काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले नेमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन ल्याउन खोजेको भनेर पत्याउनुपर्ने हो ? भन्दै प्रश्न गरेका छन् । बुधबार काठमाडौंमा आयोपजत पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले ओलीले देशको विकास नगर्ने दावी गर्दै यस्तो प्रश्न गरेका हुन् ।
नेता रावले भने, ‘मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएकाहरू भ्रष्ट, अनैतिक, विचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याइदिनुपर्ने हो र ?’ उनले वर्तमान सरकारले भ्रष्टाचार काण्डहरूमा ठूला भनिएकाहरूलाई जोगाउने काम गरिरहेको आरोप लगाए ।
‘सत्तामा हालीमुहाली गर्ने भनिएकाहरू नै हस्तक्षेप गर्ने उपकरण बनेका छन्,’ नेता रावलले भने, ‘भाडाका सिपाही, श्रमीक, सुसारे, सेवक भएर विदेशमा पसिना बगाउन थुप्रै नेपाली बाध्य भइरहेका छन् ।’ एमालेबाट निष्कासित भएपछि रावलले आज पहिलोपटक पत्रकार सम्मेलन गरेका हुन् ।