पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरुको मंगलबार पहिलो दिनको थुनछेक बहस सकिएको छ ।मंगलबार दिउँसोबाट जिल्ला अदालत कास्कीका न्यायाधिश नीतिज राईको इजलासमा थुनछेक बहस भएको हो ।
पहिलो दिन सरकारी वकिल कार्यालय कास्कीका सहायक न्यायाधीश सुजता पौडेल र शान्तीदेवी शर्माले बहस गरेका छन् । सुजताको बहस सकिएको र शान्तीदेविको बयान बाँकी रहेको श्रेस्तेदार राजन खनालले जानकारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङमाथि बहस भएको हो ।
सरकारी वकिल कार्यालयबाट थुनछेक बहस चलिरहँदा मुद्दाका प्रतिवादी कृष्णबहादुर गुरूङ उठेर रोएपछि इजलासमा सन्नाटा छायो ।
जिल्ला सहायक न्यायाधिक्ता शान्तिदेवी शर्माले सहकारीमा जोडिएका प्रतिवादीहरूको नाम लिने क्रममा कृष्णको पनि नाम आएपछि आँशु झार्दै उनले आफू निर्दोष रहेको दावी गरे । गुरुङ बिरामी छन् भने उनको अस्पचालमा उपचार भइरहेको छ ।
यस्तै उनकी छोरी तथा पूर्व सांसद मीना समेत बहस चलिरहँदा रोइन् । जसले इजलासको माहोल केहि समय भावुक बन्यो । ८० वर्षीय कृष्णबहादुर अवकास प्राप्त बेलायती सैनिक हुन् भने ६२ वर्षीया मीना गण्डकी प्रदेश सभाकी पूर्व सदस्य हुन् । उनका पति पनि बेलायती पूर्व सैनिक हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको छ ।