काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
आज सामाजिक सञ्जालमार्फत नोबेल पुरस्कारबाट विभूषित कार्टरको निधनप्रति प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले कार्टरले परोपकार, मानव अधिकार र शान्तिका क्षेत्रमा पुर्याउनुभएको योगदानको स्मरण गरेका छन् । साथै प्रधानमन्त्री ओलीले कार्टरका परिवार र अमेरिकी नागरिकप्रति समवेदना समेत प्रकट गरेका छन् ।
अमेरिकाका ३९औँ राष्ट्रपति कार्टरको एक सय वर्षको उमेरमा आइतबार जर्जियाको सानो शहर प्लेन्समा रहेको आफ्नै घरमा निधन भएको हो । उनका श्रीमति रोजालिनको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो ।
आफ्नो ८० को दशकमा कूटनीतिक मिसनहरू सञ्चालन गर्नुभएका कार्टरले ९० को दशकमा गरिबहरूका लागि घरहरू निर्माण गरेका थिए । पूर्वराष्ट्रपति कार्टरले नेपालमा पहिलो पटक भएको संविधानसभा निर्वाचनको पर्यवेक्षणका लागि नेपाल भ्रमण गरेका थिए ।