हामीले सन् २०२४ का ३६४ दिनलाई स्वागत र बिदाइ गरिसकेका छौँ । आज सन् २०२४ को ३६५औँ दिन हो, वर्षकै अन्तिम दिन । यसलाई पनि बिहानको झुल्केघामसँगै स्वागत गरिसक्यौँ । अबको केही घण्टापछि यसलाई पनि बिदाइ गर्नेछौँ । हुन त यो पनि हिजोको जस्तै थियो, उदायो अनि अस्तायो । तैपनि आज हामी यसलाई केही फरक आयाम दिने कोसिस गर्छौ । किनकि, यो सन् २०२४ को अन्तिम घाम हो । हामीलाई लाग्छ, अब यो यसरी नै कहिल्यै झुल्कने र अस्ताउने छैन ।
तर, त्यस्तो पनि हैन । भोलि बिहान पनि उही घाम आउने र जाने हो । तर, त्यतिबेला आउने घाम सन् २०२५ को पहिलो घाम हुनेछ । हामी नयाँ वर्ष, नयाँ दिन भनेर यसलाई केही फरक बनाउने कोसिस गर्छौँ । शुभकामनाका शब्दहरूले कोरिबाटी गरेर केही नयाँ रूप दिन्छौँ र भन्छौँ, नयाँ वर्ष २०२५ को शुभकामना ।
यो एक किसिमको सनातन हो । ग्रेगरियन पात्रोको बारेमा जान्ने भएयता हरेक वर्षको डिसेम्बर ३१ मा यसरी नै पुरानो वर्षलाई बिदाइ गरेर जनवरी १ मा नयाँ वर्षलाई स्वागत गर्दै आएका छौँ । औपचारिकता नै सही, नयाँ वर्षको उपलक्ष्य भन्दै शुभकामना बाँढ्दैआएका छौँ । हामीले बाँडेको शुभकामनाले कति काम गरिरहेको छ वा छैन, त्यसको खासै हिसाब किताब पनि गरिहरेका छैनौँ ।
पुरानो वर्ष जाने र नयाँ वर्ष आउने क्रम हरेक व्यक्तिको जीवनमा मात्र हैन, हरेक राष्ट्रको जीवनमा पनि हुने गर्छ । फरक केही हुन्छ भने त्यो भनेको जीवनको लम्बाई मात्र हो । मानिसको जीवन छोटो हुन्छ, राष्ट्रको जीवन लामो । अझ विश्वकै जीवन पनि यस्तै हो । तर, यसको लम्बाई अरू धेरै लामो हुन्छ ।
हामी हरेक वर्षको अन्त्यमा चालु वर्षको समीक्षा गर्छौँ र आगामी वर्षको बारेमा केही पूर्वानुमान लगाउँछौँ । यो क्रम पनि व्यक्ति, राष्ट्र र विश्वको जीवनमै लागु हुन्छ । हरेक वर्ष दोहोरिने यो पनि एक किसिमको सनातन नै हो ।
सुरुवात नेपालबाट गरौँ । यो वर्ष नेपालमा के भयो ? सधैंझै केही घटनाहरू भए । तर, ती घटनाहरू राष्ट्रको जीवनमा खासै प्रभाव पार्ने खालका थिएनन् । केही व्यक्तिको जीवनमा भने तिनको प्रभाव देखियो । गत वर्ष यतिबेला पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री थिए ।
उनी ३२ को म्याजिक नम्बर देखाउँदै कहिले ओलीको त कहिले देउवाको बुई चढेर प्रधानमन्त्रीको कुर्सीमा ढलीमली गर्दै थिए । यो ढलीमलीसँगै उनको नेकपा माओवादी केन्द्रको पक्षमा पनि दलतन्त्र आएको थियो । दलतन्त्रभन्दा पनि दाहालतन्त्र भन्नुपर्ला, किचेन क्याविनेटमा छोरी–ज्वाइँको रजगज थियो । अरू माओवादीहरूमा पनि सत्तारूढ हुनुको सानोतिनो रवाफ देखिन्थ्यो ।
रवि लामिछाने त त्यतिबेला उपप्रधान तथा गृहमन्त्री थिए । झन्डा हल्लाउँदै प्रहरीको सलाम खाँदै अरूलाई असल हुन अर्ती–बुद्धि बाँड्दै थिएँ । उपप्रधान मन्त्राणीको फूर्तिफार्ती अर्कै थियो । रविको कम्पनी रास्वपाको चुरीफुरी पनि हेर्न लायक थियो । सरकारमा रविसँगै अरू तीनजना घण्टीमित्रहरू पनि झन्डा हल्लाउँदै थिए ।
