Logo
Logo

‘देश नै एकताबद्ध भएर भूमि फिर्ता ल्याउनुपर्छ’


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३२ जेठ । राजनीति दलका नेता तथा सांसदहरुले भूमि फिर्ता गर्न एक जुट भएर अगाडि बढ्ने संकल्प गरेका छन् । आइतबार राष्ट्रियसभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि प्रस्तुत गरेको प्रस्तावमाथि छलफलका क्रममा यस्तो संकल्प गरेका हुन् । बैठकमा सो प्रस्ताव माथिको सैद्धान्ति छलफल जारी रहेको छ ।
आइतबार बैठकमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डा बेदुराम भुसालले प्रस्तावको समर्थन गर्दै एकताबद्ध भएर विधेयक पारित गरी भूमि फिर्ता गर्न सिंगो देश एक भइ लाग्नुपर्ने बताए । नेपाली काँग्रेसका अनिता देवकोटाले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नक्सामा समावेश भइसकेको हुँदा अब एकताबद्ध भएर भूमि फिर्ता ल्याउनुपर्ने बताए । उनले सो प्रस्तावको समर्थन गरेका छन् ।
नेकपाका देवेन्द्र दाहालले देशको सार्वभौमसत्ता रक्षाका लागि राष्ट्रिय एकता शनिबारको प्रतिनिधिसभाको बैठकबाट देखिएको बताए । सोही पार्टीका ठगेन्द्रप्रकाश पुरीले नेपालको अतिक्रमित भूमि फिर्ता ल्याउन वर्तमान सरकारले चालेको कदमको स्वागत गर्दै अब गुमेको भूमि कूटनीतिक वार्तामार्फत फिर्ता ल्याउनुपर्ने धारणा राखेका थिए ।
नेपाली काँग्रेसका जीतेन्द्रनारायण देवले नेपालको सम्पूर्ण भूभागको नक्सा सार्वजनिक भएर सरकारले ल्याएको विधेयकको स्वागत गर्दै भूमि फिर्ता ल्याउनका लागि सबै लाग्न आग्रह गरे । बैठकमा नेकपाका दीलकुमारी रावलले नेपालको भूमिमाथि बेलाबेलामा अतिक्रमण गर्ने गरेको हुँदा अबको नक्साअनुसार भूमि फिर्ता ल्याउन एकजुट भइ अगाडि बढ्नुपर्ने बताइन् ।
यस्तै, सांसद कोमल वलीले नेपालको राष्ट्रिय एकताका सन्दर्भमा गरिब भएर बाँच्लान् तर आफ्नो भूमि गुमेको देख्न सक्दैनन् र गुमेको भूमि एकताबद्ध भएर लिनेछन् भन्ने राष्ट्रिय सङ्कल्प देखिएको बताइन् भने जगप्रसाद शर्मा र भैरवसुन्दर श्रेष्ठले नेपालको भूमि फिर्ता हुने विश्वास व्यक्त गरे ।
राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमार सिंह यादवले नक्सा पाउनु महत्वपूर्ण उपलब्धि भएको र भूमिको भोग गर्न पनि छिट्टै पाउनुपर्नेमा जोड दिए ।
नेकपाका रामनारायण बिडारीले एउटा नेपाली नागरिकले गर्नुपर्ने भूमिका अहिले आएको उल्लेख गर्दै भक्ति थापा तथा अमरसिंह थापाले जोगाएको भूमिलाई फिर्ता ल्याउनैपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्