Logo
Logo

न्युयोर्कका मेयरले गरे राजेशपायललाई ‘विशेष सम्मान’


7.7k
Shares

काठमाडौं । लोकप्रिय गायक राजेशपायल राईलाई अमेरिकाको न्यूयोर्कमा ‘विशेष सम्मान’ प्रदान गरिएको छ ।
नेपाली अमेरिकन कलाकार संघ, अमेरिकाद्वारा आयोजित ‘रमझम साँझ–२०२४’ मा ‘राई ईज किङ’का रूपमा चर्चित राजेशपायललाई विशेष सम्मान प्रदान गरिएको हो ।

न्यूयोर्कस्थित गुल्सन टेरेश हलमा भव्य रुपमा आयोजित कार्यक्रममा न्यूयोर्क सिटीका मेयर एरिक आडम्सले उनलाई सम्मान प्रदान गरेका थिए । यो सम्मान भाषा, संगीत र समाजसेवाका क्षेत्रमा गरिएको अतुलनीय योगदानको कदरस्वरूप प्रदान गरिन्छ ।
नेपाली सांगीतिक क्षेत्रका मेगास्टार राजेशपायलले यही डिसेम्बर २८ तारिख (शनिबार) ‘रमझम साँझ–२०२४’मा दर्शकलाई आफ्नो दम्दार प्रस्तुती रमझम गराएका थिए ।

न्यूयोर्कको कार्यक्रम सकेर उनी सिधै क्यानडा गएका छन् । क्यानडाको विभिन्न सात स्थानमा कन्सर्ट छ । क्यानडाको कन्सर्ट सकेर पुनः न्यूयोर्क आउने उनको तालिका छ । त्यसपछि न्यूयोर्कको डल्लासमा सांगीतिक प्रस्तुति दिनेछन् । विदेशमा बढी व्यस्त रहँदै आएका राजेशपायल डल्लासपछि जर्मनी जानेछन् ।

जर्मनीमा उनको कार्यक्रम तय भइसकेको छ । करिब एक वर्षयता सांगीतिक वल्ड टुरमा रहेका उनी जर्मनीको कार्यक्रम सकेपछि मात्र नेपाल फर्कनेछन् ।

कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि सपना श्रीको उपस्थितिमा गरिएको थियो भने स्वागत मन्तव्य नेपाली अमेरिकन कलाकार संघका वरिष्ठ उपाध्यक्ष बिमल डाँगीले दिएका थिए । संरक्षक निशा सुनारले नेपाली सांस्कृतिक परम्पराको संरक्षण र प्रवद्र्धनमा कार्यक्रमको भूमिका र योगदानलाई सम्मान गर्दै सबै सहभागीलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।

नेपाली अमेरिकन कलाकार संघकी अध्यक्ष बसन्ती राईले यस कार्यक्रमको दीर्घकालीन योगदान र महत्त्वलाई प्रष्ट्याउँदै सबैलाई आभार व्यक्त गरिन् । कार्यक्रममा राजेशपायल राईलगायत प्रेम सेन्चुरी, विश्व कीर्तिमानी दिनेश सुनारको ‘पार्कर’प्रस्तुतिका अलावा राजन ठकुरीको गायनले माहोल थप रोमान्चित बनेको थियो ।

कार्यक्रमको सञ्चालन संगीता थापा मगर र दिलीप शिरीष मगरले गरेका थिए । उनीहरूको आकर्षक सञ्चालनले कार्यक्रमलाई थप मनोरञ्जनात्मक र आकर्षक बनाएको थियो । कार्यक्रमको समापन डीजे राजाको प्रस्तुत संगीतसँगै भएको डीजे पार्टीले हलको वातावरणलाई एकदम उत्साही र ऊर्जा पूर्ण बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्