पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका पूर्वउपप्रधानमन्त्री एवं एमालेका पूर्व वरिष्ठ उपाध्यक्ष वामदेव गौतम माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध हुने तरखरमा छन् । नेपाल र झलनाथ खनालपछिको तेस्रो वरियता दिन एकीकृत समाजवादी तयार देखिएको छ । हाल एकीकृत समाजवादीमा अध्यक्ष पूर्वप्रधानमन्त्री नेपाल छन् भने दोस्रो वरियतामा पूर्वप्रधानमन्त्री खनाल छन् । गौतम एमालेको दुई कार्यकाल र एमाले–माओवादी एकताबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पनि उपाध्यक्ष थिए ।
एमालेबाट राजीनामा दिएर गौतमले पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका छन् । तर, पछिल्लो समय गौतम एकीकृत समाजवादीमा आबद्ध भएर अभियानलाई अगाडि बढाउने सोचमा पुगेका छन् । एकीकृत समाजवादीसँग पार्टी एकताका लागि गौतमले तीन सदस्यीय वार्ता समितिसमेत गठन गरेका छन् ।
अभियानका महासचिव डिबी कार्कीको नेतृत्वमा सचिव भगवती विष्ट र स्थायी समिति सदस्य लोकनाथ धमला वार्ता टोलीमा छन् । तर, एकीकृत समाजवादीले वार्ता समिति नबनाएका कारण औपचारिक रुपमा वार्ताटोलीले काम अघि बढाउन पाएको छैन ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी ३४४ सदस्यीय छ । अभियानमा उपाध्यक्ष सात, महासचिव एक, उपमहासचिव एक, सचिव एक, कोषाध्यक्षसहित केन्द्रीय कमिटी ८९ सदस्यीय छ । अन्य सदस्यहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती छ ।
एकीकृत समाजवादीसँगको एकता प्रयास, एमाले र माओवादीसँग एकताको सम्भावना, कम्युनिष्ट पार्टीको भविष्यलगायतका विषयमा पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमसँग दृष्टिले गरेको कुराकानीको सम्पादित अंश ।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग तपाईँको नेतृत्वको ‘पार्टी एकता राष्ट्रिय अभियान’ कहिले एकता हुन्छ ?
हामीले विभिन्न दलहरूसँग वार्ता, छलफल गरेका छौँ । जहिलेदेखि एकीकृत समाजवादी बन्यो, त्यसबेलादेखि जाने भन्दाभन्दा उहाँहरूले आलटाल गर्दै आउनुभएको थियो । यसपटक अलि ठोस रुपमा केही गर्न सकिन्छ कि भनेर लागेका छौँ । अब हेरौँ के हुन्छ ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी सबै एक ठाउँमा उभिनुपर्छ भन्ने ‘पार्टी एकता राष्ट्रिय अभियान’को उद्देश्य एकीकृत समाजवादीसँग एकता गरेर पुरा हुन्छ त ?
हाम्रो त्यो मान्यता छँदैछ । एकीकृत समाजवादीमा गएपछि एमाले र माओवादीसँग एकता गर्ने हो । पहिले एमाले, माओवादी र एकीकृत समाजवादीलाई एक ठाउँमा ल्याउने हो । त्यसपछि हामी अगाडि बढ्छौँ । विप्लव, मोहन वैद्य, मोहनविक्रम सिंहदेखि सानातिना सबै कम्युनिष्ट पार्टीलाई बलुटेर वृहत कम्युनिष्ट पार्टी निर्माण गर्ने हाम्रो उद्देश्य हो । त्यसका लागि समय लाग्ला तर कम्युनिष्ट पार्टीहरू एक ठाउँमा नआई धर छैन ।
एकीकृत समाजवादीमा तपाईँहरू कहिलेसम्म जानु हुन्छ ?
कुरा हुँदै छ । कुरा टुंगिन लाग्छ होला १०/१५ दिन अझै ।
अब मिल्न बाँकी एजेन्डा के छ ?
