काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–८ लटारम्मेश्वर मन्दिर जाने क्रममा तारेभिरमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ ।
नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले मंगलबार साँझ काठमाडौं महानगरपालिका २ बस्ने ३६ वर्षीया मधुलिका सिंह ठकुरी, ३५ वर्षीया निर्जला शाक्य, ३४ वर्षीया सिर्जना महर्जन र २४ वर्षीय पुकार सिलवाललाई सकुशल उद्धार गरेको हो ।
उनीहरु फसेको जानकारी प्रहरीले मंगलबार दिउँसो करिब सवा तीन बजे टेलिफोनमार्फत पाएको थियो । त्यसपछि उद्धारमा खटिएको सेना र प्रहरीको टोलीले उनीहरुलाई साँझ ५ बजेतिर सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाएको इलाका प्रहरी प्रहरी कार्यालय ठिंगनले जनाएको छ ।