काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ लक्षित गर्दै अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको बताएका छन् ।
आइतबार नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको जनसभामा बोल्दै ओलीले भने, ‘अर्काको काँधमा चढेर म्याजिक नम्बर भन्दै धक्कु लगाउँदै मनपरितन्त्र चलाउने दिन गए । त्यो दिन जानुपर्छ भनेर नै नेकपा एमाले र नेपाली कांग्रेसले मिलेर अहिलेको समीकरण बनाएको हो ।’
उनले कांग्रेससँग बनेको सरकार गठबन्धन नभइ समीकरण भएको बताए । एमाले र अहिलेकै समीकरणले देश विकास गर्ने र विकासको नेतृत्व एमालेले नै गर्ने उनले बताए ।