Logo
Logo

बिआरआई परियोजना समयमै कार्यान्वयन गरिनुपर्नेमा जोड


1.2k
Shares

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेता एवं विज्ञहरुले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजना नेपाल र चीनको बृहत्तर हित र आर्थिक विकासका दृष्टिकोणले महत्त्वपूर्ण भएको बताएका छन् ।

बिआरआईले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै मुलुकको आर्थिक विकास र क्षेत्रीय साझेदारितालाई फराकिलो बनाउने उनीहरुको विश्वास छ । साथै बिआरआईबारेका भ्रम चिर्दै कार्यान्वयनतर्फ लैजानु उपयुक्त हुने विज्ञहरुको सुझाव छ ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन फर डेमोक्रेसी पिस एन्ड डेभलपमेन्ट, मदन भण्डारी फाउन्डेसन र नेपाल–चाइना फ्रेन्डसिप फोरमले संयुक्तरुपमा यहाँ आयोजना गरेको ‘एडभान्सिङ नेपाल–चाइना कोअपरेसन आफ्टर द प्राइमिनिस्टर्स भिजिट टु चाइना’ विषयक अन्तक्र्रियामा पूर्वपरराष्ट्रमन्त्री एवं गिरिजाप्रसाद कोइराला फाउण्डेसनका अध्यक्ष सुजाता कोइरालाले बिआरआई सम्झौता दुवै देशको हितमा रहेकाले समयमै कार्यान्वयन गरिनुपर्नेमा जोड दिए । उनले बिआरआई सम्झौताले नेपालको आर्थिक विकास, पूर्वाधार, शिक्षा, सञ्चारलगायत क्षेत्रमा सहयोग पुग्ने बताए ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले बिआरआई सम्झौता राष्ट्रिय पार्टीहरुको साझा सहमतिका आधारमा गरिएको बताउँदै यी परियोजनाको समयमै कार्यान्वयन गरिनुपर्ने उल्लेख गरे । उनले बिआरआईमार्फत मुलुकको विकास र कूटनीतिक सम्बन्धलाई बलियो बनाउन मद्दत पुग्ने धारणा राखे ।

नेपालका लागि चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ छिनलेले बिआरआईलाई अनावश्यक प्रोपोगाण्डाको रुपमा ल्याइन नहुने धारणा राखे । नेपालले अरु देशहरुसँग जसरी सहयोग आदानप्रदान गरेको छ सोहीअनुरुप लिइदिन उनले अनुरोध गरे ।

कार्यक्रममा सिचुवान विश्वविद्यालयका भाइस डिन हुयान युन्सङ्घले बिआरआई क्षेत्रीय हित र प्रवर्द्धनलाई ध्यान दिइ ल्याइएको बताए । बिआरआई परियोजनामार्फत गैरनाफामूलक लगानी गर्ने भनिएको छ । यो कार्यान्वयनपछि नेपालको जनताको जीवनस्तरमा उल्लेख्य सुधार आउने विज्ञहरुको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्