Logo
Logo

अदालतमा रवि–छवि आमुन्नेसामुन्ने


16.9k
Shares

काठमाडौं । कास्की जिल्ला अदालतमा सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको बयान चलिरहँदा छविलाल जोशीको बयानले रविलाई अप्ठेरोमा पारेको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित तीन जनाको बयान सकिँदा सबैले जीबी राईलाई दोष दिए पनि छविलाल जोशीले भने रविलाई पनि मुछेपछि अप्ठेरो परेको हो ।

रवि, छवि र नेटवर्ककै अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईकी प्रेमिका भनिएकी लीला पछाईको बयान सकिँदा सबैले जीबीलाई आरोप लगाए पनि छविले रवि र जीबी दुवै मिलेर टिभी खोलेको र यो विषय रविलाई थाहा भएको बयान दिएका छन् ।

छविले भने रविको नाम लिँदै उनी र जीबी मिलेर सहकारीको रकम गोरखा मिडियामा ल्याउने योजना बनाएको बताएर रविलाई अप्ठेरो पारेको भन्दै रास्वपाका नेताहरू आपसमा गुनासो गरिरहेका छन् ।

यता, रविले जीबी र छविलाई दोष लगाइरहँदा छविले रविलाई नछाडेका हुन् । छविले बयानमा गोरखा मिडिया नेटवर्कको बैंक खातामा रकम जुटाउने कार्य जीबीले गर्ने गरेको र बैंकमा मौज्दात रहेको रकम खर्च गर्ने काम रविले गरेको बयान दिएका छन् ।

रविले छविको बयानलाई स्विकार्दै आफूले संस्थाको निर्णयअनुसार चेक काटेर भुक्तानी गर्ने गरेको स्वीकार गरेका छन् । तर, सहकारीको रकम ल्याइएको विषय छविलाई थाहा हुनुपर्ने भनेर रवि पन्छिएपछि छविले रवि र जीबीको मिलेमतो रहेको बयान दिएका थिए । जीबी राईकी प्रेमिका भनिएकी लीलाले आफूलाई जीबीले भने गराएअनुसारको काम गरेको बयान अदालतमा दिएकी छिन् ।

कास्की जिल्ला अदालतमा न्यायाधीश नितिज राईको इजलासमा धमाधम बयान भइरहेको छ । आइतबार प्रतिवादीहरू रामबहादुर खनाल, देवकुमार नेपाली, ओमप्रकाश गुरुङ र कृष्णबहादुर गुरुङको बयान थियो । आइतबार बयान दिएका रामबहादुर खनालले पनि जीबी राईकै नाम लिएका थिए । सरकारी वकिल कार्यालयका अनुसार यो साताभित्रै नियन्त्रणमा परेका सबै प्रतिवादीको बयान सकाएर थुनछेक बहस शुरू हुनेछ ।

अदालतमा रवि र छविको बयान बाँझिएपछि रविका समर्थहरू अहिले अत्तालिएका छन् । सरकारी वकिल कार्यालयले ४४ जनालाई प्रतिवादी बनाएको छ । जसमा सम्पत्ति जफततर्फ छविकै श्रीमती पद्मा बञ्जाडे जोशी, छविका छोरा रोचक जोशी, रामबहादुरकी श्रीमती राधा पछाई र रविकी श्रीमती निकिता पैडेललाई प्रतिवादी बनाइएको छ । प्रतिवादीहरूले १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा रकम अपचलन गरेको आरोप छ ।

उनीहरूले आफूहरूले व्यक्तिगत लगानीसमेत नगरी सहकारी संस्थाको रकम अपचलन गरेर संस्थालाई हानी नोक्सानी गराएको देखिन्छ । कास्की जिल्ला अदालतमा थुनछेक बहस भएसँगै रविलाई थुनामा नपठाई धरौटीमा छाडेको अवस्थामा तत्कालै त्यहाँबाट मुद्दा अभियोजनका लागि रुपन्देही अदालतमा पेस गर्ने तयारी भैरहेको छ ।

सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगेर अपचलन गरेको आरोप प्रतिवादीहरूलाई लागेको हो । गोरखा मिडियामा सूर्यदर्शनसँगै, कालिमाटीको स्वर्णलक्ष्मी, चितवनको सहारा, पर्साको सानोपाइला र रुपन्देहीको सुप्रिम सहकारीको रकम लगेर अपचलन गरेको आरोप प्रतिवादीहरूमाथि छ । सरकारी वकिलको कार्यालयले गत आइतबार रविसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । जसमध्ये ८ वटा कम्पनी र पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो। अन्यविरूद्ध सहकारी र सङ्गठित अपराधमा मुद्दा दायर भएको छ ।

सम्पत्ति शुद्धीकरणमा रवि, पूर्वडिआइजी छवि, उनका साझेदार रामबहादुर खनाल, लीला पछाई र जीवी राईविरूद्ध मुद्दा दायर भएको हो । जीवी फरार छन् भने अन्य चारै जना प्रहरी हिरासतमा छन् । रविविरुद्ध चारवटा कसुरमा छुट्टाछुट्टै सजायको माग गरी मुद्दा दायर भएको छ । सहकारी ऐन २०७४, सङ्गठित अपराध निवारण ऐन, २०७०, सम्पत्ति शुद्धीकरण ऐन, २०६४ र मुलुकी अपराध संहिता २०७४ को एकीकृत कसुर अनुसारको सजाय माग गर्दै मुद्दा दायर गरेको हो ।

रविविरूद्ध सुर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलन गरेको पहिलो कसुरमा आरोप दायर भएको छ । यसमा रविको मात्रै तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरेको छ । यस कसुर अनुसार एक करोड भन्दा बढी १० करोड रुपैयाँसम्म बिगो भएमा चार वर्षदेखि ६ वर्षसम्म कैद सजायको माग सरकारी वकिलले गरेको छ । रविविरूद्ध अर्को कसुर सङ्गठित अपराधको छ । सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ३ अनुसार कसुर गरेको आरोप रविमाथि छ ।

प्रतिक्रिया दिनुहोस्