Logo
Logo

लगामविहीन ओली, निरङ्कुश यात्रामा एमाले


7.1k
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्र कोही कसैले पनि लगाम लगाउन सक्ने अवस्था छैन भन्ने कुरा हरेक घटनाक्रमले पुष्टि गरेको छ । पार्टी लोकतान्त्रिक, नेतृत्व निरङ्कुश भएका कारण जनताको बहुदलीय जनवाद ‘जबज’ ओठेभक्ति बन्न पुगेको छ । जननेता मदन भण्डारीको सोच र शैली विपरीत एमाले चल्न थालेकोमा धेरै नेता–कार्यकर्ता असन्तुष्टि छन् । त्यो विस्फोट हुन मात्र बाँकी छ ।

विधि विधान सबै आफ्नो अनुकूल बनाएका ओलीले सबैजसो बैठकमा जस्तो प्रस्ताव लगे पनि पास हुने अवस्था छ । फरक मत राख्ने र छलफल गर्ने कोही कसैले हिम्मत गर्दैनन् । केन्द्रीय कमिटी लगायतका संस्थालाई पङ्गु बनाएर निरङ्कुश शैलीले पार्टी सञ्चालन गरिँदै आएको छ ।

पार्टीभित्र फरक मत राख्ने र नेतृत्वमाथि प्रश्न उठाउनेलाई ‘अनुशासनको डन्डा’ लगाएर निस्तेज पार्ने रणनीति ओलीले अङ्गीकार गरेका छन्, ताकि भोलि आफूमाथि कोही कसैले पनि प्रश्न उठाउन नसकोस् भन्ने चाहनामुताविक अनुशासनका नाममा कारबाही गरिएको छ ।

यसै साता एमाले केन्द्रीय सचिवालयको बैठकले पूर्वउपाध्यक्ष डा. भीमबहादुर रावलसहित तीन नेतालाई पार्टी अनुशासन उल्लंघनको आरोपमा कारबाही गरेको छ । रावललाई संगठित सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ भने, स्थायी समिति सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको छ । राजनीतिक विश्लेषकहरुले यसलाई एमालेभित्र आन्तरिक लोकतन्त्रको चीरहरण गराएको रूपमा बुझेका छन् ।

भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङसँग पार्टी भवन बनाउन झन्डै रु एक अर्बको जग्गा दानमा लिने निर्णयको विरोध गरेकामा नेताहरू कारबाहीमा परेका हुन् । यस्तो निर्णय पार्टी अध्यक्ष ओलीकै चाहनामा भएको थियो । सरकारको नेतृत्व गरेको एमाले अहिले ‘मिसन ०८४’ मा छ । केही दिनअघि ओलीले पार्टीमा कुनै गुट नरहेको बताएका थिए ।

उनी नेतृत्वमा आएदेखि नै एमालेमा आन्तरिक लोकतन्त्र कमजोर बनाएर अधिकांश नेता र कार्यकर्ताको चाहना विपरीत विरोधीलाई जिम्मेवारी नदिने, भूमिकाविहीन बनाएर कार्यकर्तामाझबाट अलग गराउने र अन्तिममा पार्टीबाट निष्कासन गर्नेसम्मका कार्यले ‘मिसन ८४’ सफल नहुने अधिकांश नेताहरूको भनाइ छ ।

एमालेको बागडोर सम्हालिरहँदा र पहिलो पटक प्रधानमन्त्री बन्दा एमाले अध्यक्ष ओली एक कुशल ‘राजनेता’ बन्न सक्ने सम्भावना लिएर उदाएका थिए । ओलीले राजनीति थालेको पाँच दशकपछि भारतले गरेको नाकाबन्दी र भूकम्पले थिलाथिलो बनाएको नेपाललाई लयमा फर्काउने दायित्व बोकिरहँदा उनीप्रति देखिएको ‘क्रेज’ले यही संकेत गथ्र्यो ।

यसपछि २०७२ पछिका केही वर्ष अर्थात् २०७४ मा करिब दुई तिहाइ नजिकको सरकार बनाएर मुलुकको बागडोर सम्हाल्दै गर्दा उनमा अहंकार चुलियो । त्यसयता उनीप्रतिको भरोसा बिस्तारै कमजोर बन्न पुग्दा उनी राज्यसत्तामा कमजोर पात्रको रूपमा देखापरिरहेका छन् ।

