काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपीको थुनछेक बहस आज (बिहीबार) पनि जारी रहने भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा हिजो सरकारी वकिलले बहस सकेपछि आजदेखि जाहेरवाला सहकारी पीडितका कानून व्यवसायीले बहस गर्दैछन् ।
जाहेरवालाका तर्फबाट बहस गर्न १२ जना कानुन व्यवसायीले वकालतनामा पेश गरेको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । सबैले बहस गर्ने वा नगर्ने टुंगो लागिनसकेको उनले बताए । जाहेरवालाको बहस सकिएपछि प्रतिवादीका तर्फबाट कानून व्यवसायीले बहस शुरु गर्नेछन् ।
प्रतिवादीका तर्फबाट बहस गर्नका लागि बुधबारसम्म वरिष्ठ अधिवक्तासहित १५ कानून व्यवसायीले वकलतनामा बुझाएका छन् । शुक्रबार र आइतबार प्रतिवादीका तर्फबाट बहस सकिए सोमबार जवाफी बहस हुन सक्ने र चाँडोमा सोमबार नै थुनछेक आदेश हुन सक्ने खनालले जानकारी दिए । जवाफी बहस सकिए पछि न्यायधीशले प्रतिवादीहरुलाई साधारण तारेख वा धरौटीमा छाड्ने अथवा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्नेछन् ।