तर, अहिले प्रचण्डको ३२ को म्याजिक नम्बर कुकुरको पुच्छर लौरो न हतियार भएको छ । उनी नराम्ररी कुर्सीबाट झारिएका छन् । सत्ताबाट बाहिरिनु परेको रनाहा र छटपटीले उनी अन्टसन्ट बोल्दै हिँडिरहेका छन् । उनका उपप्रधान तथा गृहमन्त्री लामिछानेको त कन्तबिजोग नै भएको छ ।
गत वर्ष यतिबेला प्रहरीको सलाम खाइरहेका गृहमन्त्री लामिछाने यसपटक प्रहरीकै खोरमा थुनिएका थुनुवा भएका छन् । त्यो पनि कुनै राजनीतिक अभियोग हैन, ठगी, संगठित अपराध र अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा ।
यद्यपि, प्रहरी खोरमा स्यालजस्तो थुनिएको बेला पनि उनले आफूलाई बाघ भन्न छोडेका छैनन् । अझ उल्टै यसो पनि भन्दैथिए, ‘बाहिर आएपछि एक एकलाई देखाइदिन्छु ।‘ यति गम्भीर अभियोगमा प्रहरी खोरमा छन्, अब कहिले बाहिर आउने र कसलाई के के देखाउने हुन्, त्यो त उनै जानुन् ।
गत वर्ष यतिबेला केपी ओली गिरीबन्धु टी स्टेटमा नीतिगत भ्रष्टाचार गरेको अभियोगमा जेल जानसक्ने सम्भावित सूचीमा चढेका थिए । अहिले उनी प्रधानमन्त्रीको कुर्सीमा छन् । यसैगरी नक्कली भुटानी शरणार्थी प्रकणमा जेलको चिसो छिँडीमा पुग्नै लागेकी आरजु सत्ताको बागडोरमा फर्किएर परराष्ट्रमन्त्री भएकी छन् । गत वर्ष यतिबेला उनीहरूका लागि सत्ताका कुर्सीहरू धेरै टाढा थिए । दुबैलाई सम्भावित थुनुवा हुनबाट कसरी बच्ने भन्ने नै सकस थियो । ‘मरता क्या नही करता’ भनेझै उनीहरू सातबुँदेको बैतरणी बनाएर पार लागे र यतिबेला सत्ताको चास्नी चाखिरहेका छन् ।
भनाइ नै छ राजनीतिमा असम्भव केही पनि छैन। यो सम्भावनाहरूको खेल हो । अझ नेपालजस्तो मूल्य, मान्यता र सिद्धान्तका सारा जामाहरू फुकालेर नांगो बनाइएको राजनीतिमा त जे पनि हुन्छ । यति मात्र हैन, जनता जनार्दन हुन नसकेर त्रिशंकु संसद बनाइदिएको अहिलेको अवस्थामा त के हुन्छ भन्ने थेसिस भन्दा पनि के हुँदैन भन्ने एन्टी थेसिसका बारेमा सोच्नुपर्ने हुन्छ ।
त्यसैको परिणाम हो, संसदीय परिपाटीमा संसदको पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउन नेपालमा भएको अचम्मको अभ्यास । जबकि यी दुई ठूला दल फरक चुनावी गठबन्धन बनाएर २०७९ को आमचुनावमा होमिएका थिए । यसकारण पनि यिनीहरूलाई आपसमा मिलेर सरकार चलाउने जनताको म्यान्डेट प्राप्त भएकै हैन ।
यो त गर्नै नहुने कामको एक प्रतिनिधिमूलक घटना हो । तर, यिनीहरू त्यही गरिरहेका छन्, जुन गर्नुपर्ने नै हैन । यसरी बनाउँदै जाँदा गर्नु नपर्नेहरूको लम्बेतान सूची बन्छ । देशको नीतिहरूको राजा राजनीति नै बिटुलिएपछि अरू त तपसिलका कुरा भैहाले । त्यसको सबैभन्दा ठूलो असर सुशासनमा देखियो ।
सुशासनको कोणबाट हेर्दा नेपाल अरू खस्कियो । भ्रष्टाचार नेपालको राष्ट्रिय चरित्र बन्यो । जसले जति सक्छ, लुट्नुपर्छ भन्ने सामाजिक मान्यता नै बन्यो । नेपालमा यस्तो गर्ने को छैन भन्दा पनि को छ भनेर खोज्नुपर्ने स्थिति बन्यो । जब देश थेसिसले हैन, एन्टी थेसिसले पनि चल्नुपर्ने हुन्छ, त्यस्तो देशको मूल्य, मान्यता, आदर्श केही नै बाँकी हुँदैन । वर्ष २०२४ मा नेपाल त्यही रसातलतिर अरू धकेलियो ।
