काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरेको छ ।
हालै सम्पन्न नवौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न मङ्गलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाले क्रान्तिकारी पार्टीहरुसँग एकताको उद्देश्य राख्दै तत्काल निकट पार्टीहरूसँग मोर्चामा सहकार्य गर्दै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरेको जनाएको हो । एकतालाई प्राथमिकतामा राख्दै त्यसको सुरुवात मोर्चाबाट सुरु गरिने नेकपाले जनाएको छ ।
त्यस्तै नेकपाले आगामी २०८४ को निर्वाचनमा भाग लिने निर्णय गर्दै त्यसका लागि पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिने निर्णय गरेको छ । आगामी चुनावलाई नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गरिने नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जानकारी दिए । बैठकले एकीकृत जनक्रान्तिका १० वर्षभित्र गरिएका अध्ययन, अनुसन्धान, प्रयोग र विकासलाई विचार संश्लेषणमा उठाउने निर्णय गरेको छ भने देशमा व्याप्त भ्रष्टाचार, सुकुम्वासी, मिटरव्याज, ऋण आतङ्क लगायतका मुद्दामा फाल्गुन २१ देखि झापा–कञ्चनपुर जनमार्च सञ्चालन गर्ने निर्णय लिइएको महासचिव विप्लवले बताए ।
अहिलेको व्यवस्थाले जनता र देशलाई उचित ढङ्गले अघि बढाउन नसकेकाले नयाँ ढङ्गले अघिको व्यवस्थालाई नेकपाले जोड दिएको उनको भनाइ छ ।
त्यस्तै बैठकले देशको स्वाधीनता विरुद्ध भइरहेका हस्तक्षेपविरुद्ध भण्डाफोर अभियान चलाउने, नयाँ आर्थिक मार्गको बिचारलाई दृढताका साथ कार्यान्वयन गर्ने, कोशी प्रदेश नामकरण गरेको प्रदेशलाई किरात–लिम्बुवान प्रदेश नामकरण गर्ने र त्यसलाई मान्यता दिलाउन राजनीतिक शक्तिहरूसँग छलफल अघि बढाउने लगायतका निर्णयहरू भएको नेकपाले जनाएको छ ।
विप्लवले सामान्य जनताले सहकारीमा जम्मा गरेको रकमबाट ५-६ लाखको तलब खानु गलत भएको टिप्पणी गरेका छन् । उनले सहकारी ठगीको आरोपमा हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने, ‘सहकारी पीडितलाई न्याय दिलाउन हामी गम्भीर छौँ । त्यसका लागि कार्यदल बनाएका छौँ । सामान्य जनताले सहकारीमा जम्मा गरेको स–साना रकम एउटा मान्छेले ५/६ लाख तलब खानु सहकारी सिद्धान्त विपरीत छ । हामी सरकारले थालेको कारबाहीप्रति सकारात्मक छौँ । सहकारी ठगीमा मुछिएका जीवी राईलाई पनि तत्काल सरकारले झिकाओस् भन्ने हाम्रो आग्रह छ ।’