काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेको बहुचर्चित वाइडबडी जहाज खरिद घोटाला प्रकरणमा अमेरिकाको भ्रष्टाचार अनुसन्धान गर्ने निकायले नेपालका एक व्यापारी दीपक मलहोत्रामार्फत घुसलेनदेन भएकोमा अनुसन्धान जारी राखेको छ ।
ठूल्ठूला घोटाला (स्काम)को अनुसन्धान गर्दै आएको अमेरिकाको युएस सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसनले वाइडबडी घोटालामा छानबिन गर्नेक्रममा व्यापारी मल्होत्रा मार्फत घुसलेनदेन भएको भन्दै अनुसन्धान जारी राखेको स्रोतले बताएको छ ।
नेपालको अख्तियारभन्दा पनि शक्तिशाली र स्वतन्त्र संघीय सरकारको नियामक निकाय (युएस एसईसी)ले वाइडबडी खरिदमा अमेरिकी कानुन उल्लंघन भएको भन्दै थप अनुसन्धान गरिरहेको छ । नेपाल वायुसेवा निगमले एयरबसको दुई वटा वाइडबडी जहाज खरिद गर्ने भनेर २०७३ चैतमा जहाज आपूर्तिकर्ता कम्पनी अमेरिकाको एएआर कर्प इन्कसँग सम्झौता गरेको थियो ।
नेपालको वाइडबडी जहाज खरिद घोटालामा अमेरिकी कम्पनी एएआर कर्प इन्क जोडिएपछि युएस एसईसीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको खुलेको छ । अमेरिकी नियामक निकाय (ओभरसाइट एजेन्सी) एसईसीले भने अर्को बदमासी पत्ता लगाएको फेला पारेको छ । नेपालमा भएको वाइडबडी खरिद घोटालामा हङकङमा अर्को कमिसन एजेन्ट कम्पनी खडा गरेको पाइएको छ । त्यसमा मलहोत्रा मुछिएको स्रोतको दाबी छ ।
अमेरिकी एएआर कर्प इन्कका दीपक शर्माले जहाजको कमिशन व्यवस्थापन गर्ने विवादास्पद व्यापारी दीपक मल्होत्राको मिलेमतोमा हङकङमा कम्पनी खोलेको सूचना बाहिरिएको छ । मलहोत्रका ‘बिजनेस पार्टनर’ रमेशकुमार सावर्थिया र उनकी छोरी पूजा सावर्थियाको नाममा हङकङमा कम्पनी खडा गरेर वाइडबडी खरिदको कमिसन व्यवस्थापन गरिएको खुल्न आएको हो ।
रमेशका भाइ विमल सावर्थिया आईएमएसका डाइरेक्टर रहेका छन् । यसै क्रममा अमेरिकी नियमाक निकायले मल्होत्राका छोरा दिकेश मल्होत्रासँग बयान लिइसकेको र त्यसको फैसला यही जनवरीको ६ तारिखमा हुँदैछ । यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि दीपक मल्होत्राले कमिशन व्यवस्थापन गरेको बारेमा अनुसन्धान गरिरहेको छ ।
वाइडबडी घोटालामा अमेरिकाले नेपाल सरकारसँग चासो राखेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले निगमलाई ‘प्रत्यक्ष रूपमा हानि हुने र आफूहरूलाई गैरकानुनी रूपमा लाभ पु¥याउने’ उद्देश्यले कार्य गरेको भन्दै तत्कालीन विभागीय पर्यटनमन्त्री जीवनबहादुर शाही, सचिव शंकरप्रसाद अधिकारी, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, शिशिरकुमार ढुंगानासहित नेपाली र विदेशी गरी ३२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
वाइडबडी जहाज खरिदमा करिब डेढ अर्ब रुपैयाँ घोटाला भएको अख्तियारको ठहर छ । यो विषयमा अख्तियारले थप अनुसन्धान गरिरहेको स्रोतको दाबी छ ।
