काठमाडौं । सरकारले प्रत्येक वर्ष माघ १४ गते ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ मनाउने भएको छ । मङ्गलबार मन्त्रिपरिषद्ले गरेको निर्णयबारे आज जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले महान्यायाधिवक्ताको कार्यालय र अन्तर्गतको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए ।
त्यसैगरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८१ र पाँचखाल विशेष आर्थिक क्षेत्रलाई नेपाल सरकारले उपलब्ध गराएको जग्गामा निजी क्षेत्रबाट पूर्वाधार विकास गरेर सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा विकास तथा सञ्चालन गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय छ ।
सरकारले फिलिपिन्समा आयोजना हुने ‘फेस टु फेस मिटिङ’ मा २०८१ साल पुस २८ देखि माघ २ गतेसम्म नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नेतृत्वमा रहेको १३ सदस्यीय नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने र विशेष आर्थिक क्षेत्र प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा छत्रबहादुर कटुवाल (बाजुरा)लाई नियुक्त गर्ने पनि निर्णय गरेको छ ।
‘आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने र नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौँमा सरूवा गर्ने निर्णय भएको छ’, सरकारका प्रवक्ता गुरूङले भने ।
सरकारको नाममा दर्ता रहेको बाजुरा जिल्ला बूढीगङ्गा नगरपालिका–६ को एक हजार ७२५ वर्गमिटर सरकारी प्रकृतिको जग्गा बूढीगङ्गा नगरपालिकाको प्रशासकीय भवन निर्माणार्थ बूढीगङ्गा नगरपालिका, बाजुरालाई उपयोग गर्न स्वीकृति दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।