हाम्रा साथीहरू कति जना राख्ने, कुन ठाउँमा राख्ने, के जिम्मेवारी दिने भन्ने एजेन्डा एकातिर भयो । त्यसको पनि चाँडै टुंगो लगाउनुप¥यो । त्यसो त हामीले त्यतिबेलै एकीकृत समाजवादीसँग एकता गर्ने भनेर निर्णय गरेका हौँ । तर, उहाँहरूले त्यतिबेला वास्ता गर्नुभएन । उहाँहरूले १०औँ महाधिवेशन गर्नुभयो । हामीलाई सामेल गर्नुभएन । हामीलाई महाधिवेशनपछि एकता गर्ने भन्नुभयो । एकले अर्कालाई हराउने कुरा महाधिवेशनमा भए । तै पनि हामी जान्छौँ भनेर दुई÷चार पटक छलफल ग¥यौँ । अस्ति माधवकुमार नेपाल आफैँ आउनुभयो । उहाँले अरूअरू कुरा गर्नुभयो । तर, पार्टी एकताको विषयमा उहाँ चुप बस्नुभयो ।
पार्टी एकताको विषयमा नेपाल चुप बस्नुको कारण के होला ?
मैले भने–वामदेव आएर यसो गर्छ, उसो गर्छ भन्ने तपाईँलाई शंका लागेको छ । तपाईँ ढुक्क हुनुस् । म त्यस्तो कहिल्यै पनि गर्दिनँ । जसले मलाई संरक्षण गर्छ, त्यसलाई नै उखेलेर फ्याल्ने काम मैले गर्दिनँ । बोक्न सकिँदैन भने विद्रोह गरेर हिँड्ने गरिएकै छ । पुष्पलाल श्रेष्ठसँग पनि विद्रोह गरियो । अर्कोसँग पनि विद्रोह गरियो । नेकपा एमालेमै विद्रोह गरेर अलग भइयो । तर, सँगै बस्दाखेरी आफ्नो कमरेडलाई अन्तर्घात गरेर म चल्दैन, तपाईँ ढुक्क हुनुस् ।
तपाईँले आश्वस्त पारेपछि उहाँले के भन्नुभयो त ?
मैले प्रस्ट रूपमा कुरा राखिदिएँ । तर, त्यो विषयमा उहाँ बोल्नुभएन ।
त्यसो भए नेपाल तपाईँको निवासमा किन जानुभएको रहेछ ?
माधव नेपालसहितका साथीहरू आउनुभएको थियो । अनेक सवालमा कुरा भए । कुराकानीको क्रममा उहाँले ‘दुई–दुई जनाको वार्ता टोली बनाउनुप¥यो’ भन्नुभयो । मैले दुईजनाको वार्ता टोली बनाइदिएँ । होइन, तीनजनाको वार्ता टोली बनाउने रे भनेपछि लौ हुन्छ त्यसो भए भनेर मैले तीनजनाको वार्ता टोली बनाइदिएँ । महासचिव डीबी कार्की, सचिव भगवती चौधरी र स्थायी समिति सदस्य लोकराज धमला वार्ता टोलीमा हुनुहुन्छ । उतातिर वार्ता टोली बन्दै बन्दैन ।
भनेपछि अहिले सम्वादहिनताको अवस्था हो ?
पछि, दुईजना होइन, एकजना आउनुस् भन्नुभएछ । अनि वार्ता टोलीबाट एकजना साथी जानुभयो । के के कुरा गर्ने हो भन्दा उहाँहरूले भन्नुभएछ– हाम्रो यहाँ सबै चीज सकिएको छ । अस्ति भर्खर महाधिवेशन गरियो, केन्द्रीय कमिटी र पदाधिकारी चयन गरियो । सबै नेताको जिम्मेवारी बाँडफाँड गरिसकिएको छ । कहिकतै खाली छैन । वामदेव आउने नेता हुने, अफिसमा बस्ने, माधव नेपालसँगै भाषण गर्न जाने, एक्लै जानुपर्छ भने पनि जाने गरी अहिले अगाडि बढौँ । एकता अभियानका अरू सबैको पनि वामदेवको जस्तै हुन्छ । काम गर्ने भनेको त केही पनि छैन । इन्चार्ज नै कति धेरै । कुनै ठाउँमा त सात जनासम्म एउटै जिम्मेवारी छन् रे । म त दङदास परेर बसेको छु ।
जे भएपनि तपाईँ एकीकृत समाजवादीमा जान चाहिँ तयार हो ?
मलाई लगेर सबै मिलाउ भनेर एक पटक उथलपुथल गरेर मिलाउने जिम्मा दिने हो भने मैले मिलाइदिन्थे । उथलपुथल गर्ने बितिक्कै अहिले त सत्ता खोज्न आयो भन्छन भनेर एकथरी आइहाल्छन । गति ल्याउनका निम्ति जमेको पानीमा ढुंगा हान्नुपर्छ । त्यसपछि बल्ल तरङ्ग आउँछ । गति नै नल्याउने हो भने त केही नगरी चुप बसे भइहाल्यो नि, पार्टी किन खोल्नुप¥यो ?
