Logo
Logo

झापाबाट ओलीलाई प्रचण्डको सन्देश- गिरीबन्धुमा जेल जाने अवस्था आउन सक्छ !


6.3k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार झापा पुगे । जुन प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला हो ।

प्रचण्ड गौरीगंजमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्न झापा पुगेका हुन् । प्रधानमन्त्री ओलीको गृहजिल्ला पुगेका प्रचण्डले ओलीलाई गिरीबन्धु टी स्टेट प्रकरणमा जेल जाने अवस्था आउन सक्ने सन्देश दिए ।

खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओली नै जोडिएका गिरिबन्धु जग्गा प्रकरणको फाइल खोलेरै छाड्ने उद्घोष गरे । त्यति मात्रै होइन, एमाले नेताहरू जोडिएका यति, ओम्नी, वाइडबडी लगायतका फाइल खोल्ने प्रतिबद्धता जनाए ।

उनले भने– ‘मलाई जबरजस्ती तानासाही तरिकाले प्रधानमन्त्रीबाट हटाइएको छ । गिरिबन्धु, यति, ओम्नी, वाइडबडी घोटालाको फाइल खोलेर नै छाड्छु भनेको छु । मेरो सुई गिरिबन्धुतिर जाँदै थियो । त्यहाँ जाने भनेको ओलीतिर जाने भनेको हो । बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर पनि सोझियो । त्यही भएर आतंक भएको हो तपाईँले ढुक्कसँग बुझे हुन्छ । फाइल खोलेरै छाडिन्छ ।’

त्यस्तै प्रचण्डले आगामी निर्वाचनमा माओवादी पहिलो दल हुने दाबी पनि गरे । उनले भने– ‘८४ लाई ६४ जस्तै बनाएपछि देशमा भ्रष्टाचारको जरा उखाल्ने म तपाईँहरूको अगाडी प्रतिबद्धता गर्न चाहन्छु । एउटा नयाँ युगको तपाईँ हामीले सपना देखेको हो जनयुद्ध र जनआन्दोलनको बेलामा । त्यो नयाँ युगको सम्पूर्ण तागत नेपाल र नेपाली जनताको पक्षमा लगाउने प्रतिज्ञा म गर्न चाहन्छु ।’

प्रचण्डले गिरीबन्धुको फाइल खोल्ने प्रतिबद्धता गर्नु र आगामी निर्वाचनमा पहिलो दल हुने दाबी गर्नुले ओलीमाथि छानबिन भएरै छाड्ने सन्देश दिएका छन् ।

त्यसो त १५ महिनाअघि ओलीले प्रचण्डलाई गिरीबन्धुको फाइल खोल्न चुनौती दिएका थिए । जुन बेला प्रचण्ड प्रधानमन्त्री थिए भने ओली प्रमुख प्रतिपक्षी दलका नेता थिए । अहिले स्थिति ठ्याक्कै उल्टो छ । प्रचण्ड प्रमुख प्रतिपक्षी दलका नेता छन् भने ओली प्रधानमन्त्री छन् ।

२०८० असोज १८ गते पार्टी कार्यालय च्यासलमा एमालेको बागमती प्रदेश कमिटीको शपथग्रहण तथा कार्यभार हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए– ‘मैले हिजो पार्लियामेन्टमा अलिकति बोलेँ । त्यसले उनीहरूको मन भतभत पोल्यो, खपिनसक्नुभयो । के गरौँ, के गरौँ भनेर चिथोरौंझैं लाग्यो । तर, भन्ने केभन्दा गिरीबन्धु टी इस्टेटको फाइल खोल्नुपर्छ, भनेर आज संसदमा कराए, पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘खोल न त फाइल, खोल जेल जाऊ, मैले भनिरहेको छु त । आफैँ खोल, आफैँ जाऊ ।’

गत असारमा अप्रत्याशित रूपमा संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच सत्ता सहकार्य भयो । त्यसपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री बने भने प्रचण्ड प्रतिपक्षी नेता बन्न पुगे ।

प्रतिपक्षी बेन्चमा पुगेपछि आफूले गिरिबन्धु, यति, ओम्नी, वाइडबडी घोटालाजस्ता ठूला भ्रष्टाचारको फाइल खोल्न लागेपछि आफूलाई सत्ताच्युत गरेको दाबी गर्दै आएका छन् । त्यस्तै ठूला भ्रष्टाचारीलाई बचाउन कांग्रेस–एमाले मिलेको प्रचण्डले दाबी गर्दै आएका छन् ।

गत कार्तिकमा पनि ‘प्रचण्ड’ले गिरीबन्धुको अनुसन्धान कहाँ पुग्यो भन्दै ओलीलाई प्रश्न गरेका थिए । उनले भनेका थिए– ‘नक्कली भुटानी शरणार्थी काण्ड कहाँ पुग्यो ? बाँसबारी, गिरिबन्धु, बालमन्दिर लगायत काण्डको छानबिन कहाँ पुग्यो ? यो प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन, किनभने यो सरकार यी काण्ड खोतल्न होइन, मिलाउन बनेको हो ।’

गिरीबन्धुको जग्गामा अर्बौं घोटाला भएको छ । ओली प्रधानमन्त्री भएको बेला जग्गा दलालहरूको सेटिङमा गिरीबन्धु टी इस्टेटको जग्गा सट्टा भर्ना गर्ने निर्णय गरेका थिए । उक्त जग्गा काण्डमा कुनै पनि बेला आफू पनि फस्ने डरले ओलीले ऐन नै परिवर्तन गरेर सट्टा भर्ना गर्ने बाटो खोलिदिएका थिए, जुन निर्णय सर्वोच्च अदालतले उल्टाइदिएको थियो ।

ओली नेतृत्वको तत्कालीन सरकारले गिरीबन्धु टी–स्टेटको नाममा रहको ३४२ बिघा १९ कट्ठा १२ धुर जग्गा सट्टा भर्ना गर्न दिने गरी भूमिसम्बन्धी ऐनको आठौँ संशोधन गरेको थियो । यस्तो बहुमूल्य जग्गा बेच्ने वातावरण तयार गरिदिन कानुन संशोधन गरेको आरोप तत्कालीन सरकार र त्यसको नेतृत्वकर्ता ओलीलाई लाग्ने गरेको छ । तर, ओलीले भने आफू र आफू नेतृत्वको सरकारले सार्वजनिक सम्पत्ति छलछाम गरेर खल्तीमा हाल्ने नीतिमा कहिल्यै नलागेको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्