटहरु, जसले मन्त्रमुग्ध बनायो मलाई । ओर्लिएर बालापन जस्तै उफ्रिँदै खेतका गरा–गरामा पुगौँ लाग्यो । अनि, परालको कुन्हूँले त्यो फाँटलाई अझै शृँगारिएको थियो, जसले मलाई भन्दै थियो कि ‘यहाँ परिश्रमी मानिसहरुको बासस्थान हो ।’
एक वर्षमा ३ बाली हुने रहेछ यहाँ । गहुँ, आलु अनि धान विशेष खेतीमा पर्ने रहेछ । यही ओर्लेर केही समय प्रकृतिकै काखमै हराउन मन भयो । सारा पीडा, दुख, पिर काठमाडौमै बिर्सेझैँ लाग्यो एकछिन नतमस्तक भएँ । मानवीय प्रकृति सोच पनि कति रमाउन खोज्ने यो हावा जस्तै अनि चरीजस्तै स्वतन्त्र उड्न खोज्ने यो मन आखिर प्रकृतिमै रमाउने रहेछ ।
नुवाकोट पहाड नै हो । तर, यो फाँटहरु हेर्दा चितवनतिर पुगेझैँ लाग्यो । कुनै घर अगाडि अंगुरको लहरा थियो भने कतै लालुपाते फूलेर सुन्दर सजिएका थिए । हामी पन्चकन्याको सिमरा पार गर्दै गर्दा मेरो आँखा ड्रागन फ्रुटको व्यवसायी खेतीतिर गयो ।
आहा ! रहर लाग्दा उर्वरभूमि, मनमनै खुशीको सिमा थिएन । मेरा आँखाहरु यति आनन्दित थिए, आखिर उपज हुँदै सुन्दर देखिने धरती, शृँगारिएको झैँ हगि सोच्दै मन गदगद् थियो ।
यो फाँटसँग बसेको माया अब कहिले साट्ने होला ? सोच्दै आफ्नै गन्तव्यमा पुग्न आतुर थियौँ । फराकिला बाटाहरु पार गर्दै अघि बढ्दै गर्दा वर–पिपलको पुराना बोटहरुले झनै तान्यो मलाई । मैले सरलाई भने, ‘म कतै अहिलेभन्दा अघिको जन्ममा मानिस नै थिएँ कि यो वर–पिपल, वन, जंगल, खोला, नाला, पहाड, हिमाल सबैको माया मान्छेको जस्तै लाग्छ ।’
सरले भन्नुभयो ‘अब मर्नु न अनि थाह हुन्छ कि हामीलाई कति सम्झिनु हुँदोरहेछ ।’ ‘के भन्नुभएको सर, म मरे भने कसरी सम्झिन्छु ?’ भन्दै हामी अघि बढ्यौँ । हामी सुर्यमती खोलाको पुल तर्दै बाहुनबेसीमा प्रवेश गरिसकेका थियौँ । चारैतिर केराघारी अनि घरघरमा माहुरी पालन । कति रमाइलो लाग्यो, यहाँ त अग्र्यानिक र शुद्ध फलफूल अनि मह खान पाइने रहेछ । यति भए यहाँको मानिसहरु जीवनस्तर साथै स्वास्थ्य धेरै स्वस्थ हुनुपर्छ । जब दोर्खुखोला पार गर्यौ । अनि, खरानीटार हुँदै घट्टेखोलाको पुल तरेपछि सात बिसे आयो ।
सँगसँगै नौबिसे आयो, जहाँ भूतखोलाको गेट छ । तादी गाउँपालिकाको सिमाना पर्ने त्यहाँबाट हामी दाहिने लाग्यौँ, जसले दुप्चेश्वर महादेव जाने बाटो दर्शाएको थियो । समुद्रटार पुग्न दुप्चेश्वर महादेव जाने देब्रेपट्टि र समुद्रटार दाहिनेपट्टि सूर्यमती खोला तर्दै आजको हाम्रो यात्रा गन्तव्य समुद्रटार बजारमा पुग्यौँ ।
दुप्चेश्वर गाउँपालिका पुगेपछि एउटा होटलमा आ–आफ्नो कोठामा ब्याग बिसायौँ । त्यसपछि दुप्चेश्वर होटेलमा सामान राखेर हतार–हतार समुन्द्रटार बजारकै काकीकाे (श्रेष्ठ खाजा घर)मा खाना खान पुग्यौँ ।
खानापश्चात गाउँपालिका कार्यलयको हलमा (जहाँ हामीले आजको कार्यक्रम संचालन गर्नुपर्ने थियो) त्यहाँ पुग्यौँ । म चाहिँ पानी तताउँदै थिएँ, खबर आयो कि, पालिका उपाध्यक्षज्यू र अध्यक्षज्यूको निजी सचिव भूपेन्द्र केसी हामीलाई भेट्न आउनुभयाे ।