समाजको कुरा गर्दा नेपाली समाज अरू बिथोलियो । पूर्वीय मूल्य, मान्यतामाथि डोजर चलाउने गति अरू बढ्यो । पश्चिमी मान्यताको महिमामण्डन रफ्तारमा बढ्यो । तर, त्यो मान्यता अंगाल्नका लागि आवश्यक सोच–कोण, स्रोत–साधनको अभावमा नेपाली समाज न हाँसको चाल न बकुल्लाको चालको अवस्थामा छ– यो वर्ष त्यो क्रम अरू बढ्यो ।
नेपाली युवाहरू बिदेसिने क्रम अरू चुलियो । मिडिया हुन् वा विचार निर्माता, सबैले एउटै एजेन्डा सेटिङ गरेर नेपालमा केही नै हुँदैन भन्ने भाष्य बनाइरहे । एक दशकयता रोपिन थालेको यो बन्सो भाष्य यो वर्ष पनि अरू फैलियो । परिणामतः जसले जहाँ जाने हैसियत बनाउँछ, ऊ त्यतैतिर लाग्यो । विकसित देशतिर जाने हैसियत बनाएका फर्कन नै बिर्से ।
त्यो हैसियत नभएर खाडी मुलुक, मलेसिया, इजरेललगायतका देशमा जानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्र घिसारिरहे । त्यसबापत यी लाठेहरूका जीवनसाथी र परिवारमा देखिएको सामाजिक विचलन अरू खराब भयो । यद्यपि, त्यसलाई सकेसम्म छोप्ने प्रयास जारी रह्यो ।
नेपालीहरूको संख्यामात्र बाहिरिएन, समस्याको सङ्ख्या पनि बाहिरियो । एक किसिमले भन्ने हो भने यो वर्ष नेपाल मिनी नेपाल भएर अरू बढी बाहिरियो । यो सँगै नेपालमा जे जस्ता समस्या थिए, ती सबै समस्या पनि बाहिरिए । पारिवारिक विखण्डन र सांस्कृतिक विचलनको डरलाग्दो ग्राफ अरू उकालो लाग्यो ।
वर्षको अन्तमा नेपाली रुपैयाँ इतिहासमै सबैभन्दा बढी अवमूल्यन भयो । यी पङ्क्तिहरू लेखिरहँदा १ अमेरिकी डलर किन्नका लागि १३७ रुपैयाँ १६ पैसा खर्चनुपर्ने स्थिति छ । रेमिटेन्समा भर परेको अर्थतन्त्रका लागि यो टेको भए पनि आयातमुखी अर्थतन्त्र भएको नेपालमा यसले निम्त्याउने सकंट अरू भयावह हुने स्थिति छ ।
अब संक्षेपमा विश्वको कुरा गरौं । यो वर्ष अमेरिका, भारतलगायत विश्वका धेरै देशहरूमा चुनाव भयो । अप्रत्याशित रूपमा लोकतन्त्र एक किसिमले भीडतन्त्रमा परिणत भयो । चुनावमा अन्तर्राष्टियवादको सोचमाथि राष्ट्रियतावादको सोच जबर्जस्त हाबी भयो ।
परिणामस्वरूप धेरै देशमा लोकप्रियतावादी तानासाहहरू सत्तामा फर्किए । अमेरिकामा डोनाल्ड ट्रम्पको सत्तामा पुनरागमन त्यसैको चरम नमुना हो । उनले अहिले चलिरहेको भूमण्डलीयकरणको क्रमलाई नै उल्ट्याउने वाचा बाँडेका थिए । २०२५ को जनवरी २० मा ह्वाइट हाउसमा फर्केपछि त्यो वाचा पूरा गर्ने बताएका छन्– त्यो कसरी हुन्छ ?, यस प्रश्नको उत्तरले नै धेरै कुराको छिनोफानो गर्छ । हामीले बुझ्न जरुरी के छ भने अमेरिका एउटा देश त हो तर त्यति मात्र पनि हैन । यसको प्रत्यक्ष र परोक्ष असर संसारभरि नै पर्छ ।
मध्यपूर्व द्वन्द, रूस–युक्रेन युद्ध, सिरियामा असद शासनको पतनका घटना पनि यो वर्षका शीर्ष घटना बने । यी सबै परिघटनाहरू सन् २०२५ मा कसरी अगाडि बढ्छन्, त्यसको आंशिक छिनोफानो पनि ट्रम्प २.० कार्यकालले गर्नेजस्तो देखिन्छ ।
