चीन पुगेको चौथो वर्षको गृष्मयाम । सहनै नसक्ने गरी तातो सिरकजस्तो भएर गर्मीले छोप्दै थियो । अहिले यी पंक्तिहरू पुसको मध्य जाडोमा लेख्दैछु । सम्झना त हो, जतिबेला पनि जेसुकै कुरा झुल्किदिन्छ स्मृतिपटलमा । चीनको धेरैजसो ठाउँमा जाडो भए पनि खपिनसक्नु जाडो हुन्छ र गर्मी भएपनि अति गर्मी हुन्छ ।
शाङहाईको होस्टेलमा त्यो साल किन हो अलि बढी नै गर्मी अनुभव भएको थियो । सँगैको इरानी विद्यार्थीको कोठामा आफ्नै पैसाले राखेको एयर कन्डिसनर थियो । हामीसँग भने त्यो हैसियत थिएन । जस्तै गर्मी भए पनि सहनै प¥यो । धन्न सानै भएपनि एउटा पंखासम्म थियो ।
काठमाडौँमा जन्मे हुर्केकी म । न गर्मीमा पंखा घुमाएर, न जाडोमा हिटर बालेर हुर्केँ । त्यति धेरै आवश्यक पनि लाग्दैनथ्यो त्यो बेला । यस पालीको शाङघाईको गर्मीले उहिल्यै तराईको बसाई र त्यहाँ भोगेका अनावश्यक दुःखका कुराहरू पनि सम्झाइदियो ।
राजविराजमा बिताएको पहिलो वर्षकै गर्मीले जीवनमा धेरै पाठ सिकाएको थियो । अढाई महिनाकी बच्चीलाई बोकेर जनताको सेवामा राजनैतिक कर्मलाई अगाडि बढाउन सकूँ भन्ने उद्देश्य लिएर पुगेकी थिएँ राजविराज । सानो बच्चासँगै झिटीझाम्टा पनि बोकेर बसको लामो यात्रा गर्नुपर्ने भएकोले साथी पूर्णशोभा पनि सँगै आइदिएकी थिइन् । म उतै “अर्धभूमिगत“ भएर बस्न थालेँ, पूर्णशोभा आफ्नै कर्मथलोमा फर्किइन् ।
त्योबेला पार्टीको नेता झलनाथ खनाल हुनुहुन्थ्यो । उहाँकै सल्लाहमा मैले राजविराज जाने निर्णय र आँट गरेकी थिएँ । त्यो बेला सरोज उदयपुरमा भूमिगत कार्यकर्ताको रूपमा काम गर्दै गरेकोले बेला मौकामा भेट्न पनि पाइएला भन्ने आशाले पनि त्यति सानो बच्चालाई समेत बोकेर त्यता जाने आँट गरेकी थिएँ । पार्टीकै एक कार्यकर्ताको प्राइभेट स्कूल भएकोले सहयोग पनि पक्कै हुन्छ भन्ने अनुमान र आशा पनि थियो ।
तर, त्यस्तो अपेक्षा गर्नु भूल रहेछ । कसैबाट केही अपेक्षा नगर्नु भन्ने त म आफै पनि भन्थेँ । तर, त्यो विशिष्ट परिस्थितिमा उचित निर्णय गर्न सकिनँ । आफ्नै अवस्थाअनुसार आफ्नै लयमा जे सकिन्छ गर्दै गएको भए जीवनको गति सहज र स्वाभाविक हुन्थ्यो । त्यतिबेला आफ्नो जीवनसाथी टाढा भए पनि म माइतीमा आमाको काखमै थिएँ ।
आफूलाई थाहै नभएको स्थितिमा बच्चासमेत लिएर हाम्फाल्नु मेरो बुध्दि नपुगेको नै भन्छु । त्यसैले दोष कसैलाई दिन्नँ । पार्टीको निर्देशन जे हुन्छ, त्यही गर्ने गर्थें । पार्टीभित्रकै साथीको घरमा पुगेपछि त्यही घरको एउटा सानो कोठामा बस्न थालेँ । सुत्ने खाटमुनी स्टोभमा आफँै खाना पकाएर खान्थेँ ।
सुरुमा त बच्चालाई हेर्ने सहयोगी पनि कोही थिएन । स्कूलमा सबैजसो क्लास लिनु पथ्र्यो । शिक्षकहरूको कमि त त्यहाँ पुगेको पहिलो हप्तामै महसुस भैसकेको थियो । मुस्किलले काटेँ एक–डेढ महिना ।
पछि मनु शर्मा आउनु भयो सँगै बस्न । उहाँले नै बच्चा हेरिदिन थाल्नुभयो । मैले साथी पाएँ । उहाँको श्रीमान पनि भूमिगत कार्यकर्ता हुनुहुन्थ्यो । मेरो जस्तै बेला बेलामा गोप्य रुपमा उहाँको श्रीमानसँग त्यहाँ भेटघाट होस् भन्ने हेतुले उहाँको निम्ति पनि त्यो व्यवस्था पार्टीले नै मिलाएको थियो । मनु आउनु भएपछि मलाई केही हलुका भयो उहाँको साथले ।