हामी तल रेस्टुरेन्टमा आयौँ र उहाँहरुसँग समसामयिक कार्यक्रम, देशका समसामयिक घटनाहरु, राष्ट्रिय मुद्दाका कुरा, राजनैतिक पार्टीहरुको स्खलन हुने कारण इत्यादि विषयमा कुरा भयो । ठाकुर सरले भन्नूभयो, ‘८४ को मिसनमा तारा म्यामको अवश्य पालो आउँछ । हजुर जतिको मान्छे समुदाय, समाज बुझेको महिला, शिक्षित हजुर ८४ मा हुनैपर्छ है ।’
मैले भने, ‘म कहिले जनप्रतिनिधि हुँदिन ।’ उपाध्यक्षज्यूलाई सोधे, ‘हजुरलाई जनप्रतिनिधिको नाममा तनाव, प्रेसरको पोकाहरु जिम्मा लगाएको जस्तो भा छैन ?’ उहाँ हाँस्नुभयो र मैले थपेँ, ‘त्यही भएर म कहिले जनप्रतिनिधि हुन्न भनेको, फेरि मलाई अहिलेको राजनैतिक माहोल, राजनीति शिक्षण, सिकाइप्रति मेरो चित्त बुझेको छैन । के छ नयाँ पीढीलाई दिन योग्य ? उत्पादनमूलक काम के भएका छन्, र दिगो सोच को योजना के छ ? शब्द र व्यवहार एक दिशामा बग्नुपर्छ । के सम्भव होला ? त्यही भएर म जनप्रतिनिधि बन्ने सोचबाट टाढा छु ।’
उहाँहरुले मेरा कुरामा समर्थन जनाउनुभयो र भोलिपल्ट बिहानै दुप्चेश्वर महादेवको मन्दिर जाने कुरा उपाध्यक्ष भूपेन्द्रज्यूलाई जिम्मा दिनुभयो । बिहान ६ः३० बज्यो । पालिकाको गाडी होटल बाहिर आइसकेको रहेछ । हाम्रो त्यहाँबाट लगभग ७ बजे प्रस्थान भयो । समुद्रटारबाट ३ किमीको दूरीमा अवस्थित दुप्चेश्वर महादेवको मन्दिर जाँदै गर्दा ‘इतिहास कसरी रहन गयो दुप्चेश्वर महादेव ?’ भन्ने प्रशंग उठ्यो ।
यस विषयमा भूपेन्द्र केसी सरले सुनाउनुभयो । ‘आजभन्दा ४०० वर्ष अर्थात ४ शताब्दीअघि बासे तामाङको कैली भन्ने गाई चरनबाटै हराउने गर्दथ्यो । र, बासे तामाङलगायत साथीहरु सूर्यमती खोलामा पौडी खेल्ने गरेको रहेछन् । त्यही क्रममा मध्यान्हमा कैली गाइ जहिले हराउने गर्यो । कैली गाइको बाछी भने गोठालोहरुको नजिक आएर आमालाई खोजेझैँ ग्वाँ–ग्वाँ गर्दथ्यो ।
त्यसपछि कैली गाई कहाँ जाने गरेको रहेछ भनेर पछ्याउँदै पहरामा पुगेर एक शिलालाई दुग्ध अभिषेक गर्दै गरेको भेटियो । त्यसपछि हेर्दाहेर्दै कैली गाई एकैचोटी सूर्यमतीको बगरमा आइपुग्यो । त्यहीबाट दुग्धेश्वर महादेवको रुपमा पूजा गर्न थालियो । दुग्धेश्वर महादेव नै अपभ्रंश भई दुप्चेश्वर महादेवको रुपमा कहलिन पुग्यो ।
तामाङ भाषामा ‘डुप्चे’ भनेको ‘चट्टान’ फूटेर पानीको मूल निस्किनु भनिन्छ र मन्दिर मुनि पानीको मूल पनि बगेको छ । यहाँ सन्तान प्राप्ती र पशु अथवा गाई बस्तुका लागि विशेष मानिने र अहिलेसम्म इच्छाएको पुगेको भनिन्छ । साथै, ‘दुप्चेश्वर महादेवको मन्दिर हुँदै घ्याङफेदी सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड जोडिने सबै भन्दा छोटो बाटो यही हो’ उहाँले भन्नुभयो ।
हामी रामती बजार आइपुग्यौँ । चारैतिर दर्शनार्थीको भीड थियो । बस, सुमो र इलेट्रिक भ्यान पनि थियो । हामी सूर्यमति खोला तरेर पारी गयौँ । गाडीबाट ओर्लेर कति बेला पुगौँ जस्तै भएको थियो । त्यो पहरा देख्दा कति बेला पुगिन्छ जस्तै लाग्यो । तर, हिँडेपछि छिनमै आएको जस्तो लाग्यो ।
त्यहाँको व्यवस्थापन हेर्दा म खुशी भएँ । दर्शनार्थीलाई मध्य नजर गर्दै बनाएको धारा, शौचालय, रेलिङ र माथि छानो ओढाएको सीढीहरु बर्खाको पानीमा पनि दर्शन गर्न सहज वातावरण पाएँ । भूपेन्द्र सरले सहजीकरण गर्दै हुनुहुन्थ्यो । म अनि ठाकुर सर थियौँ साथमा दर्शनार्थीहरु लाइनमा हुनुहुन्थ्यो ।
