काठमाडौं । देशका जिम्मेवार पदमा भएका व्यक्तिहरूले नै देश अन्तर्राष्ट्रिय संस्थाले हाँकेको बताउने गरेका छन् । उनीहरू स्वयंको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू अर्थात् आईएनजीओ र नेपाली गैरसरकारी संस्थाहरू एनजिओसँग सामीप्य छ । यसको एक उदाहरण हो– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल ।
‘नेपाल अर्बुद रोग निवारण’ संस्था २०३९ सालमा दर्ता भएको थियो । जसको मुख्य उद्देश्य क्यान्सर रोगबारे जनचेतना जगाउने र सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न जनचेतना जगाउनु थियो । त्यही एउटा एनजिओले केही समयपछि सरकारी सम्पत्ति नै कब्जा गर्यो ।
अहिलेको भक्तपुर क्यान्सर अस्पताल वि.स. २०५३ मा ‘भक्तपुर क्यान्सर प्रोजेक्ट’को नाममा सुरु भयो । सुरुमा भक्तपुर क्यान्सर प्रोजेक्टका रूपमा स्थापना भएको एउटा अवैधानिक संस्था २०५५ सालमा अस्पताल नै बन्यो । भक्तपुर क्यान्सर प्रोजेक्टबाट सुरु भएको यो संस्था २०५५ सालमा भक्तपुर क्यान्सर केयर सेन्टरका रूपमा नाम परिवर्तन भई सञ्चालन भयो ।
२०५६ साल असोज २१ गते तत्कालीन राजा वीरेन्द्रबाट उक्त क्यान्सर केयर सेन्टरको भवन उद्घाटन गराई सेवा प्रारम्भ गरिएको थियो । जब क्यान्सर केयर सेन्टर सञ्चालनमा आयो, त्यसपछि नेपाल अर्बुद रोग निवारण संस्थाले यसको व्यवस्थापकीय जिम्मेवारी हात पार्यो ।
०५२ देखि सुरु भएको माओवादी जनआन्दोलन ०५९/६० मा चरमोत्कर्षमा पुग्यो । त्यही मौका छोपेर ‘नेपाल अर्बुद रोग निवारण’ नामक संस्थाले भक्तपुर क्यान्सर अस्पताल आफ्नो मातहतमा ल्यायो । उसले विधान नै संशोधन गरेर भक्तपुर क्यान्सर केयर सेन्टर सञ्चालनको व्यवस्थापकीय जिम्मेवारी आफूले लिएको घोषणा गर्यो ।
त्यसबेला सात जनाको सञ्चालक समिति बनाइयो । सरकारी जग्गामा रहेको उक्त अस्पतालमा ‘नेपाल अर्बुद रोग निवारण’ संस्थानले मनोमानी ढङ्गले सञ्चालन गर्यो । सरकारको नियम कानून समेत पालना गरेन । लामो समय दर्ता समेत नगरी चलायो ।
तर, सामान खरिद र अन्य भौतिक पूर्वाधार निर्माणमा चरम भ्रष्टाचार हुन थालेपछि कर्मचारी र स्थानीय आन्दोलनमा उत्रिए । त्यसपछि २०७७ कार्तिक २३ गते भक्तपुर क्यान्सर अस्पताल गठन आदेश जारी गरी सरकारले आफ्नो मातहतमा ल्यायो ।
गठन आदेशमा क्यान्सर सोसाइटी एउटै संस्थाबाट तीन जना सञ्चालक समिति हुने व्यवस्था बनाइयो । ११ जना सञ्चालक समितिमा एउटै संस्था ‘नेपाल अर्बुद रोग निवारण’बाट तीन–तीन जना परे ।
त्यसबेला स्वास्थ्यमन्त्री भानुभक्त ढकाल थिए । एउटै संस्थाबाट तीन–तीन सञ्चालक समिति हुने व्यवस्थाप्रति उनले प्रश्न उठाए । र, सञ्चालक समिति नै नियुक्त गरेनन् । त्यो बेला तत्कालीन मन्त्री ढकालले मात्रै होइन, अर्थमन्त्रालय र कानुन मन्त्रालयले समेत प्रश्न उठाएको थियो ।
तत्कालीन स्वास्थ्यमन्त्री ढकालले एउटा संस्थाबाट एकजना मात्रै नाम हुनुपर्ने र अस्पताल गठन आदेश संशोधन गर्नुपर्ने अडान लिए । र, संशोधनको प्रक्रिया अगाडि बढाए । तर, त्यसैबेला सरकार ढल्यो ।
तर, अहिले स्वाथ्यमन्त्री प्रदीप पौडेलले एउटै संस्था ‘नेपाल अर्बुद रोग निवारण’बाट तीनजना सञ्चालक समिति नियुक्त गर्ने तयारी गरेका छन् । उनले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश, २०७७ मन्त्रीपरिषद्बाट स्वीकृत समेत गराइसकेका छन् । उक्त संस्था कांग्रेससँग आबद्ध रहेकै कारण मन्त्री पौडेलले एउटै संस्थाबाट तीन–तीन जना सञ्चालक समिति नियुक्ति गर्ने तयारी गरेका हुन् ।
स्रोतका अनुसार सञ्चालक समिति नियुक्ति गर्न मन्त्री पौडेलले एउटा सर्त राखेका छन् । त्यो हो अस्पताल सरकारलाई हस्तान्तरण गर्ने । त्यही सहमतिअनुसार शुक्रवार अस्पताल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको स्रोतको दाबी छ ।
यसअघि नै सकारको महातहमा आइसकेको अस्पताललाई फेरि सरकारलाई दिन्छौँ भनेर ‘नेपाल अर्बुद रोग निवारण’को सञ्चालक समितिमा नियुक्त हुन लागेको स्रोतको दाबी छ । समिति गठन आदेश–२०७७ संशोधन गर्नुपर्ने आवाज उठिहरेको बेला विवाद टार्नको लागि अस्पताल हस्तान्तरणको ‘नाटक’ रचिएको स्रोत बताउँछ ।
२०७७ कात्तिक २४ गते बसको मन्त्रिपरिषद्को बैठकले भक्तपुर क्यान्सर अस्पताल सङ्घीय सरकारले सञ्चालन गर्ने निर्णय गरेको थियो । यसले मन्त्री पौडेलको नियतमाथि नै प्रश्न उठाएको छ ।