काठमाडौं । नेतृत्व चयनमा विवाद हुँदा स्थगित भएको नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)को २३औं राष्ट्रिय सम्मेलनपछि पार्टीले उमेरहद लगाएर समाधान गर्ने निर्णय गरेको थियो । तर, ३२ वर्षे उमेरहदमा संगठनका पुराना नेताहरु सहमत नभएपछि निर्वाचन प्रक्रियामार्फत टुंगो लगाउन प्रयत्न गर्दासमेत आफ्नो पक्षमा मत नआउँदा एक पक्षले अस्वीकार गरेको छ ।
शनिबार मध्यराती मतगणना भइरहँदा उमेरहदको पक्ष र विपक्षमा देशभर गरिएको मतदानमा उमेरहद कायम गर्नुपर्ने पक्षमा परिणाम आएपछि अर्को पक्षले विवाद सिर्जना गरी मतपरिणाम समेत सार्वजनिक गर्न दिएनन् । यसले उमेर हदको कारणले बाहिरिन लागेका विद्यार्थी नेताहरुको स्वार्थले अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा थप अन्योलता छाएको छ ।
देशभरबाट आएको जम्मा मतपरिणामअनुसार उमेरहद कायम गर्नुपर्ने पक्षमा ९१७ मत आएको छ भने त्यसको विपक्षमा ८८४ मत आएको थियो । उमेरहद कायम गनुपर्ने पक्षमा ३३ मत बढी आउँदा पनि त्यसलाई अर्को पक्षले अस्वीकार गर्दा मत परिणाम सार्वजनिक हुन सकेको छैन ।
अखिल (क्रान्तिकारी)कै निवर्तमान पदाधिकारी तहमा रहेका नेताहरुले उमेर हद कायम गरे विद्यार्थी संगठन बिदा लिनुपर्ने स्थिति निम्तिएपछि मत परिणाम सार्वजनिक गर्न नदिएको बताइएको छ ।
उनीहरु पार्टीका नेताहरुको आड र उक्साहटमा अधिकांश आकांक्षीमा उमेर हदको दायराले निर्वाचन लड्न नपाउने भयले मत परिणाम समेत स्वीकार नगर्ने पक्षमा देखिएका छन् । अन्तिम समयमा उमेर हद लगाउनेको पक्षमा मतपरिणाम आएपछि अर्को पक्षले अस्वीकार गर्दा मत परिणाम सार्वजनिक हुन नसकेको हो ।
अखिल(क्रान्तिकारी)का एक विद्यार्थी नेताका अनुसार कलेज नै नभएका स्थानबाट उमेर हदको विपक्षीमा रहेका नेताहरुले प्रतिनिधि छनोट गरेका थिए । चौतर्फी धाँधली गर्दा पनि अन्तिम मतपरिणाम भने उमेरहदकै पक्षमा देखिएपछि त्यसलाई भाँड्न लागिएको ती विद्यार्थी नेता बताउँछन् ।
अखिल (क्रान्तिकारी)को आन्तरिक निर्वाचनका लागि तोकिएका प्रमुख निर्वाचन अधिकृत मुक्ति प्रधानले भूगोल र गैरभूगोलका जिल्लाहरुबाट निर्वाचनका कागजात प्राप्त भइनसकेकोले मत परिणाम सार्वजनिक नगरिएको जनाएका छन् ।
उनले जिल्लाबाट कागजात प्राप्त भएपछि मत परिणाम घोषणा गर्ने बताए पनि उमेरहदको विपक्षमा लागेकाहरुले आफ्नो विरुद्धमा मत परिणाम बाहिरिसके पछि त्यसलाई सार्वजनिक गर्न नदिने प्रपञ्चले औपचारिक रुपमा घोषणा हुन नसकेको हो ।
गत असोजमा आयोजित २३ औं राष्ट्रिय सम्मेलनमा पार्टीमा व्याप्त गुटको लडाइँ र त्यसको प्रभावले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेर स्थगित भएको थियो । अखिल (क्रान्तिकारी)ले आन्तरिक निर्वाचनमार्फत नै उमेर हदको टुंगो लगाउने प्रयत्न गरे पनि मतपरिणाम आफ्नो पक्षमा नआउँदा अर्को पक्षले धाँधली गरी त्यसलाई सफल हुन दिएनन् ।