काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दाको थुनछेक बहस आज (बुधबार) पनि जारी रहनेछ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा मंगलबार सुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो ।
पहिलो दिन सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सुजाता पौडेल र शान्तिदेवी शर्माले बहस गरेका थिए । तर शर्माको बहस नसकिएकाले आज पनि जारी रहने जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख कमला काफ्लेले जानकारी दिइन् ।
शर्मापछि सरकारी वकिलकै तर्फबाट विपिनराज तिवारी, कमला काफ्लेसहित नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकास गौतमले बहस गर्नेछन् ।
बहसका लागि रेग्मी र गौतम मंगलबार नै पोखरा पुगिसकेका छन् । सरकारी पक्षको बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ । प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, रास्वपा सांसद सोबिता गौतमलगायतले बहस गर्ने तयारीछ ।
दुवै पक्षको बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । यसपछि बल्ल प्रतिवादीहरूलाई थुनामै राखेर मुद्दाको फैसला गर्ने कि थुनाबाहिर राखेर गर्ने आदेश अदालतबाट आउनेछ । मंगलबार सरकारी वकिलका तर्फबाट बहस गर्नेहरूले सबै प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका छन् ।
यसअघि पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङसँग अदालतले बयान लिएको थियो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा विभिन्न संस्थासमेत जम्मा ४४ प्रतिवादी छन्, जसमध्ये ३१ प्रतिवादी व्यक्ति छन्। उनीहरूबाट १ अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।