Logo
Logo

माओवादीमा पुस्तान्तरण आरम्भ


शरद् रिजाल

1.6k
Shares


नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले नेतृत्व चयनका लागि सुझाएका तीन विकल्पमध्ये एक पुस्तान्तरणको आरम्भ पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)बाट लागू हुने भएको छ ।

उनले गत साउनमा पार्टीको स्थायी समिति बैठकमै नेतृत्व चयनका तीन विकल्प सुझाउँदै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र लोकतान्त्रिक विधिबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने पक्षमा लिखित प्रस्ताव नै पेश गरेका थिए ।

उनको प्रस्तावका विषयमा छलफल गर्ने बताउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सातै प्रदेशसहित गैरभौगोलिक प्रदेशमा आयोजना गरिएको परामर्श बैठक समेत सम्पन्न भइसकेका छन् । यसबारे आगामी केन्द्रीय समिति बैठकमा पेचिलो तवरले बहस हुने माओवादी वृत्तमा चर्चा छ । यद्यपि बैठक भने थप अनिश्चित बन्दै गइरहेको छ ।

अहिले शर्माद्वारा प्रस्ताव गरिएका तीन विकल्प मध्ये पुस्तान्तरणको एजेन्डा लागू गर्न भने विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) सफल भएको छ । शनिबार मतगणना सम्पन्न भएपछि ३२ वर्षे उमेर हदको विपक्षमा रहेकाहरुले अनेकौं हत्कण्डा गरी मतपरिणाम सार्वजनिक गर्न रोकेका थिए ।

मतपरिणाम सार्वजनिक गर्ने विषयमा विद्यार्थी संगठनमा व्याप्त किचलोेपछि पार्टीले पदाधिकारी बैठक बोलाएरै निर्वाचन समितिमार्फत नै यसको समाधान गर्ने निर्णय गरेको थियो । आइतबार बसेको माओवादी पदाधिकारी बैठकले निर्वाचन समितिलाई सम्पूर्ण अधिकार दिँदै मत परिणाम सार्वजनिक गर्ने निर्णय गरे पछि अब उमेरहद कायम हुने भएको छ ।

पक्ष र विपक्षमा भएको सार्वजनिक मतपरिणाम अनुसार अत्यधिक मत बदर गराइए पनि उमेर हदको पक्षमा ९०० र यसको विपक्षमा ८७९ मत खसेको थियो ।

निर्वाचन समितिका अनुसार उमेर हदको पक्षमा २१ मत बढी आएसँगै ३२ वर्षे उमेरहद कायम भएर सोही अन्तर्गत आगामी नेतृत्व चयन हुने भएको छ । त्यसका लागि माघ ५ गते उम्मेदवारको मनोनय र १२ गते निर्वाचन गर्न लागिएको छ ।

यो प्रावधानले माओवादी विद्यार्थी संगठनमा नयाँ पुस्ताको आगमनका लागि कोशेढुंगा सावित भएको विद्यार्थी नेताहरू बताउँछन् । अखिल(क्रान्तिकारी)को पदाधिकारीमा रहेर लामो समयदेखि एकाधिकार कायम गर्दै नेतृत्वको हठ नछाडेकाहरुलाई भने यसले बाहिरिन बाध्य गराएको छ ।

माओवादीका अधिकांश पदाधिकारीहरू उमेर हदको विपक्षमा रहेका थिए । सोही कारण पार्टी सत्ता र राजकीय सत्ताको चरम दुरुपयोग गर्दै देशका विभिन्न स्थानहरूमा उमेर हदका विरोधी विद्यार्थी नेताहरूले आफ्नो पक्षमा मत परिणाम ल्याउन अनेकौं जालझेल गरेका थिए ।

कतिपय कलेज नै नभएका स्थानबाटसमेत प्रतिनिधि छनोट गरी मतदान प्रक्रियामा सामेल गराएको बताइएको थियो । विपक्षमा परिणाम ल्याउन धाँधलीपूर्ण तवरले सम्पूर्ण शक्ति प्रयोग गरिए पनि मत परिणाम उमेर हदकै पक्षमा आएको छ ।

यसबाट विद्यार्थी संगठनको आडमा आफ्नो कमाऊ धन्दा चलाएकाहरू रुष्ट भए पनि ्र विशुद्ध शैक्षिक कर्ममा लागेका समग्र विद्यार्थीहरू भने उमेर हदको प्रावधान लागू भएपछि खुसी देखिएका छन् ।

गत असोजमा आयोजित अखिल(क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रमा आन्तरिक विवाद हुँदा नयाँ नेतृत्व चयन नगरेरै स्थगित भएको थियो ।

तत्कालीन पदाधिकारीहरूले अस्वाभाविक हर्कत गरेपछि राष्ट्रिय सम्मेलन स्थल नै रणमैदानमा परिणत भएको थियो । तिनै पदाधिकारीहरूले संगठनमा उमेर हद लागू गरिए आफू नेतृत्वबाटै विस्थापन हुने भयले जुनसुकै हालतमा पनि त्यसलाई भाँड्न पार्टी नेताकै सहयोगमा लागेका थिए । आफू निकटका विद्यार्थी नेताहरूलाई नेतृत्वमा पु¥याउनकै लागि उमेर हद लागू नगर्न पार्टीकै पदाधिकारी तहकै नेताहरू समेत लागेको माओवादी स्रोत बताउँछ ।

