काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावल यतिबेला आफ्नो नयाँ राजनीतिक यात्रा गर्ने तयारीमा छन् । कम्युनिस्ट र उदारवादी विचारधारा समेट्ने उनको उद्देश्य छ ।
तीन दशकभन्दा लामो समय एमालेको राजनीति गरेका रावलको योजना गैरकम्युनिस्ट पार्टी बनाउने छ । तत्काल भने पार्टी नखोल्ने बताएका नेता रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा लाग्ने घोषणा गरिसकेका छन् ।
बुधवार राजधानीमा एक पत्रकार सम्मेलन गरी उनले एमाले घोषित सिद्धान्त, गन्तव्य र आदर्शविहीन बनेकाले वैकल्पिक पार्टी निर्माण गर्नु परेको बताए । उनले भने– ‘आफ्नै घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनलाई समेत अवमूल्यन गरी केपी ओली गुटले नेकपा एमालेलाई दिशाहीन बनाउनुका साथै राष्ट्रिय राजनीति नै सिद्धान्तहीन, गन्तव्यहीन र आदर्शहीन बाटोमा धकेलिएको छ’, एमालेको रङ्ग खुइलिएर बामालेमा परिणत भएको छ भन्नु पर्दा अत्यन्त दुःख लागेको लाग्छ ।’
पार्टी घोषणा गर्नुअघि उनले देशव्यापी अभियान सञ्चालन गर्ने, भित्रभित्रै सङ्गठन र सम्पर्क सञ्जाल बढाउँदै लैजाने सोच बनाएका छन् । ७ वटै प्रदेश र ७७ वटै जिल्लामा गएर जनमनोविज्ञान बुझेर प्राप्त राय सुझावका आधारमा नयाँ पार्टी घोषणा गर्ने उनको योजना छ । उनी भन्छन्– ‘अहिले मातृभूमि जागरण अभियान भविष्यको सशक्त देशभक्तिपूर्ण सङ्गठन निर्माणकाे आधार हुनेछ ।’
नेता रावलले गत स्थानीय तहको निर्वाचनदेखि स्वतन्त्र रूपमा उदाएका काठमाडौं महानगरका मेयर बालेन शाह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ, धनगढी उपमहानगरका मेयर गोपी हमाल र विवादित छवि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग समेत सहकार्य गर्ने चर्चा छ ।
पत्रकार सम्मेलनको अन्तिममा सञ्चारकर्मीले ‘अहिले बालेन, हर्क साम्पाङ दुर्गा प्रसाईँहरूको पनि उदय भएको छ । तपाईँले तत्काल पार्टी नखोली अभियान चलाउने घोषणा गर्नु भएको छ, यही अभियानमार्फत सबैलाई जोडेर लाने होइन भन्ने एउटा प्रश्न पनि छ नि ?’ भन्दै प्रश्न गरेका थिए ।
उक्त प्रश्नको जवाफ दिँदै नेता रावलले सबै देशभक्तहरूलाई एकसाथ जोडेर लान सकिने बताए । रावलले भने– ‘देश सबको साझा हो । सबै देशभक्तहरूको उद्देश्य एउटै हुन्छ । आफ्नो देशलाई बलियो बनाउने, समृद्ध बनाउने, आजको प्रतिस्पर्धामा शिर ठाडो गरेर हिँड्ने । चाहे तपाईँ बालेन भन्नुहोस् या हर्क साम्पाङ, दुर्गा प्रसाईँ भन्नुहोस् या गोपी हमाल या अरू कोही पनि व्यक्ति भन्नुहोस् । देश र जनताको लागि समर्पित भएर म काम गर्छु भनेर केही व्यक्ति आउँछ भने त्यस्ता व्यक्तिहरूसँग हातेमालो गर्न नपर्ने कारण के छ र ?’
दुर्गा प्रसाईँविरुद्ध अहिले अदालतमा मुद्दा चलिरहेको र त्यो मुद्दा किनारा नलागेसम्म हेर्नुपर्ने बताए । उनले भने, ‘प्रसाईँ जीले उठाएका कतिपय कुराहरू मैले सुने । यो अर्थतन्त्र दलालहरूको हातमा जानु भएन । ठूलाठूला कतिपय व्यक्तिहरूले चाहिँ मनपरी गरे भन्नु भएको उहाँको कुरा मैले सुने । अब उहाँमाथि मुद्दा लागेको छ । त्यो के हुन्छ हेर्नपर्छ । तर देशको पक्षमा बोल्दा, तथ्य कुरा बोल्दा यदि कसैले कसैप्रति शक्तिको आडमा उन्मादमा दमनको दुष्प्रयास गर्छ भने नेपालको इतिहास साक्षी छ, त्यस्ताहरूले अन्ततः पराजित हुनेछन् । ’
एमालेमा रहेका असन्तुष्ट नेता, विगतमा कांग्रेससँग जोडिएर अलग भएका र असन्तुष्ट बनेका नेतालाई समेट्ने रावलको योजना छ । तर, नेता रावललाई एमालेको चिनिएका नेताहरूले साथ दिन्छन् कि दिँदैनन् भन्ने टुंगो लागिसकेको छैन ।
सोमबार सुदूरपश्चिम प्रदेशसभामा स्वतन्त्र सांसद डडेलधुराका तारा जोशी र अहिले बीपी कांग्रेसमा उपसभापति रहेका डडेलधुरा कांग्रेसका पूर्वसभापति कर्ण मल्लले रावलसँग भेटघाट गरेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो समयदेखि फरक मत राख्दै आएका रावलले २०७८ मा भएको दसौं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । त्यसपछि कुनै जिम्मेवारीमा नरहेर पनि उनले निरन्तर फरक मत राखेका थिए ।
पछिल्लो समय व्यवसायी मीनबहादुर गुरुङको दानबाट केन्द्रीय कार्यालय बनाउने निर्णय पार्टीले गर्दा पनि उनले आपत्ति जनाएका थिए । त्यसमा पार्टीले स्पष्टीकरण सोध्दा उनले जवाफ दिएनन् । त्यसपछि रावललाई गत साताको सचिवालय बैठकबाट संगठित सदस्यसमेत नरहने गरी एमालेले कारबाही गरेको थियो ।