बल्ल दुप्चेश्ववर महादेवको दर्शन पाइयो । पहरामा एकै शिलामा अवस्थित शिवलिंग रहेछ । गोगन नागजस्तै आकार रहेछ । मन्दिरमा ब्राह्मण पुजारी अनि साथमा बौद्ध धर्मावलम्बीहरुको गुरु लामा पनि पाएँ । यो पनि नौलो थियो मेरो लागि । मलाई लाग्यो, ‘सबै धर्मालम्बीका लागि खुल्ला हुनु नै मन्दिर हो ।’
मेरो जीवनमा यो मेरो पहिलो उदाहरण थियो । एकछिन बसेर नियाल्न मन थियो । तर, ८ बजे समुद्रटारस्थित तालिम हल आइपुग्नु थियो । हामी यति माथि कति छिटो पुग्याैँ भन्दै नियाले । दर्शन गरेर फर्किने क्रममा ओहो माथी पो छ त, यो उर्जा र जोश कसरी आयो ? म फेरि धेरै समयदेखि आराममा थिएँ । तर, मलाई सहजै भयो ।
फर्किदै गर्दा हेरे, सी.सी. क्यामरा जडान गरिएको रहेछ । फ्ल्याक्स प्रिन्टमा बिक्री गरिने सामानहरुको दर लेख्नैपर्ने रहेछ । मेला नजिकै थियो तयारी जोरतोरले हुँदैरहेछ । मंसिरको शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला । त्यही मेलाको तयारी चल्दैथियो ।
दिनभरीको भेटी बेलुकी दुप्चेश्वर क्षेत्र विकास कोषको खातामा जम्मा गरिने रहेछ । धेरै व्यवस्थित पाएँ । जसले स्थानीय सरकारको अनुभूति गरायो । त्यहाँबाट हामी आफ्नो–आफ्नो गाडीतिर लाग्यौँ । ५ फिट अग्लो दुप्चेश्वर महादेवमा सुनौलो, सुन्दर र स्वर्णिम अक्षरमा लेखिएको थियो । हामी सेल्फी लिँदै झर्यौ ।
ठाकुर सरले जेरी खाने भन्नसभयो । खानु मन त बेस्सरी थियो । भूपेन्द्र र ठाकुर सरले जेरी खानुभयो । र, हामीलाई लिन गाडी पनि आयो । हामी समुद्रटारस्थित पालिकाको कार्यलय आइपुग्याैँ । दोस्रो दिनको प्रशिक्षण सक्नुथियो । हामी आफ्नै कर्ममा लाग्याैँ । मंसिर २३ गते तेस्रोदिन समापन थियो । हामी आ–आफ्नो प्रशिक्षण सकेर समापनको तयारीमा थियौँ ।
गाउँपालिकाका अध्यक्ष शंकर ब. थापा, उपाध्यक्ष माकुरी तामाङ, प्रशासकीय प्रमुख कृष्ण देवकोटा र योजना फाँटको म्याम पुष्पा पनेरु, न्यायिक समितिका सदस्य तथा वडा न–२ का अध्यक्ष बीरबल तामाङ, वडा–४ का अध्यक्ष ज्ञानबहादुर तामाङलगायत कार्यपालिका सदस्यहरु राजु नेपाली, दलित महिला सदस्य सुन्तली वि.क., पशु स्वास्थ्य प्राविधिक सूरज के.सी. र तीनदिवसीय तालिमका सहभागी सर-म्यामहरु सबै जनाको उपस्थितिमा समापन गरियो ।
नुवाकोट दरबार भएको मायाको चिनो र प्रशिक्षण प्रमाणपत्र हामीलाई प्राप्त भयो । साथै, अबिर, खदा लगाएर गरिएको सम्मानप्रति सधैँ आभारी रहने छौँ । समापन कार्यक्रम संचालन गाउँपालिका अध्यक्षको सचिवालयबाट भूपेन्द्र केसी सरले गर्नुभएको थियो ।
सबै जनासँग विदा मागेर काठमाडौ फर्किने तयारीमा थियौँ । पालिकाको गाडीमा काठमाडौँसम्मको यात्रा तयभयो । साथमा प्रशासकीय अधिकृत कृष्ण देवकोटा पनि हुनुहुन्थ्यो । उहाँसँग स्थानीय बाली, तरकारी, फलफूल, व्यवसायबारे छलफल गर्दै आइपुग्यौँ गन्तव्यमा । उक्त सम्मान, सद्भाव र न्यानोमायाका लागि गाउँपालिका र उपरलिखित सम्पूर्ण मान्यजनहरुप्रति हार्दिक आभारी छौँ ।