आइतबारको पदाधिकारी बैठकमै माओवादीका केही नेताहरूले उमेरहद लागू गर्न नहुने बताउँदै वैचारिक क्षमताका आधारमा नेतृत्व चयन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । उनीहरूले आफ्नो गुट निकटलाई संगठनको अध्यक्ष बनाउन उमेरको आधारमा नेतृत्व चयन गर्ने परिपार्टी गलत रहेको भन्दै असन्तुष्टि जनाएका थिए ।

चौतर्फी प्रतिकूलता र अवरोधका बीच पनि उपमहासचिव शर्माले पार्टीमा उठाएको एजेण्डाले विद्यार्थी संगठनमा स्थान पाएको छ । उनले यसलाई पार्टीमै लागू गर्ने प्रयत्नका साथ सङ्घर्षरत छन् । तथापि यसबारे सार्वजनिक छलफल समेत गर्न नदिएर प्रचण्डले केन्द्रीय समिति बैठक नै सारिरहेका छन् ।

यसअघि तय गरिएका बैठक सार्दै प्रचण्डले यही पुस २१ गते केन्द्रीय समिति बैठक बोलाए पनि अझै अनिश्चित रहेको छ । विद्यार्थी संगठनमा उमेरहदको प्रावधानले अब नयाँ र शैक्षिक गतिविधिमै संलग्नहरू मात्रै नेतृत्वमा पुग्ने अवसर उमेरहदको प्रावधानले सिर्जना गरेको छ । यद्यपि, यसकै माउ पार्टी माओवादीमा भने करिब ३६ वर्षदेखि नै पुष्पकमल दाहाल प्रचण्ड पार्टी नेतृत्वमा विराजमान छन् ।

पार्टीमा एकाधिकार कायम गर्दै प्रचण्डले आफ्ना विरोधीहरूलाई नेतृत्वमा पुग्ने अवसरबाट विमुख गराइरहेका बेला अखिल(क्रान्तिकारी)मा कायम भएको उमेर हदको प्रावधानले उनलाई नैतिक दबाब सिर्जना गरेको छ ।

कम्युनिष्ट पार्टीमा लामो समयदेखि एकल नेतृत्व कायम हुँदा नयाँले नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसरबाट वञ्चित हुने परिस्थिति विगतदेखि नै कायम रहँदै आएको हो ।

माओवादीमा पनि लामो समयदेखि व्याप्त यो समस्याले प्रचण्डका सहकर्मीहरु अधिकांशले पार्टी छाडेका छन् । नयाँ र क्षमतावानलाई अवसर प्रदान गर्ने भन्दा पनि आफ्नो नेतृत्व टिकाइरहने प्रचण्डको प्रवृत्तिले बहुसंख्यक नेताहरू बाहिरिएका हुन् । प्रचण्डका सारथिका रुपमा रहेका युद्धकालीन सहकर्मीहरु अहिले कोही पनि नहुँदा माओवादीको विगतको साख गिर्दो अवस्थामा पुगेको छ ।

पार्टी निकट विद्यार्थी संगठनमा उपमहासचिव शर्माको एजेन्डा कार्यान्वयन हुँदा प्रचण्डको अडान भने देशभरको मतदानबाटै अस्वीकृत भएको छ । अब शर्माको एजेण्डाले पार्टीमा पनि स्थान पाउने अपेक्षा आम नेता कार्यकर्ताहरुले गरेका छन् ।

भावी नेता कार्यकर्ता उत्पादन गर्ने थलोका रुपमा परिचित माओवादी विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)बाट आफ्नो एजेन्डा कार्यान्वयन गराउन शर्मा सफल भए पनि पार्टीमा भने त्यसको अभ्यास हुन निकै संकट रहेको बताइन्छ ।

प्रचण्डले आफ्नो नेतृत्व सुरक्षित गर्न जस्तोसुकै हत्कण्डा प्रयोग गर्ने भएकाले अझै शर्माको एजेण्डाले प्राथमिकता पाउन मुस्किल रहेको माओवादी नेताहरू बताउँछन् । तैपनि पार्टीमा लोकतान्त्रिकरणको प्रयत्न थालेका शर्मा आफ्नो अडानमा अविचलितरुपमा लागेको उनी निकट स्रोत बताउँछ ।

अखिल(क्रान्तिकारी)मा तय भएको उमेरहदको प्रावधानले पार्टीमा निषेधकारी प्रवृत्ति अंगीकार गरेका प्रचण्डलाई भने राम्रै सबक सिकाएको छ । यसले निकट समयमै प्रचण्ड पनि पार्टीमा लोकतान्त्रिक विधिबाटै नयाँ नेतृत्व चयन गर्ने पक्षमा जान बाध्य हुने अपेक्षा माओवादीजनले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्