काठमाडौं । ‘सबै पोसाकको सम्मान : नेपाली टोपी नेपाली पहिचान’ भन्ने नाराका साथ १२औं राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइएको छ । नेपाली टोपी लगाएर काठमाडौंको बुधबार बिहान बसन्तपुरमा जम्मा भएका युवाले नाचगानसहित दिवस मनाएका हुन् ।
जागरुक युवा अभियान नेपालको संयोजनमा भएको कार्यक्रममा युवाहरूले नेपाली पहिचानको रुपमा रहेका दौरा सुरुवाल, ढाकाटोपी र गुन्यु चोली लगाउन र संरक्षण गर्नुपर्ने आह्वान गरे ।
अभियानका संयोजक घनश्याम श्रेष्ठका अनुसार तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले दौरा सुरुवाल, ढाकाटोपी र गुन्यु चोलीलाई राष्ट्रिय पोसाकबाट हटाएपछि यी पोसाक ओझेलमा परेको भन्दै युवाहरूले ढाकाटोपी, भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गर्न माग गर्दै राष्ट्रिय पोषक तथा टोपी दिवश मनाइन थालिएको हो । त्यसयता नेपालमा हरेक वर्ष जनवरी १ लाई राष्ट्रिय पोसाक तथा टोपी दिवसकारुपमा मनाउने गरिएको छ ।