काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का स्थायी कमिटी सदस्य विजय यादव ‘निर्विज’ र भारतको गुजरात राज्य ग्रामीण विकास, श्रम र रोजगार मन्त्री बलवन्तसिंह राजपूतबीच शिष्टाचार भेटघाट भएको छ ।
गुजरातको राजधानी गुजरातस्थित मन्त्रीको कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । सो भेटवार्तामा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन, आर्थिक विकासको सम्बन्धलाई प्रगाढ़ बनाउनुको साथै गुजरातमा रहेका नेपाली श्रमिकको सम्मान र सुरक्षाको विषयमा सहयोगलगायतका विषयमा कुराकानी भएको भेटघाटमा सहभागी आम उद्योग वाणिज्य संघका अध्यक्ष साजन जयसवालले बताए ।
भेटघाटमा ग्रामीण विकास, श्रम र रोजगार कैबिनेट मन्त्री बलवन्तसिंह राजपूतले नेपालका पूर्वमन्त्री प्रभु साहको नेतृत्वको आम जनता पार्टीले अपनाएको बिचारधाराको सराहना गर्दै निकट भविष्यमा नेपाल भ्रमण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आम जनता पार्टीका अनुसार केही दिनअघि मात्र स्थायी कमिटी सदस्य विजय यादव निर्विजको आतिथ्यमा भारतको मुम्बईमा आम नेपाली एकता समाजको बिशेष बैठक शेख इरसादको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नेपालका बिभिन्न ठाउँबाट मुबई, नयाँदिल्ली लगायतका सहरमा काम गर्ने नेपालीहरुका सम्मान एवं सुरक्षाका लागि आजपा अध्यक्ष प्रभु साहको उपस्थितिमा चाँडै बृहत् भेलाले गर्ने तयारी रहेको स्थायी कमिटी सदस्य एवं प्रभु साहको स्वकीय सचिवसमेत रहेका विजय यादव निर्विजले बताए ।