मल्होत्रा कसरी घुस व्यवस्थापक रहे भन्ने बारेमा अमेरिकी नियमाक निकायले विस्तृत विवरण बाहिर ल्याएको छ । एएआर इन्टरन्याश्नल इन्क अमेरिकाका अध्यक्ष तथा सीईओ जोन एम होल्मस र आपूर्तिकर्ता तथा प्रस्तावक कम्पनीमध्ये इन्टरन्याश्नल सप्लाई चेनका अध्यक्ष, एएआर कर्प इन्क अमेरिकाका प्रतिनिधि दीपक शर्मालाई समेत अख्तियारले वाइडबडी जहाज घोटालामा प्रतिवादी बनाएको थियो ।
नेपाली मुलका बेलायती नागरिक दीपक शर्मा एएआर कर्प इन्कसँग सन् २०१५ देखि जोडिएको थिए । जहाज खरिद सेटिङमा ‘मास्टर माइन्ड’ एएआर कर्प इन्कका दीपक शर्मा कै योजनामा हाई फ्लाइ एक्स आयरल्यान्ड नामक स्पेशल पर्पोज कम्पनी आयरल्यान्डमा दर्ता गरियो । उक्त कम्पनीमार्फत नै नेपाल वायुसेवा निगमलाई दुई वटा वाइडबडी जहाज उपलब्ध गराइएको हो ।
मलहोत्राका ‘बिजनेस पार्टनर’ सावर्थिया बुवा–छोरीको नाममा हङकङमा ड्याजल डिजाइन लिमिटेड नामक कम्पनी खडा गरी वाइडबडी खरिद प्रकरणमा आधा अर्ब बढी कमिसन कमिसन व्यवस्थापन गरिएको दाबी छ ।
नेपाललाई लक्षित गरेर हङकङमा खोलिएको कम्पनी नीति इन्टरनेसनल लिमिटेडका ‘म्यानेजर’ समेत रहेका रमेशकुमार सावर्थिया र उक्त कम्पनी व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेकी उनको छोरी पूजाको नाममा ड्याजल डिजाइन लिमिटेड खडा गरिएको खुल्न आएको हो ।
रमेश सावर्थिया मल्होत्रामार्फत नै हङकङमा नेपाल चेम्बर अफ कमर्समा जोडिएको तथ्य समेत फेला परेको छ । ओभरसाइट एजेन्सी एसईसीले हङकङमा खडा भएको ड्याजल डिजाइन लिमिटेडमार्फत साढे ४२ लाख अमेरिकी डलर अर्थात् झन्डै ५६ करोड बढी नेपाल रुपैयाँ घूस (कमिसन) व्यवस्थापन गरेको दाबी गरेको छ ।
एएआरले दीपक शर्मामार्फत ड्याजल डिजाइन लिमिटेड र उक्त कम्पनीबाट दीपक मल्होत्राले पैसा लिएर नेपालका प्रभावशाली राजनीतिज्ञ र उच्च पदस्थ कर्मचारीलाई बाँडेको एसईसीको आशंका छ ।
वाइडबडी खरिदमा एएआरले एकपटक ४० लाख डलर र अर्कोपटक साढे २ लाख डलर ड्याजल डिजाइन लिमिटेड, हङकङलाई पठाएको अमेरिकी एसईसीको निष्कर्ष छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिदमा मल्होत्राले बिचौलियाको रूपमा काम गरेको भनेर अमेरिकाको एसईसीले उनीमाथि समेत अनुसन्धान गरिरहेको पाइएको हो ।
अमेरिकामा दीपक शर्मा, हङकङमा रमेशकुमार सावर्थिया र नेपालमा दीपक मलहोत्राले वाइडबडी जहाज खरिद कमिसनको जाँचोपाँचो मिलाएको अमेरिकी एजेन्सीको प्रारम्भिक निष्कर्ष छ । यो सुइरो निकै परसम्म पुगेर नेपालको राजनीतिक र प्रशासनिक तहमा पहिरो समेत जाने खतरा देखिन्छ ।
नेपालको सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्टमा लगानी गरेका कृष्णाका मालिक रमेश सावर्थियाले १८ वर्ष अगाडि ज्ञानेश्वरमा व्यवसायिक कम्प्लेक्स बनाउन हङकङबाट ३० करोड लगानी भित्र्याएका थिए । यसबाट पनि उनको नेपाल राम्रै नेक्सस छ भन्ने देखाउँछ । सर्वोत्तम सिमेन्टमा पनि मल्होत्राका ‘बिजनेस पार्टनर’ विमल सावर्थिया बोर्ड डाइरेक्टरको भूमिकामा रहेको स्रोतको दाबी छ ।