कैलाली । कैलालीमा जालपादेवी केबलकार निर्माण गरिने भएको छ । आइएमई ग्रुपले निर्माण गर्ने उक्त केवलकारको शनिबार परराष्ट्रमन्त्री आरजु राणा देउवाले शिलान्यास गरेकी छन् ।
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ चिसापानीदेखि कैलालीकै मोहन्याल गाउँपालिका वडा नम्बर ७ राजकाँडासम्म जोड्न ३.१ किमी दुरीको केबलकार निर्माण गर्न लागिएको हो ।
सुदूरपश्चिम प्रदेशमा पर्यटन विकासका लागि पूर्वाधार बन्न लागेको भन्दै परराष्ट्रमन्त्री राणाले खुसी व्यक्त गरेकी छन् । आइएमई ग्रुपका अनुसार यो केबलकारमा ३४ वटा गोन्डोला हुनेछ । यस केवलकार पाँच अर्ब रुपैयाँको लगानीमा निर्माण गर्न लागिएको हो ।
आईएमई गु्रप तथा जालपादेवी केबलकारका अध्यक्ष चन्द्र ढकालले पर्यटक बढाउनका लागि पर्यटन क्षेत्र तथा पूर्वाधारमा लगानी वृद्धि गरिनुपर्ने बताए । कार्यक्रममा वनमन्त्री ऐनबहादुर शाही, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायत उपस्थित थिए ।