Logo
Logo

भ्रष्टाचारको नयाँ ‘मोडेल’ : छोराको विहे भोज रकम घुसमा मिलान


8k
Shares

काठमाडौं । काठमाडौँको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध आइतबार भ्रष्टाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा मुद्दा चलायो ।

मेयर बस्नेतले पदीय दुरूपयोग गर्दै घुस र घुसबापतको रकमलाई शुद्धीकरण गरेको अभियोगसहित छुट्टाछुट्टै सजाय मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । जग्गाधनीहरूलाई गफलतमा पारेर जग्गा व्यवसायीको स्वार्थमा काम गरेको दाबी अख्तियारको छ । बस्नेत २०७४ र २०७९ गरी दुई पटकस्थानीय तह निर्वाचनमा कांग्रेसबाट मेयरमा विजयी भएका थिए । मेयर कँडेल पद्मा कोलोनी प्रालि र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक समेत हुन् ।

घरजग्गा कारोबारका क्रममा मेयर बस्नेतले घरजग्गा कारोबारी राजुप्रसाद कँडेलबाट घुस लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । जग्गा दलालका रुपमा समेत चिनिने कँडेलबाट लिएको घुसलाई शुद्धीकरण गरी बस्नेतले अन्यत्रै लगानी गरेको समेत छानविनबाट पुष्टी भएको छ ।

उनी मिडिया उद्दमीका रुपमा समेत चिनिन्छन् । घुसलाई शुद्धीकरण गर्ने कार्यमा मेयर बस्नेतकी पत्नी उर्मिला बस्नेतलाई पनि मेयर बस्नेत सरह नै सजाय गर्न अख्तियारले मागदाबी लिएको छ । घुस खुवाउने कार्यमा संलग्न कँडेललाई पनि अख्तियारले घुसबापतको रकमलाई बिगो कायम गरी कैद र जरिवानाको सजाय माग गरेको छ ।

मेयर बस्नेतले घुस लिने मनसायले जगतगुरु कृपालु प्रतिष्ठान नेपाललाई नगरपालिकाबाट विभिन्न शीर्षकमा कर छुट र विदेशी सहायता ७ अर्ब ४८ करोड प्राप्त गर्न सहमति दिएको तथ्य समेत फेला परेको छ । बस्नेतले प्रमुख प्रशासकीय अधिकृतबाट हुने पत्राचारसमेत आफ्नै दस्तखतबाट गर्ने गरेका छन् ।
यतिले मात्र नपुगेर आफ्ना छोराको बिहेभोज पनि घुसमै गरेको पाइएको छ । लाजिम्पाटको शंकर होटलमा छोराको बिहेभोज दिँदा उनै घरजग्गा कारोबारी कँडेलले रकम चुक्ता गरिदिएको हिसावको फेहरिस्त अख्तियारले भेट्टाएको छ । मेयरका छोराको बिहेभोजमा लागेको खर्च २४ लाख ७२ हजार ६३७ रूपैयाँ कँडेलको नामबाट चुक्ता भएको छ । उक्त रकम कँडेलले घुसवापत भुक्तान गरेका हुन् ।

कँडेलको स्वार्थमा काम गरिदिएवापत् कुल दुई करोड १५ लाख ७३ हजार ३९५ रूपैयाँ बैंक खातामार्फत् नगद घुस प्राप्त भएको लिएको पाइएको छ । बस्नेतले ६ करोड ८२ लाख मूल्य बराबरको जग्गा पनि कँडेलबाट हात पारेका छन् । अख्तियारले होटलमा तिरेको बिहेभोजको रकम, बैंकमा पठाइदिएको पैसा र जग्गाको मूल्य जोडेर ९ करोड २२ लाख ४६ हजार रूपैयाँ मेयर बस्नेतले भ्रष्टाचार गरेको हिसाब अख्तियारले खुलाएको छ ।

बस्नेत, उनकी पत्नी उर्मीला र कँडेलमाथि थप १३ करोड रूपैयाँ बराबरको विगोदाबी गर्दै सम्पत्ति शुद्धीकरण मुद्दा समेत दायर भएको हो । भ्रष्टाचार मुद्दा दायर भएसँगै बस्नेत पदबाट स्वतः निलम्बन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्