काठमाडौं । नेकपा एमालेबाट निस्किासित भएका नेता डा. भीम रावलले आज नयाँ पार्टी गठन गर्ने भएका छन् । त्यसबारे जानकारी दिन आज दिउँसो एक बजे पत्रकार सम्मेलन गर्दैछन् ।
भीम रावले कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने गरी नयाँ पार्टी गठन गर्ने तयारीमा छन् । रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो ।
एमालेले निस्काशन गरेपछि नयाँ पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिँदै आएका छन् । यसैक्रममा सोमबार उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेटवार्ता गरेका थिए । सो भेटवार्तामा रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरू एकठाउँमा आएर देशभक्त समाजवादी पार्टी बनाउने प्रस्ताव राखेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको खुलेर विरोध गर्दै आएका रावलले २०७८ सालमा चितवनमा आयोजित १०औं महाधिवेशनमा ओलीविरुद्ध अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए । उनी पराजित भएपछि एमालेले सल्लाहकार कमिटीमा राखेको थियो । तर, उनले त्यो जिम्मेवारी बहन गरेका थिएनन् । अहिले आएर एमालेले अनुशासन विपरीत गतिविधि गरेको भन्दै रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको थियो ।