काठमाडौं । पाठेघरको मुखको ‘क्यान्सर’ विरुद्ध एक सय १० जनाको ‘स्क्रिनिङ’ गरिँदा चार जनाको ‘पोजेटिभ’ देखिएको छ ।
मेरीस्टोप्स इन्टरनेशनलको सहकार्यमा रोटरी क्लबसँग आबद्ध महिला समूहले तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुमा आयोजना गरेको सो शिविरमा एक सय १० महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरिँदा ४ जनाको नतिजा पोजेटिभ आएको हो ।
‘भिजुअल इन्स्पेक्सन विथ एसेटिक एसिड’ (भिआइए) विधिबाट स्क्रिनिङ गरिएकामध्ये चार महिलाको नतिजा पोजेटिभ देखिएको र ती महिलालाई आवश्यक परामर्श दिएर क्यान्सर अस्पताल भक्तपुर एवं भरतपुर ‘रेफर’ गरिएको छ ।
समुदायका महिला र विद्यालयका कर्मचारीलाई पाठेघरको मुखको क्यान्सर जाँच (स्क्रिनिङ) गरी यसको प्रारम्भिक पहिचान, सचेतना तथा समयमै रोकथाममा सहयोग पुर्याउने ध्येयले उक्त स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
शिविरमा विद्यालयमा अध्यययनरत एक सय ५० छात्रालाई पाठेघरको मुखको क्यान्सरविरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोपको महत्व एवं सचेतना गराइएको थियो ।
शिविरिमा वरिष्ठ स्त्रीरोग विशेषज्ञद्वय डा कस्तुरी मल्ल र डा विमला लाखे तथा नर्सद्वय विष्णुदेवी श्रेष्ठ र कल्याणी श्रेष्ठले सेवा प्रदान गरेका थिए । शिविरले समुदायमा आधारित स्वास्थ्य पहलको महत्व र महिलाको स्वास्थ्य सुधार गर्न विशेषगरी पाठेघर मुखको क्यान्सरजस्ता स्वास्थ्य समस्यामा साझेदारीको भूमिकालाई उजागर गरेको जनाइएको छ । यस संयुक्त प्रयासले पाठेघरको क्यान्सर क्यान्सर रोकथामसम्बन्धी सचेतना वृद्धि गर्नुका साथै यसको महत्वलाई पनि जोड दिएको आयोजकले जनाएका छन् ।
प्रजनन स्वास्थ्य शिविरले मेरीस्टोप्स सेन्टरले प्रदान गर्ने सेवाका बारेमा समुदायस्तरमा जानकारी बढाउन सहयोगी सावित भएको मेरीस्टोप्स इन्टरनेशनल (एमएसआई)का वरिष्ठ सल्लाहकार केपी उपाध्यायले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयमा मेरीस्टोप्स सेन्टरले यौन तथा प्रजनन स्वास्थ्य सेवासँग सम्बन्धित सेवा प्रदान गरिराखेको छ ।
सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान सञ्चालन गर्दैछ । पन्ध्र दिनसम्म चल्ने अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप लगाइने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसविरूद्ध खोप लगाउनुपर्ने हुन्छ ।