ओली पार्टी, सत्तामा लगामविहीन निरङ्कुश र अलोकतान्त्रिक बन्दै गएका छन्, जसमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालले थपडी बजाएर साथ दिइरहेका छन् । खासमा ओलीको राजनीतिक जीवनलाई नजिकबाट नियाल्नेहरूको अनुभवमा एमालेभित्र ‘खुराफात र गुटबन्दी’ गर्ने नेताका रूपमा धेरै समय अगाडिदेखि चिनिएका नेता यिनीहरू नै हुन् ।

विगतमा कहिले मदन भण्डारी त कहिले माधवकुमार नेपाललाई सघाउँदै पार्टी सत्तामा पकड जमाएका ओली २०७१ मा भएको एमालेको नवौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएर ‘फस्ट म्यान’ बनेपछि २०७२ असोजमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए ।

प्रधानमन्त्री बनेदेखि नै उनले ‘मास लिड’ गर्न थाले । विरोधीहरूलाई भित्तामा पुग्नेगरी पेचिलो भाषण गर्ने ओलीको शैलीलाई पार्टी पंक्तिका धेरै र पार्टीभन्दा बाहिरकाले पनि अनुसरण गरे जसले गर्दा उनमा देवत्वको भूत सवार भयो र विरोधीप्रति असहिष्णु बन्दै जाँदा भाटभटेनीका मालिक गुरुङको महादानमा डा. रावल र डा. पाण्डे र तिम्सेना अन्तिम सिकार बने ।

‘जबज र पार्टी जीवनको लोकतान्त्रिकीकरण’ पुस्तक लेख्ने ओली अहिले आफ्नो अनुहारमा कसैले नहेरोस् र आफूसँग कसैले सिधा आँखा नजुधाओस् भन्ने चाहन्छन् । चितवनमा एमालेको दशौँ महाधिवेशन हुँदै गर्दा डा. रावल आफ्ना विरुद्धमा अध्यक्ष पदमा चुनाव लडेको तुष लामो समयसम्म लिइरहेका ओलीले उनलाई पार्टीबाट हटाउन पनि दुई नेत्रीहरूलाई पार्टीबाट निलम्बन गर्ने निर्णयको सहारा लिएको कतिपयले विश्लेषण गरेका छन् । यद्यपि, दुई नेत्रीहरूको बाक्लो उठवस पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग रहेको कारण पनि औँल्याइएको छ ।

ओलीको नियोजित यो निर्णयले नेकपा (एस), माओवादी केन्द्र तथा अन्य साना दलहरूबाट एमाले प्रवेशको क्रमलाई सिधै रोकेको छ । ‘यस्तो आवेशले अन्ततः पार्टीको क्षयीकरण मात्रै गर्ने हो’, एमालेका एक पदाधिकारीले दृष्टिसँग भने । उनका अनुसार आफ्नो स्वभावअनुसार नै ओलीले निश्चित विशेषता सहितको पार्टी सत्ता अभ्यास गरिरहेका छन् ।

मुख्यतः उनले शक्ति आफूमा केन्द्रित गरेका थिए । शक्तिको स्वभाव नै जति खायो, उति तिर्खा लाग्ने हुन्छ भन्ने नेपाली उखान राम्रोसँग बुझेका ओलीले परिणामतः सारा शक्ति आफूमा केन्द्रित गरेर शक्तिको विकेन्द्रित हुने प्रणालीको विपरीत अभ्यास गरिरहेका छन् र पार्टीलाई पनि त्यही दिशामा लगेका छन् ।

लोकतन्त्र चल्ने मुख्य दुई आधार विधिको शासन र संस्थाको सक्षमता भन्ने विषयलाई ओलीले तिलाञ्जलि दिए । पार्टी विधि र पद्धतिबाट होइन, आफ्नो आदेशबाट चलिरहेको छ भन्ने तथ्यलाई उनले राम्रोसँग उजागार मात्र गरेका छैनन्, भावी दिनमा नेतृत्वको आलोचना गर्नेहरूले भोग्नुपर्ने नियति पनि प्रकट गरिदिएका छन् ।

