प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राष्ट्रवादी देखाउन भारतलाई एकपछि अर्को चुनौती दिँदै आएका छन् । त्यसमध्ये एक हो २०७४ फागुन २१ मा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री साहिद अब्बासीलाई नेपाल भ्रमणमा बोलाएर उनले टुँडिखेलमा गार्ड अफ अनर दिलाए ।
सार्वभौम देशले विदेशी नेतालाई स्वनिर्णयबाट डाक्न र सम्मान दिन पाउँछ नै । तर, ओलीका यस्ता कदम एउटा देशविरुद्ध अर्को देशलाई देखाएर घुक्र्याउने र तर्साउने जस्ता गैरजिम्मेवारी काम हुँदै आएको छ ।
उनको पखेटा फिँजाएर उड्ने कूटनीति देशभित्रबाट ओलीभक्तलाई दङ्ग पार्न पर्याप्त होला, तर पटक पटक प्रधानमन्त्री बने पनि बाह्य दुनियाँमा ओलीले कुनै उचाइ लिन सकेका छैनन् । उनी छिमेकलाई चिढ्याउने र देशलाई नोक्सानमा पार्ने रणनीतिबाट सत्तामा टिक्दै आएका छन् । छिमेक मामलामा फन्डहरू ल्याउन सिपालु छन् ओली, जसका कारण उनी आफूलाई कथित राष्ट्रवादी देखाइरहन खोज्छन् । उनको फन्डले देशलाई कहीँ कतै लाभ दिन सकेको छैन ।
विदेश सम्बन्धमा ओली फितलो देखिएका छन् । नेपालमा भारतको विरोध गर्नुलाई नै राष्ट्रभक्तिको भाष्य बनाएका जमातलाई दङ्ग पारेका छन् । तर, उनी भारतले भ्रमणमा नडाक्दा निकै छटपटिएका छन् भन्ने पछिल्ला अभिव्यक्तिले देखाउँछ । उनले भारत भ्रमणको माहोल बनाउन प्रयास नगरेका होइनन् तर सम्भव बन्न सकिरहेको छैन ।
पछिल्लोपटक प्रधानमन्त्री बनेपछि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकामा भेटेका थिए । तर उनलाई दिल्लीमा अझैसम्म स्वागत गरिएन । यसले अनेकन आशङ्काहरू पैदा भएका छन् । भारतबाट भ्रमणको निम्तो नआएपछि मंसिरमा चीन भ्रमण गरे ओलीले । यतिले पनि भारतले वास्ता नगरेपछि पाकिस्तानी राजदूत अब्रार हस्मीलाई बालुवाटारमा बोलाएर भेटे । पाकिस्तानमा हुनुपर्ने तर नभइरहेको सार्क शिखर सम्मेलनको विषयमा कुराकानी गरे । यी सबै यही मौकामा हुनुमा ओलीको रणनीति पनि हो । उनी भारतलाई बाध्य पार्न खोजिरहेका छन् ।
परराष्ट्रमन्त्री आरजु राणाले यसपटक नयाँ दिल्लीमा बेइज्जत महसुस गर्नु प¥यो । ओलीको भारत भ्रमण तय गर्न नयाँ दिल्ली पुगेकी राणाले अन्तक्र्रियामा अनौपचारिक रुपमा बोलेको अभिव्यक्तिले पनि पुष्टि गर्छ । आरजुले उक्त अनौपचारिक अन्तक्र्रियामा भारतले ओलीलाई भ्रमणका लागि नबोलाउँदा नेपालमा भारतविरोधी गतिविधि झन् बढ्ने र कांग्रेसको पनि यसलाई रोक्न केही नलाग्ने बोलेकी थिइन् । यो भारतलाई बाध्य पार्न गरिएको घुक्र्याई देखिन्छ ।
हुन पनि आफ्नो भारत भ्रमणको टुङ्गो लगाउन ओलीले परराष्ट्रमन्त्री आरजु राणालाई दिल्ली पठाएका थिए । तर, आरजु रित्तै फर्किइन् । ओलीले आफ्ना विश्वासपात्र प्रदीप ज्ञवालीलाई भ्रमणको माहोल तयार गर्न दिल्ली पठाए । ज्ञवालीको पनि केही लागेन । त्यसपछि ओलीले भारतले बेवास्ता गर्दै आएको सार्कको विषयलाई उचाल्न थाले । यसको एउटा कदम थियो पाकिस्तानी राजदूत हस्मीलाई बालुवाटारमा बोलाएर भेट्नु ।
नेपालका राजनीतिक नेतृत्व रोम जलिरहँदा राजा निरू बाँसुरी बजाइरहेको शैलीमा मस्त छन् । काशी जान कुतीको बाटो समातिरहेका छन् । न भारतसँगको निर्भरता कम गर्न ठोस योजना सार्न सक्छन् न त मिलेर जान कूटनीतिक चातुर्यता देखाउँछन् । देशमा थरीथरीका बाह्य शक्तिलाई खेल्ने मैदान दिइरहेका छन् ।
ओलीका यस्ता कदमले नेपालमा भारतविरोधी जमातलाई हौस्याएको छ । तर, भारतबाट आयात हुने गेडागुडी र तरकारीको विरोध गर्दै रोक्न लगाएर नेपाली उपभोक्तासँग चर्को मूल्य असुल्ने संगठित गिरोहकै शैलीमा नेताहरूबाट छिमेकविरोधी चाल चलेर जनतामाथि पटक पटक घात भइरहेको छ ।