सन् २०२४ निक्कै बिथोलिएको र अशान्त वर्ष रह्यो । धेरै बम र बन्दुकहरू चले, गोली र बारुदहरू दागिए र धेरैले अनाहकमा जीवन गुमाउनु प¥यो । २०२५ मा यसको क्रमभंग होला त ? आशावादी हुनुपर्छ तर विश्वले जुन दिशा र दशा तय गरिरहेको छ, त्यो हेर्दा धेरै आशावादी हुन सकिने ठाउँ छैन ।
अन्तमा आफ्नै कुरा गरेर विट मारौँ । लेखन मेरो लागि नशा हो । त्यसमा पनि समसामयिक टिप्पणी नगरी रहनै सक्दिन । त्यसैले सन् २०२४ भरि नै म दृष्टिमा विलोम लिएर लगातार उपस्थित रहेँ । म अहिले एक नेपाली–अमेरिकी हुँ । अहिलेका लागि मेरो नेपाली हैसियत एक गैरआवासीय नेपालीको मात्र हो । यस हैसियतमा मैले गर्ने अभ्यासका आफ्ना सीमाहरू छन् । म ती सिमाहरूमा रहेर नेपाल र नेपालीको भलो चिताएरै लेखिरहेको छु ।
मैले ठानेको सत्य नेपाल र नेपालीको भलो देशमा धेरै दल बढाएर सम्भव छैन । थोरै, बलिया तर जनताप्रति उत्तरदायी र आन्तरिक लोकतन्त्र भएका दलहरू आजको आवश्यकता हो । यस्ता दलहरू बन्नका लागि सैद्धान्तिक आधार चाहिन्छ । आजको विश्वमा परीक्षण र सफल भएको सैद्धान्तिक आधार भनेको वामपन्थ र दक्षिणपन्थ मात्र हो ।
यही आधारमा नेपालमा धेरै वामपन्थी र दक्षिणपन्थी दलहरू छन् । नेपाली कांग्रेस र एमाले क्रमशः दक्षिणपन्थ र वामपन्थका मूली दलहरू हुन् । यिनीहरूसँग सैद्धान्तिक आधार मात्र छैन, गौरवपूर्ण बलिदानी इतिहास, योगदान, जनाधार र संगठन पनि छ ।
अहिले यी दलहरूको खराबी भनेको काम नलाग्ने कवाड शीर्ष नेतृत्व र त्यसले अपहरण गरेको पार्टीको आन्तरिक लोकतन्त्र मात्रै हो । यी आधारभूत कुरालाई ठीक गरेर यी दुई दलको छातामुनि भएका सबै दलहरू दुई कित्तामा गोलबद्ध हुने हो नेपालको राजनीति सही मार्गमा आइपुग्ने छ ।
पछिल्लो समय लोकप्रियतावाद एक खराब मेनुको रूपमा देखापरेको छ । अजिनोमोटो मिसिएको यो मेनुले ताल बेतालका नयाँ र स्वतन्त्र अनुहारहरूमाथि प्रयोग गर्न थालेको छ । नेपालमा पनि त्यस्ता प्रयोगहरू हुन थालेका छन् । तर, ती प्रयोगहरू नेपालजस्तो देशका लागि सही हैनन् । तिनीहरूले समय, स्रोत र साधनको अतिरिक्त खपत गरेर देशलाई प्रयोगशाला मात्र बनाउने छन् ।
म ठान्छु नेपालमा केही नभएको पनि हैन र नेपालको भविष्य नभएको पनि हैन । तर, जे जति गर्न सकिन्थ्यो, त्यतिचाहिँ नगरिएको र नभएकै हो । नेपालमा थप गर्न र यसको भविष्य छ भन्ने विश्वास दिलाउन कांग्रेसका देउबा, एमालेका ओली र माओवादीका प्रचण्डको बहिर्गमन जति आवश्यक छ, रविजस्ता विवादास्पद विगत भएका लोकप्रियतावादीको पतन पनि त्यत्तिकै जरुरी छ ।
नेपाल प्रकृतिको अनुपम देन हो । यस्तो देशमा पनि भविष्य हुँदैन भने कुन देशमा चाहिँ भविष्य हुन्छ त ? सन् २०२४ को अन्तिम दिन मेरो मनमा यही प्रश्न आइरहेको छ । सन् २०२५ मा यसको उत्तर खोज्न सम्बन्धित सबैलाई प्रेरणा मिलोस्– शुभकामना !