काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नपर्ने बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रियसम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले पर्यटन क्षेत्रको विकासका लागि तीन तहको सरकारलाई जोड्न सरोकारवालाको दुई वटा बैठक सम्पन्न भइसकेको जानकारी गराए ।
मन्त्री पाण्डेले भने,’पर्यटन क्षेत्रका समस्यादेखि एयरलाइन्ससम्मका समस्या हल गर्नका लागि वृहत् रूपमा छलफलका लागि भेला गर्दै छौँ, त्यसमा समितिको साथ र सहयोगको अपेक्षा गरेका छौँ । पोखरा र भैरहवाको विमानस्थल नियमित सञ्चालनका लागि हामी समीक्षा गरिरहेका छौँ, केही निकाय त्यहाँ गएपछि दुईवटा एयरपोर्ट नियमित सञ्चालन हुनेछन ।’
उनले पर्यटन संस्कृति नीति अन्तिम चरणमा रहेकोे र नागरिक उड्डयनसम्बन्धी विधेयक मन्त्रिपरिषद्ले पास गरिसकेको जानकारी गराए । मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले मन्त्रालयका कामकारबाहीको बारेमा जानकारी गराउँदै पुँजी, प्रविधि, जनशक्तिको समितताले अपेक्षा अनुसारको काम गर्न नसकिएको उल्लेख गरे ।
समिति सभापति राजकिशोर यदवको अध्यक्षमा भएको बैठकमा पूर्व प्रधानमन्त्री एवं समिति सदस्य माधवकुमार नेपालले निजगढ अन्तर्रास्ट्रिय विमानस्थलको विकल्पमा अरू विकल्प हुन नसक्ने भन्दै निर्माणका लागि लगानी कर्ता खोज्न आग्रह गरे । उनले भने, ‘काठमाडौँ एयरपोर्टको विकल्प निजगढ मात्रै हो, पहिलो प्राथमिकता दिईयोस्, ट्रान्जिटको भूमिका पनि देखिन्छ ।’