तपाईंलाई फेरि एक पटक पार्टी सशक्त बनाउन सक्छु भन्ने आत्मविश्वास छ ?
एकता अभियान चलाउन मैले अहिले सक्दिनँ । पैसा पनि चाहिन्छ । कार्यकर्ता पनि चाहिन्छन् । मलाई पैसाको सपोर्ट हुने बितिक्कै मैले उत्पात गराइदिहाल्छु । त्यो सपोर्ट मसँग अहिले छैन । एकीकृत समाजवादीमा गएर ‘लौ काम कसरी गर्ने हो, एमालेको टक्करमा, कांग्रेसको टक्करमा लैजाउ’ भन्ने हो भने मैले एक वर्षमा कांग्रेसको टक्करमा लैजाने अवस्था सिर्जना गर्छु ।
एमाले, माओवादीलाई पनि एकतामा ल्याउने भन्नुभयो । तर, एमालेले त भीम रावललाई पार्टीबाटै निष्कासन गरिदियो । बिन्दा पाण्डे, उषाकिरण तिम्सेनालाई प्रश्न गरेकै कारण निलम्बन गरिदियो । एकताको सम्भावना छ र ?
माक्र्सवादी दर्शनले के भन्छ भने–फरक विचार राख्नेहरू भएनन् भने कम्युनिष्ट पार्टी समाप्त हुन्छ । कम्युनिष्ट पार्टी बाँच्नको निम्ति, लामो समयसम्म नफुटिकन सशक्त रुपमा अगाडि बढ्नको निम्ति त्यो पार्टीभित्र फरक फरक विचारहरू एकतावद्ध भएर रहने स्थिति सिर्जना हुनुपर्छ । एउटै विषयमा पनि टुंगो लगाउनुभन्दा पहिले छलफल गरेर निर्णय गर्नुपर्छ । निर्णय गर्नका निम्ति दुई घण्टाको समय छ भने, डेढ घण्टा सबैको विचार बुझ्ने, यसमा खण्डनमण्डन गर्नुस् भन्नुपर्छ । सबैले समर्थन गर्ने होइन, आलोचना पनि गर्न सक्छन् । एक कोणबाट समर्थन र अर्को कोणबाट विरोध हुन सक्छ । त्यसरी गरिएको छलफलबाट सही निष्कर्ष निस्किन्छ । एमालेमा आलोचना गर्नेको सङ्ख्या जम्मा तीनजना रहेछ । अरू सबैले समर्थन गरेका रहेछन् ।
तीनजनालाई बोलाएर कमरेड यस्तो यस्तो बनाउन खोजेको, तपाईँहरूको विचार सुरक्षित रहन्छ भन्नुपर्ने ठाउँमा अरू कसैले नभन्दा तीनजनाले औलो उठाए । केपी कमरेडले यो बुझ्नुप¥यो कि मेरो पार्टीभित्र मलाई टक्कर दिन सक्ने क्षमता भएका तीनजना नेता रहेछन् । उहाँले त उल्टै कारबाही गरिदिनुभएछ । एकजनालाई त निष्कासन नै गरिदिनुभएछ । त्यो कम्युनिष्ट पार्टीको तरिका होइन । कम्युनिष्ट पार्टीले जहिले पनि फरक विचारलाई सम्मान गर्छ । समर्थन र विरोधको संघर्षबाट नयाँ निष्कर्ष निस्कन्छ । त्यो सही हुन्छ । गौतम बुद्धले पनि त्यही भनेको हो । माक्र्स, एंगल्स, लेनिन, माओले पनि त्यही भनेको हो । अन्तरपार्टी संघर्ष कम्युनिष्ट पार्टीको मूल तत्व हो । पार्टीव्यापी रुपमा फरक विचारमा व्यापक छलफल हुनुपर्छ । त्यसले पार्टी झन् बलियो हुन्छ ।
जननेता मदन भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने भन्ने पार्टी नै फरक विचारको सम्मान नगर्ने स्थितिमा कसरी पुग्यो ?
अहिले एमालेमा ओलीसित काँधमा काँध जोडेर हिँड्ने कोही छैनन् । ‘यस्तो गर्नु हुन्न नि कमरेड’ भनेर आँट गर्ने मान्छे पनि छैन । ‘यो निर्णय सैद्धान्तिक भएन, यसले पार्टीलाई नोक्सान पु¥याउँछ’ भन्ने पनि मान्छे छैन । खुसुक्क कानमा यस्तो गर्नु हुन्न भन्ने मान्छे पनि छैन । त्यही कारण एमालेमा अहिलेको स्थिति आएको हो ।
यही पाराले मिसन ८४ मा एमालेको हालत के होला ?
