नेपालगन्ज । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले ठूला दल मिलेर सरकार बनेपनि सुधारका कुनै सकारात्मक सन्देश देखा पर्न नसकेको बताएका छन् ।
अवधि पत्रकार संघ नेपालले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा यादवले ठूला दल मिलेर सरकार बनाएको धेरै दिन भएपनि सुधारका कुनै सकारात्मक सन्देश देखा पर्न नसकेको बताएका हुन् । नयाँ सरकार बनेपछि पनि आर्थिक, राजनीतिक, प्रशासनीक, बिकास निर्माण लगायतका क्षेत्रमा कुनै सुधार हुन नसकेको उनको भनाइ छ ।
अध्यक्ष यादवले अहिलेको संविधानलाई परिमार्जन गर्नका लागि आफुहरुले धेरै अघि नै आन्दोलन गरेको भन्दै अब संविधान संशोधन र परिमार्जन आवश्यक रहेको धारणा राखे ।
विज्ञ सम्मिलित आयोग बनाई त्यसले दिएको सुझावलाई आधार मानेर संविधान संशोधन र परिमार्जन गर्नुपर्ने उनले बताए । अध्यक्ष यादवले संघीय सरकारले आवश्यक कानून बनाउन नसक्दा सङ्घीयता र गणतन्त्र संस्थागत गर्न कठिनाइ देखिएको धारणा पनि राखे ।