शाङहाईको गर्मीले सम्झाइदिएको थियो यो सबै । शाङहाईमा आफ्नो कोठामा एयर कन्डिसन नभए पनि एउटा फ्यानसम्म त थियो । आफ्नो परिवारको साथ थियो । बच्चालाई राम्रै स्कूलमा पढाउन पाइएको थियो । र आफूले पनि राम्रो युनिभर्सिटीमा पढ्न छात्रवृत्ति पनि पाएकी थिएँ ।
लेख्न थालेपछि र देशविदेशमा लेख छापिन थालेपछि अलिअलि पैसा पनि हुन थालेको थियो । खोजेकै जस्तो नभए पनि स्थिति पहिलेजस्तो दयनीय थिएन । त्योबेला पाएको छात्रवृत्तिका निम्ति म अहिलेसम्म पनि कृतज्ञ नै छु । मैले खोजेको भए विद्यावारिधि गर्ने अवसर पनि पाउँथेँ । तर परिवारको आवश्यकतालाई नै प्राथमिकता दिएँ त्योबेला ।
त्यो वर्षको गर्मीले अचानक तराईको गर्मी सम्झाएपछि आफ्नो अतीतमा फर्केछु । कमरेडको कोठामा थन्किरहेको एउटा सानो फ्यान पनि पाउन सकिनँ । आफूले किनेर ल्याउन पैसा पुग्दैनथियो । त्यही स्कूलको तलब चारसय रूपियाँले बच्चाको निम्ति आवश्यक कुरा, चामल, तरकारी र मट्टीतेललगायत सबै आवश्यक कुराहरू पु¥याउनुपथ्र्यो । सहयोगी साथी थपिँदा आवश्यकता पनि थपिएको थियो ।
तराईको गर्मीले गर्दा मुखभरी खटिरा र जिउभरी घमौरा निस्केको थियो । एकरात गर्मीले सुत्न नसकेकी सानी बच्चीलाई सानो पङ्खाले हम्किरहेकी थिएँ । खपिनस्कनु भएर त्योबेला डायरीमा कोरेका केही लाइनहरूले अझै झस्काइ दिन्छन्– ‘यो दुःख जीवनमा जरुरी थियो र ! कसैले थाहा नपाएको यो दुःख यातना हो कि देशमा परिवर्तनको निम्ति, आफ्नो ‘चन्द्र छुने’ उद्देश्यको निम्ति गरेको काम… ?’
त्यही रात मैले जीवनको बाटो मोड्छु भन्ने निर्णय गरेँ । त्यो प्रगति र उन्नतिको बाटो थिएन । एक वर्ष त स्कूलका बच्चाहरूको पढाई नबिग्रियोस् भन्ने उत्तरदायित्वबोधले पनि बिचमा छोड्नु उचित थिएन । पछि मैले साथीहरू र सरोजलाई पनि भनेँ– अर्को वर्ष म यसरी बस्ने छैन । र, अर्को वर्ष साँच्चै नै काठमाडौँमै फर्किएँ पनि ।
आफू हिँडेका बाटा र आफूले गरेका संघर्षहरू सजिलै बिर्सन नसकिने रहेछ । किशोरावस्थाको कलिलो मनले ग्रहण गरेका विचार र सपना, ती विचार र सपनाले डो¥याएर हिँडेका बाटा, ती बाटामा हिँड्दा गरेका अनुभव, यात्राको समीक्षा…हुँदै चीनलाई देख्ने सपना पनि पुरा भइसकेको थियो । सन् १९८६ देखि १९९०सम्म चीनमा बसेर त्यहाँ भोगेका सुख, दुःख, विदेशी भूमिमा गरेका विभिन्न ऋतुहरूको अनुभव, अनेक शहर र गाउँका यात्रा– यी कुनै पनि बिर्सन सकिने कुरा होइनन् ।
अनि चीनमा बिताएको चौथो वर्ष त झनै विशेष भइदियो । लेखनमा भएको प्रगतिले निकै सजिलो पारिदिएको थियो । बच्चाहरूको निम्ति ‘वैल हाइ–च्च्’ पत्रिकामा लेखेको पारिश्रमिक दिन पत्रकार स्यु चन्ले फोन गरेका थिए ।
पारिश्रमिक जम्मा ३० युयान मात्र थियो । तर त्योबेलाको निम्ति तीस यूयान पनि कम थिएन । पैसाको कुरा त अझै गौण नै थियो । विदेशी विद्यार्थी भएर त्यहाँको महत्वपूर्ण बाल–पत्रिकामा बच्चाहरूकै निम्ति केही लेख्न सक्नुले स्कूल र अभिभावकहरूमा पारेको प्रभाव भने राम्रो भएछ ।
फर्कने बेला त्यो पत्रिका भने सँगै ल्याउन सकिनछु । अब त त्यो घटना पनि स्मृतिमा मात्र सीमित रह्यो– लेख त बिर्सिनै सकेँ ।