पार्टीको आन्तरिक लोकतन्त्रको विकासका निम्ति नेताकार्यकर्ताले निर्भीक भएर प्रश्न सोध्न पाउनुपर्छ भन्ने कुरालाई उनले सधैँ नकारात्मक दृष्टिले बुझे । सामाजिक सञ्जालमा व्यक्त हुने असन्तुष्टि र आक्रोशप्रति समेत उनले विगत वर्षमा असहिष्णु व्यवहार देखाउँदै आए । लोकतन्त्रको स्वाद चाखिसकेको र खुलापनमा अभ्यस्त समाजलाई उनले पार्टीभित्रबाटै अलोकतान्त्रिक आकांक्षाले नियन्त्रित गर्न खोजे ।

पार्टीमा लोकतन्त्रको वकालत गर्ने नेताहरू गोकर्ण विष्ट, योगेश भट्टराई नुन खाएको कुखुराजस्तो झोक्राएर बसेका छन् । आन्तरिक बैठकमा पनि ओलीसँग प्रस्टसँग धारणा नराखी तिनले बाहिर ओलीकै प्रशंसामा समय खर्चेका छन् । युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यहरू यस विषयमा बोल्न नै चाहँदैनन् । अन्य नेताहरूबाट एमालेभित्र लोकतन्त्रको अपेक्षा गर्न छाडिसकिएको कार्यकर्ताहरूले बताउन थालेका छन् ।

एमाले नेताहरूकै भनाइमा अध्यक्ष ओलीमा आलोचना सुन्नै नचाहने प्रवृत्ति छ र पछिल्लो कारबाही त्यसैको उपज मान्न सकिन्छ । कुनै बेला बालुवाटारमा आफूप्रति चर्को आलोचना गर्ने नेताहरूलाई अगाडि राखेर ओलीले ‘बरू जनमोर्चा हुनु ठिक यस्ता नेताहरू पार्टीमा हुनु बेठिक’ भन्ने गरेका थिए । अहिलेको कारबाहीले एमालेलाई सम्भावित जनमोर्चातिर धकेलेको कार्यकर्ताहरूको भनाइ छ ।

बेलाबेला ओली चिनियाँ राष्ट्रपति एवं चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङजस्तै शक्तिशाली बन्ने महत्वाकांक्षी हुने आशयको अभिव्यक्ति दिने गर्छन् । पार्टीको जिल्लाका नेताहरूको भेलामा आफ्नो विरोधमा कोही नबोलुन् भन्ने उनको भनाइ थियो ।

पार्टी मुख्यालयमा भएको एक कार्यक्रममा ओलीले चीनको विकास मोडेलको प्रशंसाका साथ त्यहाँको कम्युनिस्ट पार्टीमा कसैको फरक विचार नआउने सुनाउँदै आफूप्रति पनि फरक विचार नआओस् भन्ने चाहना राखेका थिए ।

‘आज चीन विश्वमै आर्थिक रूपमा महाशक्तिका रूपमा उदाएको छ । त्यहाँ पार्टीको पक्षमा बोल्ने प्रवृत्ति छ, विरोधीका आक्रमण र हमलालाई कसरी पराजित गर्ने भन्ने तरिका अवलम्बन गरिन्छ । अनुशासित र एकताबद्ध भएर चल्ने परम्परा छ, गत मंसिर ३० मा पार्टी मुख्यालयमा भएको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशालामा उनले भनेका थिए, ‘नौ करोडभन्दा बढी पार्टी सदस्य छन् ।

हाम्रो देशको जनसंख्या जति छ, त्यसको तीन गुणाभन्दा बढीचाहिँ चीनको पार्टी सदस्य संख्या छ । त्यत्रो पार्टी सदस्यता छ, एक जनाको ओपिनिएन फरक आउँदैन, नेतृत्वको वरिपरि सबै गोलबद्ध छन् ।’

ककओलीको यस भनाइले आफू सुपर सुप्रिमो हुँ अरू कोही केही होइनन् भन्ने संकेत गरेको थियो । ओलीको यस भनाइपछि कार्यशालाको अघिल्लो पंक्तिमा बस्ने नेतागणहरूले ताली बजाएर समर्थन गरेका थिए । यसले गर्दा ओली शक्तिको असीमित भोक, अहंकार र गुटबन्दीमा विश्वास गर्छन् भन्ने पुष्टि हुन्छ ।

अहिले पनि ओली आफूलाई नेपाली राजनीतिका एक प्रभावशाली खेलाडी हुँ र तलैसम्म जरा गाडेर बसेको बलियो संगठन भएको एमालेको अध्यक्ष हुँ भन्ने तथ्यलाई बिर्सेर पार्टीभित्रका विरोधीलाई तह लगाउन कम्मर कसेर लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्