काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपचाररत क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
आइतबार साँझ प्रचण्ड त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर महासचिव वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । वैद्यको सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसीयुमा उपचार भइरहेको छ ।
प्रचण्डले उपचारमा संलग्न चिकित्सकहरूले उनको छातीमा सङ्क्रमण र दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने बताएका थिए ।
सो क्रममा महासचिव वैद्यले क्याविनको भन्दा आइसीयुमा सारेपछि केही सहजता महसुस भएको अध्यक्ष प्रचण्डलाई जानकारी गराए । अध्यक्ष प्रचण्डले किरणको स्वास्थ्यमा सुधार पाएको उल्लेख गर्दै थप स्वास्थ्य लाभको कामना गरे ।