मिसन ८४ अगाडि नै म त सबैलाई मिलाउने प्रयासमा छु । म कसैलाई नमस्कार गर्छु, कसैको खुट्टा समाउछु, कसैसँग रुन्छु, कसैलाई के गर्छु । हामीले कम्युनिष्ट पार्टीलाई जिन्दगी दिएका छौँ । सबैलाई फकाएर एक ठाउँमा ल्याउने हो । प्रतिशोध साँध्ने होइन । मिसन ८४ सम्म सबै कम्युनिष्ट दलहरू मिल्नुको विकल्प म देख्दिनँ ।
कम्युनिष्टहरू एक ठाउँमा आउने स्थिति ८४ अघि नै बन्छ त ?
आउँछ, आउँछ । एक दिन मरिन्छ, मरिन्छ । एकदिन मरे पनि हामीजस्तै अरू जन्मिन्छन् । माक्र्सले भनेका छन्, कम्युनिष्ट पार्टी वर्गीय पार्टी हो । पुँजीवादी पार्टी पनि वर्गीय नै हो । वर्गभन्दा बाहिर जबसम्म मानवजाति विकसित हुँदैन, त्यसबेलासम्म वर्गको आधारमा अन्तरसंघर्ष चलिरहेको हुन्छ । पुँजीपति वर्गको एउटा पार्टी र श्रमजीवि वर्गको अर्को पार्टी भइरहन्छ । हाम्रोमा ती दुई किसिमको पार्टी भनेको एउटा कम्युनिष्ट, अर्को कांग्रेस पार्टी हो । अनि कम्युनिष्ट पार्टी सबै नमिली एउटै कम्युनिष्ट पार्टी बन्छ त ? फुटेको छ, टुक्राटुक्रा भएको छ, यताउता भएको छ । त्यो त सबैले स्वीकार गर्नुपर्छ । सबैलाई मिलाएर हामी जाने भन्नुपर्छ । मिल्नै नसक्ने, सिद्धान्त पनि फरक छ, अहिले पनि फौज बनाउने अनि लडाईं लड्ने कसैले भन्छ भने त्यसलाई चाहिँ छाडिदिने हो । अहिले राष्ट्रको ऐन, कानुन, संविधान मानेर बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली अवलम्बन गरेर समाजवाद पनि निर्माण गर्ने र राज्य पनि सञ्चालन गर्ने गरी अगाडि जाने पार्टी हो मदन भण्डारीले स्थापना गरेको पार्टी । हामी त्यसरी जानुको विकल्प छैन ।
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि तपाईँको वार्ता, छलफल भइरहेको छ ?
विभिन्न चरणमा छलफल भइरहेको छ । केही साथीहरूले एमालेसँग पनि छलफल गरिराख्नुभएको छ । केहीले माओवादीसँग छलफल गरिराख्नुभएको छ । कतिपय साथीले विप्लवसँग, कतिपयले रास्वपा, जसपासँग छलफल गरिरहनुभएको छ । धेरै ठाउँमा वार्ता, छलफल चलिराखेको छ ।
रास्वपा विचारमा त मिल्दैन नि ?
तपाईंहरूसँग जल्दाबल्दा मानिस छन् । हामीसँग दर्शन छ । ल आउनुस्, यही दर्शनभित्र बसेर समृद्धि कायम गर्ने गरी अगाडि बढ्नुस्, हामी साथ दिन्छौँ भनेर भन्न किन नसकिने र ? राजावादीबाहेक सबैसित मिलेर जाऔँ भन्न सकिन्छ । कम्युनिष्ट पार्टीको झन्डा हँसिया हथौडाभित्र जो कोही आउँछ भने हामीले स्वागत गरेर अगाडि बढ्नुपर्छ ।
एकता अभियानको तर्फबाट अन्तिममा के आह्वान छ ?
सुरुदेखि अहिलेसम्म आह्वानै आह्वान छ । सारा सबै तयार होऔँ, एउटै कम्युनिष्ट पार्टी, एउटै झन्डा फहराउँदै जाने हो । २० वर्षमा नेपाललाई युरोप–अमेरिकाको दाँजोमा पु¥याउन सकिन्छ । त्यो पनि पुँजीवादबाट होइन, समाजवाद कायम गरेर । हाम्रो आह्वान यही हो, यसैको निम्ति सबै आ–आफ्नो स्थानबाट आजैदेखि लाग्नुपर्छ ।