काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निकालिएका मुकुल ढकाललाई पुरानै जिम्मेवारी दिएर पार्टीमा फर्काउन माग गर्दै पार्टीमा निवेदन परेको छ ।
पार्टीका कोशी प्रदेश सभापति राजेश तिम्सिनाले ढकाललाई महामन्त्री, प्रवक्ता, केन्द्रीय सदस्य एवम् साधारण सदस्यको जिम्मेवारीमा फर्काउन माग गर्दै केन्द्रीय कार्यालयमा पत्र दर्ता गराएका हुन् ।
उनीहरूले पार्टी आजसम्मकै सबैभन्दा ठुलो सङ्कटको घडीमा रहेको महसुस गरेको भन्दै उनीहरुले लेखेका छन, ‘रास्वपाले रास्वपा मात्रको भविष्य निर्धारण गरिरहेको छैन, समग्र वैकल्पिक राजनीति र त्यो भन्दा ठुलो नेपाली जनताको आशाको भविष्य पनि निर्धारण गरिरहेको छ ।’
निवेदनमा उनीहरूले पछिल्लो असार महिना यता पार्टीमा जे जति घटना घटे, त्यो दुःखद भएको भन्दै पार्टीको यो घडीमा सबै मिलेर अघि बढ्नुपर्ने उल्लेख गरेका छन् ।
‘त्यसका लागी केहि कोर्स करेक्सन आवश्यक छन् । सबै निर्णयबाट आफ्नो हस्ताक्षर र सहमति फिर्ता लिएको जानकारी गराउँछु‚’ निवेदनमा लेखिएको छ‚ ‘राइट टू रिकलको प्रावधानलाई नीतिमै अवलम्बन गरेको हाम्रो पार्टीमा यसरी हस्ताक्षर र सहमति फिर्ता गर्नु पार्टी नीतिमै रहेको तथ्य मैले बुझेको छु ।’
निवेदनमा थप लेखिएको छ‚ ‘यसर्थ, एक आपसका सबै तुष सबै पक्षबाट त्यागौँ र सङ्कटको यो घडी फुटेर होइन, जुटेर सामना गरौँ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली जनताका लागी एउटा बलियो र भरोसायुक्त पार्टीको रूपमा स्थापना गरौँ ।’