काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरूको एउटै उद्घोष छ- ०८४ मा पहिलो पार्टी बन्ने । तर, ती आधारहरू के–के हुन् र कसरी बने ? यसबारे भने अन्यौलता कायमै छ ।
गत मङ्सिर १६ गते स्थानीय तहको उपनिर्वाचन भएको थियो । जसमा माओवादीको नतिजा सोचेभन्दा धेरै राम्रो आयो । सत्ताको बागडोर सम्हालिरहेको नेकपा एमालेलाई उछिन्दै माओवादी दोस्रो बन्यो । ४१ ठाउँमा भएको उपनिर्वाचनमा माओवादीले एक गाउँपालिकाको अध्यक्ष, दुई गाउँपालिकाको उपाध्यक्ष, एक नगरपालिकाको उपमेयर र ७ वटा वडा जित हात पार्यो ।
उक्त नतिजाले हौसिएका माओवादी आगामी निर्वाचनमा पहिलो दल बन्ने दाउमा छ । त्यसैले माओवादीका नेताहरूले ८४ मा पहिलो दल बन्ने उद्घोष गर्दै आएका छन् ।
शनिवार कञ्चनपुरको पुनर्वासमा माओवादीले आयोजना गरेको खबरदारी तथा पार्टी एकता समायोजनसभालाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गरे ।
उनले भने, ‘म तपाईंहरुलाई भन्न चाहन्छु, गिरीबन्धुको फाइल खुल्नेछ । त्यसलाई लुकाउन दिइनेछैन । ओम्नीमा भएको भ्रष्टाचार छोडिनेछैन । वाइडबडीको भ्रष्टाचार छोडिनेछैन । यो सबैको निम्ति माओवादीलाई पहिलो बनाउनुपर्छ । हेर्नुहोला, अर्को पटक माओवादी बलियो भयो भने सुशासनको नयाँ युग सुरु हुनेछ । भ्रष्टाचारीलाई लखेट्ने प्रक्रिया सुरु हुनेछ । यो विश्वास तपाईंहरुलाई दिलाउँछु ।’
सोमबार झापा पुगेर पनि प्रचण्डले सोही कुरा दोहोर्याए । उनले भने– ‘८४ लाई ६४ जस्तै बनाएपछि देशमा भ्रष्टाचारको जरा उखाल्ने म तपाईँहरूको अगाडी प्रतिबद्धता गर्न चाहन्छु । एउटा नयाँ युगको तपाईँ हामीले सपना देखेको हो जनयुद्ध र जनआन्दोलनको बेलामा त्यो नयाँ युगको सम्पूर्ण तागत नेपाल र नेपाली जनताको पक्षमा लगाउने प्रतिज्ञा म गर्न चाहन्छु ’
साथै गिरिबन्धु, यति, ओम्नी, वाइडबडी घोटालाको फाइल खोलेरै छाड्ने दाबी पनि गरे । उनले भने– ‘मलाई जबरजस्ती तानाशाही तरिकाले प्रधानमन्त्रीबाट हटाइएको छ । गिरिबन्धु, यति, ओम्नी, वाइडबडी घोटालाको फाइल खोलेर नै छाड्छु भनेको छु । मेरो सुई गिरिबन्धुतिर जाँदै थियो । त्यहाँ जाने भनेको ओलीतिर जाने भनेको हो । बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर पनि सोझियो । त्यही भएर आतंक भएको हो तपाईँले ढुक्कसँग बुझे हुन्छ । फाइल खोलेरै छाडिन्छ ।’
अध्यक्ष प्रचण्डले मात्रै होइन, अन्य नेताहरू पनि आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने दाबी गरे । आइतबार प्युठानको माओवादी केन्द्र स्वर्गद्वारी नगरपालिकाको तेस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै उपमहासचिव वर्षमान पुनले जनताका मुद्दा बोकेर माओवादी सुध्रिने हो भने आगामी चुनावमा पहिलो पार्टी बन्ने दाबी गरेका थिए ।
उपनिर्वाचनमा जनमतको हिसाबले माओवादी दोस्रो र प्रमुख, उपप्रमुख विजयी भएको हिसाबले पहिलो दल भएको उल्लेख गर्दै उनले आगामी चुनावमा माओवादी एक्लै लड्ने पनि बताए ।
माओवादीका नेताहरूले यसरी आगामी निर्वाचनमा बारम्बार पहिलो पार्टी हुने दाबी गरिरहे पनि माओवादी निरन्तर ओरालो लाग्दै आएको छ । गत निर्वाचनमा ११.३ प्रतिशत भोट र जम्मा ३२ सिट पाएको तेस्रो पार्टी ४ वर्षभित्र आश्चर्यजनक उन्नति गर्दै पहिलो ठूलो बन्ला त ?