झट्ट हेर्दा र सुन्दा नेताहरूले देशलाई ठुलै योगदान दिएको र राष्ट्रभक्ति देखाएको लाग्ला तर उनीहरूले उल्टै देशलाई नोक्सानीमा पारिरहेका छन् । राष्ट्रवादी देखिने तर राष्ट्रको गुमेको भूमि एक इन्च फर्काउन नसक्नेहरूले जनताको मत ठगिरहेका छन् ।
छिमेकी चिढ्याएर व्यक्तिगत राजनीतिक लाभ लिने गतिविधि नेताहरूबाट हुँदा जनताले दुःख पाउनु परिरहेको छ । छिमेकी समृद्धितर्फ रकेट चालमा हुँदा नेपाललाई कछुवा चालमा सीमित पारियो । न त राजनीतिक नेतृत्वले छिमेकीबाट सिक्यो न त उनीहरूको समृद्धि र प्रगतिबाट लाभ लिन सक्यो ।
बरु गरिबीको विज्ञापन गरेर मागी खानेहरूलाई देशभित्र नायक बनाउने गिरोह सक्रिय हुन पायो । देशमा यस्तै विज्ञापन गर्नेहरूकै आवाज चर्को छ र जनताको जीवनस्तर झन् खस्किइरहेको छ । नेपालमा दक्षिण एसियामा सङ्कटमा फस्दै गएका देशहरूमा आएको समस्या जस्तै आउन सक्ने खतराको बादल मडारिइरहेको छ ।
यसै पनि दक्षिण एसियामा तीव्र विकास र प्रगतिबाट आफूलाई खतरा देख्ने शक्तिहरू चलखेल गर्दै आएका छन् । मध्य एसिया र मध्यपूर्वको मार्गबाट दक्षिण एसिया जोड्ने मार्गमा पर्ने अफगानिस्तान तहसनहस पारिएको छ । श्रीलंका त असफल नै पारिएको छ । बंगलादेशमा हसिनाको पतन र युनुसको उदय अचानक भएको घटना थिएन ।
यी सबै घटनाहरू लामो योजना र रणनीति अन्तर्गत भएका थिए । यसमा दक्षिण एसियाबाहिरका ठुला शक्तिहरूको ठुलै चलखेल पुष्टि भइरहेका छन् । सत्ता पलट गरिएका दक्षिण एसियाका देशहरू आर्थिक सङ्कटमा भासिएका छन् । बंगलादेश नयाँ पाकिस्तान बन्न लागेको विश्लेषण भइरहेको छ । जहाँ उग्रवादीहरूले प्रभाव बढाइरहेका छन् । श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । त्यही दिशातर्फ नेपाल बढ्न लागेको खतराका घण्टीहरू बजिरहेका छन् ।
तैपनि, नेपालका राजनीतिक नेतृत्व रोम जलिरहँदा राजा निरू बाँसुरी बजाइरहेको शैलीमा मस्त छन् । काशी जान कुतीको बाटो समातिरहेका छन् । न त भारतसँगको निर्भरता कम गर्न ठोस योजना सार्न सक्छन् न त भारतसँग मिलेर जानुपर्ने ठाउँमा कूटनीतिक चातुर्यता देखाउन सक्छन् ।
सत्तामा टिक्नु नै उच्च सफलता ठानेर देशमा थरीथरीका बाह्य शक्तिलाई खेल्ने मैदान दिइरहेका छन् । बंगलादेशमा पनि शेख हसिनाले त्यस्तै रणनीति अपनाइन् सत्ता टिकाउन । तर, उनको सत्ता टिकेन ।
नेपालमा पनि सत्तामा आलोपालो बस्दै आएका मुख्य नेताहरू प्रति तीव्र असन्तुष्टि व्याप्त छ । जसमा ओली पनि हुन् । उनी सत्ता टिकाउने र विरोधीलाई ठेगान लगाउने रणनीतिका साथ बढिरहेका छन् । विदेश सम्बन्ध त कुन हालतमा छ भन्ने पछिल्ला घटनाक्रमले देखाइसकेको छ ।
कतै भाउ नपाएपछि उत्तरतिरको यात्रा गरेको खुलिसकेको छ । त्यो यात्राका दौरान पनि चीनका राष्ट्रपति सी चिनफिङसँगको भेट पाउन अन्तिम समयमा बिआरआई सम्झौतामा लचिलो हुनुपरेको ओली सरकारको मन्त्रीबाट विदेशी भूमिमा खुलिसकेको छ ।
अमेरिकी उपमन्त्री डोनाल्ड लुसँग भेट्न नपरोस् भन्ने हेतुले प्रधानमन्त्री ओली गृहजिल्लामा केही दिन अलमलिएका थिए । भारतले त ओलीलाई भाउ नदिएको आरजुको दिल्ली यात्राका घटनाक्रमले देखाइरहेको छ ।
यी सबै ओलीको कार्यशैलीको परिणाम हुन् । उनको यात्रा ठिक छैन, काशी जानु कुतीको बाटो जस्तै । यात्रा ठिक नभएपछि गन्तव्य कदापि ठिक हुन सक्दैन । यसकारण ओलीबाट देशको हित पनि हुँदैन ।