Logo
Logo

अखिल क्रान्तिकारीको नेतृत्व दोस्रो पुस्तामा, को-को छन् अध्यक्षका दाबेदार ?


8.6k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको नेतृत्वमा नयाँ अनुहार आउने भएका छन् ।

३२ वर्षे उमेरहद लगाउने कि खुला गर्ने भन्ने विवाद अन्त्य गर्न शनिबार भएको निर्वाचनबाट उमेरहद लगाउनुपर्ने पक्षधर विजयी भएपछि नेतृत्वमा नयाँ अनुहार आउने पक्का भएको हो ।

निर्वाचनमा कुल २३९८ मतदातामध्ये १७७९ जनाले मत खसालेका थिए । जसमा ३२ वर्ष उमेरहद लागु गर्नुपर्छ भन्ने पक्षमा ९०० मत परेको थियो भने विपक्षमा ८७९ मत परेको थियो । उमेरहदका पक्षधर २१ मतले विजयी भएपछि निवर्तमान कार्यसमितिका दुई तिहाइभन्दा बढी पदाधिकारी बिदा हुने देखिन्छ ।

उमेरहद लागू हुने भएपछि अध्यक्षको दावी गर्दै आएका जीपी मैनाली, दीपेश पुन, मदन भुल, इन्द्र भुसाल, पवन कार्की, केशव रावल, नरेश रेग्मी, क्षितिज सापकोटालगायतको ठूलो पङ्क्ति माओवादीको विद्यार्थी राजनीतिबाट एकसाथ बाहिरिने भएको छ ।

दिपेश पुन अध्यक्ष हुनकै लागि उपाध्यक्षबाट महासचिवमा झरेका थिए । संगठनबाट बिदा हुँदा अध्यक्ष हुन नपाइने डरले उनी महासचिवमा घटुवा भएर बसेका थिए ।

अर्का दावेदार पवन कार्कीले पनि अध्यक्ष हुन नपाएको झोँकमा समानान्तर कमिटी नै चलाएका थिए । संगठनलाई समानान्तर चलाएर कार्कीले देशव्यापि अभियान चलाएका थिए । रेग्मी, सापकोटा र मैनालीहरूले भने विद्यार्थी जीवनभन्दा पनि व्यवसायिक जीवन सुरु गरिसकेका थिए ।

अब अखिल क्रान्तिकारीको नेतृत्व दोस्रो पुस्ताका विद्यार्थी नेताहरूमा झर्ने भएपछि अहिलेका १ सय ९३ जना विद्यार्थी नेताहरू बिदा हुने बताइएको छ ।

अब विद्यार्थीको अध्यक्षका लागि विराज थापा, रोशन थापा मगर, प्रतीक कार्की, उपदेश यादव, विष्णु ढुङ्गेल, हेमन्त राई, प्रविना अधिकारी, तिर्सना हमाल अध्यक्षका दाबेदार छन् । ३२ वर्षे उमेरहद लाग्दा देवकी कार्की, दीपा जैसीलगायत उपाध्यक्षका दाबेदार रहेका छन् ।

असोज १० देखि १५ सम्म त्रिभुवन विश्वविद्यालयस्थित स्मृति हलमा भएको २३ औँ राष्ट्रिय सम्मेलनमा उमेरहद लगाउने कि नलगाउने भन्ने विषयमा विवाद हुँदा स्थगित भएको थियो । त्यतिबेला १० वटा समूहगत छलफलबाट आएका निष्कर्षको आधारमा २८, ३० र ३२ वर्षे उमेरहद राख्नुपर्ने सुझाव आएको थियो ।

विवाद समाधानका लागि पुस ९ गते माओवादीको मुख्यालयमा बसेको निवर्तमान अध्यक्ष पञ्चा सिंह, संगठन इन्चार्ज हिमाल शर्मा, प्रमुख निर्वाचन अधिकृत मुक्ति प्रधान लगायतको संयुक्त बैठकले ३२ वर्ष उमेरहद लगाउने सहमति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्