विगत तीन चुनावयता माओवादी निरन्तर घट्दोक्रममा छ । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीले २९.२८ प्रतिशत मत प्राप्त गरेको थियो । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा १५.२१ प्रतिशतमा झ¥यो । नयाँ संविधान निर्माणपछि २०७४ को पहिलो संसदीय निर्वाचनमा १३.६६ प्रतिशत मत पाएको थियो ।
यो क्रम जारी रहेमा माओवादी केन्द्रको लोकप्रिय मत अगामी निर्वाचनमा २–५ प्रतिशतले घटेर १० प्रतिशतभन्दा कम हुन सक्दछ । यसको सिधा अर्थ हो, सामान्य र नियमित प्रक्रियाबाट माओवादी पहिलो ठूलो पार्टी हुने सम्भावना छैन । असाधारण परिणामका लागि असाधारण प्रयत्न र पहलकदमी नै चाहिन्छ ।
नियमित संसदीय प्रक्रियाबाट २०६४ सालमा माओवादी पहिलो ठूलो पार्टी हुन सम्भव थिएन । जनयुद्ध, जनआन्दोलन २०६२–०६३ बिचका असाधारण प्रयत्न र पहलकदमी थिए, जसले २०४८ सालमा ५औँ स्थानमा रहेको पार्टीलाई २०६४ मा पहिलो स्थानमा ल्यायो ।
के माओवादीले त्यस्तै कुनै नयाँ र असाधारण पहलकदमी लिँदै छ, जसले उसलाई आगामी निर्वाचनमा पहिलो ठूलो पार्टी बनाउला ? यसबीच पार्टीले कुनै ठूलो जनआन्दोलन वा जनविद्रोहको नेतृत्व गर्न सक्दैन । सरकारको नेतृत्वको लाभार्थीसमेत माओवादी हुन पाउने छैन ।
त्यसोभए कसरी पहिलो ठूलो पार्टी बन्छ ? दोस्रो ठूलो पार्टी भए त्यस्तो दाबी स्वाभाविक हुन सक्दथ्यो । संसदीय लोकतन्त्रमा नियमित र साधारण प्रक्रियाबाट दोस्रो पार्टी पहिलो बन्ने सम्भावना हुन्छ । रास्वपा, नागरिक उन्मुक्ति र जनमत पार्टीजस्तो नयाँ र उदीयमान पार्टी पनि हैन, माओवादी ।
गत आम निर्वाचनमा माओवादीलेले प्राप्त गरेको भोट र सिट दुवै एमाले र नेपाली कांग्रेसभन्दा आधा कम छ । साधारण र नियमित प्रक्रियाबाट हेर्दा कांग्रेस–एमालेले नै पहिलो र दोस्रो स्थान ओगट्न सक्नेछन् ।
राजनीतिक दलले आफ्नो पार्टी पङ्क्ति, कार्यकर्ता, सदस्य र समर्थकलाई उत्साहित गर्न राजनीतिक औपचारिकता र आन्तरिक खपतका लागि यस्तो दाबी गर्न सक्दछ । संसारको कुनै पनि राजनीतिक दलले आगामी निर्वाचनमा हामी हार्दै छौँ भन्दैन । यस अर्थमा माओवादीको दाबी अस्वाभाविक हैन ।
जनयुद्धका सहभागीको सहानुभूति र गणतन्त्र स्थापनामा गरेको योगदानबाहेक माओवादीसँग गतिलो र गौरवयोग्य इतिहास वा विरासत छैन । इतिहासको विरासत र विचारको आकर्षणले माओवादी पहिलो ठूलो पार्टी हुने सम्भावना छैन । मुद्दाबाट हेर्दा पहिचानमा आधारित सङ्घीयता हिजो माओवादी पार्टी शक्तिको एक महत्त्वपूर्ण आधार थियो । आज मधेसी र जनजाति मत माओवादीतिर आकर्षित हुन त्यति सहज छैन ।